हामीले हरेक आत्माको जाँच गर्नुपर्छ
4
प्रियहरूहो, हरेक आत्मालाई विश्वास नगर, तर ती आत्माहरूचाहिँ परमेश्वरबाटका हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर; किनकि अनेकौं झूटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्। 2 यसैबाट तिमीहरूले परमेश्वरको आत्मालाई चिनक: येशू ख्रीष्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो; 3 तर येशू ख्रीष्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन; अनि योचाहिँ ख्रीष्ट-विरोधीको आत्मा हो, जसको विषयमा ‘त्यो आउँछ’ भन्ने तिमीहरूले सुनेका छौ, र त्यो अहिले संसारमा आइसकेको छ।4 हे साना नानीहरूहो, तिमीहरू परमेश्वरका हौ र तिमीहरू तिनीहरूमाथि विजयी भएका छौ; किनभने जो तिमीहरूभित्र हुनुहुन्छ, उहाँचाहिँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। 5 तिनीहरू संसारका हुन्; यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूको कुरा सुन्छ। 6 हामीचाहिँ परमेश्वरबाटका हौं। जसले परमेश्वरलाई चिन्छ, उसले हाम्रो कुरा सुन्छ; जो परमेश्वरबाटको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यताको आत्मा र भ्रमको आत्मालाई चिन्छौं।
परमेश्वर प्रेम हुनुहुन्छ
7 प्रियहरूहो, हामी एक-अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्वरबाटको हो; अनि प्रेम गर्ने हरेक जनचाहिँ परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ। 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ। 9 हामी उहाँद्वारा जिउन सकौं भन्ने हेतुले परमेश्वरले आफ्ना एकमात्र जन्माइएको पुत्रलाई संसारमा पठाउनुभयो; हामीप्रति परमेश्वरको प्रेम यसैबाट प्रकट भयो। 10 प्रेम यसैमा छ: हामीले परमेश्वरलाई प्रेम गरेकोमा होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई पठाउनुभयो।
11 प्रियहरूहो, परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। 12 परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक-अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहिरहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध पारिएको हुन्छ। 13 हामी उहाँमा रहिरहन्छौं, र उहाँ हामीमा रहिरहनुहुन्छ भन्ने कुरा हामी यसैबाट जान्दछौं; किनभने उहाँले हामीलाई आफ्नो आत्माबाट दिनुभएको छ। 14 अनि हामीले देखेका छौं, र गवाही दिन्छौं: पिताले पुत्रलाई संसारको मुक्तिदाता हुनका निम्ति पठाउनुभयो। 15 येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी जसकसैले स्वीकार गर्छ, उसमा परमेश्वर रहिरहनुहुन्छ र ऊ परमेश्वरमा रहिरहन्छ। 16 अनि परमेश्वरको जुन प्रेम हामीप्रति छ, त्यो प्रेम हामीले जानेका र विश्वास गरेका छौं। परमेश्वर प्रेम हुनुहुन्छ; अनि जो प्रेममा रहिरहन्छ, ऊ परमेश्वरमा रहिरहन्छ, र परमेश्वर उसमा रहिरहनुहुन्छ। 17 न्यायको दिनमा हामीलाई साहस होस् भनेर यसैमा हाम्रो प्रेम सिद्ध पारिएको हुन्छ; किनभने जस्तो उहाँ हुनुहुन्छ, त्यस्तै हामी पनि यस संसारमा छौं। 18 प्रेममा डर हुँदैन; तर सिद्ध प्रेमले डर निकालिदिन्छ, किनभने डरमा पीड़ा हुन्छ। जो डराउँछ, ऊ प्रेममा सिद्ध पारिएको छैन।
19 हामी उहाँलाई प्रेम गर्छौं; किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। 20 यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु’ भन्छ, तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ भने त्यो झूट हो; किनकि जसले आफूले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन, त्यसले परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ, जसलाई त्यसले देखेकै छैन? 21 अनि यो आज्ञा हामीले उहाँबाट पाएका छौं: जसले परमेश्वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गरोस्!