धार्मिक कामचाहिँ परमेश्‍वरका सन्तानको चिनारी हो
3
हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिँदछौं; यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन। 2 प्रियहरूहो, अहिले त हामी परमेश्‍वरका सन्तान हौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँ जस्तो हुनुहुन्छ, त्यस्तै देख्‍नेछौं। 3 अनि उहाँमा यो आशा राख्‍ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ, त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ।
4 हरेक जसले पाप गर्दछ, त्यसले व्यवस्था पनि भङ्ग गर्दछ; किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो। 5 अनि तिमीहरू जान्दछौ: हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो, र उहाँमा पाप छँदैछैन। 6 हरेक जो उहाँमा रहिरहन्छ, उसले पाप गर्दैन; हरेक जसले पाप गर्दछ, त्यसले उहाँलाई न देखेको छ, न ता उहाँलाई चिनेको छ।
7 हे साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्; जसले धार्मिकताको काम गर्दछ, ऊ धर्मी हो, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ। 8 जसले पाप गर्दछ, त्यो शैतानबाटको हो; किनकि शैतानले शुरुदेखि नै पाप गर्दै आएको हो। परमेश्‍वरको पुत्र शैतानका कामहरू नष्‍ट पार्नलाई नै प्रकट हुनुभयो।
9 हरेक जो परमेश्‍वरबाट जन्मेको हो, उसले पाप गर्दैन; किनकि उहाँको बीउ उसमा रहिरहन्छ, र उसले पाप गर्न सक्दैन; किनभने ऊ परमेश्‍वरबाट जन्मेको हो। 10 परमेश्‍वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्: हरेक जसले धार्मिकताको काम गर्दैन, त्यो परमेश्‍वरबाटको होइन, र त्यो पनि होइन, जसले आफ्नो भाइलाई प्रेम गर्दैन।
भ्रातृ-प्रेमचाहिँ परमेश्‍वरका सन्तानको चिनारी हो
11 किनकि तिमीहरूले शुरुदेखि सुनेको समाचार यही हो: हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। 12 कयिनजस्तो त होइन, जोचाहिँ त्यस दुष्‍टबाटको थियो र जसले आफ्नो भाइलाई मार्‍यो। अनि त्यसले उसलाई किन मार्‍यो? किनभने त्यसका कामहरू दुष्‍ट थिए, तर त्यसका भाइका चाहिँ धर्ममय थिए।
13 हे मेरा भाइहरूहो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान! 14 हामी जान्दछौं, हामी मृत्युबाट जीवनमा सरिसकेका छौं; किनभने हामी भाइहरूलाई प्रेम गर्छौं। जसले आफ्नो भाइलाई प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। 15 हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि तिमीहरू जान्दछौ, कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छँदैछैन। 16 उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्‍वरको प्रेम जान्‍दछौं; अनि हामीले चाहिँ भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ। 17 तर त्यो जससँग यस संसारको सम्पत्ति छ र जसले आफ्नो भाइलाई खाँचोमा परेको देख्छ, तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ, त त्यसमा परमेश्‍वरको प्रेम कसरी रहन्छ र? 18 मेरा साना छोराछोरीहरूहो, वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौं!
19 अनि यसैबाट हामी सत्यताबाटका रहेछौं भनी जान्‍दछौं, र उहाँको सामु आफ्ना हृदयलाई मनाउनेछौं 20 किनकि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर त हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र सबै कुराहरू जान्‍नुहुन्‍छ। 21 प्रियहरूहो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरप्रति हामीलाई साहस हुन्छ, 22 अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं; किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र जुन कुराहरू उहाँको दृष्‍टिमा मनपर्दा छन्, ती कुराहरू गर्दछौं। 23 अनि उहाँको आज्ञा यही हो: उहाँको पुत्र येशू ख्रीष्‍टको नाममाथि हामीले विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। 24 अनि जसले उहाँका आज्ञाहरू पालन गर्दछ, ऊ उहाँमा रहिरहन्छ, र उहाँचाहिँ उसमा रहिरहनुहुन्छ। अनि यसैबाट उहाँले हामीलाई दिनुभएको आत्माद्वारा उहाँ हामीमा रहिरनुहुन्छ भन्‍ने कुरा हामी जान्‍दछौं।