यूहन्‍नाको दोस्रो पत्र
1
म, प्राचीनबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्छु; अनि म मात्र होइन, तर सबैजनाले, जसले सत्यतालाई जानेका छन्; 2 त्‍यस सत्यताको कारणले, जुनचाहिँ हामीभित्र रहन्छ, र सदासर्वदा हामीसित रहिरहनेछ। 3 परमेश्‍वर पिता र पिताको पुत्र प्रभु येशू ख्रीष्‍टबाट सत्यता र प्रेममा अनुग्रह, कृपा र शान्ति तिमीहरूसित रहून्!
4 पिताबाट हामीले पाएको आज्ञाअनुसार तिम्रा छोराछोरीहरूमध्ये कतिलाई सत्यतामा हिँड़िरहेका मैले भेट्टाएकोमा म साह्रै आनन्दित भएँ। 5 अनि अब हे महिला, तिमीलाई एउटा नयाँ आज्ञा लेखेजस्तो होइन, तर शुरुदेखि हामीले पाएको त्यही कुरा लेखेर म तिमीहरूलाई विन्‍ती गर्दछु: हामी एक-अर्कालाई प्रेम गरौं! 6 अनि हामी उहाँका आज्ञाहरूअनुसार हिँड़्‍नु नै प्रेम यही हो। तिमीहरूले शुरुदेखि सुनेअनुसार तिमीहरू यसमा हिँड़्‍नुपर्छ – आज्ञा यही हो। 7 किनकि अनेकौं बहकाउनेहरू संसारमा पसेका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको कुरा स्वीकार गर्दैनन्। बहकाउने र ख्रीष्‍ट-विरोधी यही हो।
8 आफ्नो विषयमा होशियार बस, यसैले कि जुन कुराहरूका लागि हामीले परिश्रम गर्‍यौं, ती कुराहरू हामी नगुमाऔं, तर पूरा प्रतिफल पाऔं।
9 हरेक जसले अपराध गर्दछ र ख्रीष्‍टको शिक्षामा रहँदैन, त्योसँग परमेश्‍वर हुनुहुन्‍न। जो ख्रीष्‍टको शिक्षामा रहन्छ, ऊसँग पिता र पुत्र दुवै हुनुहुन्छ। 10 यदि कोही तिमीहरूकहाँ आउँछ र त्यसले यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर, न ता त्यसलाई अभिवादन गर: 11 किनकि जसले त्यसलाई अभिवादन गर्छ, ऊ त्यसका दुष्‍ट कामहरूसित सहभागी हुन्छ।
12 मसँग तिमीहरूलाई लेख्‍नुपर्ने धेरै कुराहरू छन्, तर म कागत र मसीले लेख्‍न चाहँदिनँ; तर हाम्रो आनन्द पूर्ण होस् भनेर म तिमीहरूकहाँ आउने र आमुन्‍नेसामुन्‍ने भई कुरा गर्ने आशा गर्दछु।
13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई सलाम पठाउँदैछन्। आमेन।