यूहन्‍नाको तेस्रो पत्र
1
म, प्राचीनबाट प्रिय गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्दछु। 2 हे प्रिय, जसरी तिम्रो आत्मिक उन्‍नति भएको छ, त्यसरी नै सबै कुराहरूमा तिम्रो उन्‍नति होस्, र तिमी नीरोग रह भनी म चाहना गर्दछु। 3 किनकि जब भाइहरू आए, र उनीहरूले तिमीमा भएको सत्यताको विषयमा अर्थात्‌ तिमी कसरी सत्यतामा हिँड़्छौ भन्‍ने गवाही दिए, तब म साह्रै आनन्दित भएँ। 4 मेरा छोराछोरीहरू सत्यतामा हिँड़िरहेका छन् भन्‍ने कुरा सुन्‍नुभन्दा ठूलो आनन्द मेरो अरू केही पनि छैन।
5 हे प्रिय, जे-जे कुरा तिमीले भाइहरू र परदेशीहरूका निम्ति गर्दछौ, सो विश्‍वासयोग्यतापूर्वक गर्दछौ; 6 उनीहरूले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन्; उनीहरूलाई तिमीले परमेश्‍वरलाई सुहाउँदो रीतिले उनीहरूको यात्रामा अलिक परसम्म पुर्‍याइदियौ भने तिमीले असल गर्नेछौ; 7 किनभने उहाँकै नामका निम्ति उनीहरू निस्के, र उनीहरूले अन्यजातिहरूबाट केही लिएनन्। 8 यसकारण सत्यताका लागि सहकर्मी हुनलाई हामीले यस्ताहरूलाई स्वागत गर्नैपर्छ।
9 मैले मण्डलीलाई लेखें, तर तिनीहरूको बीचमा पहिलो हुन मन पराउने डियोट्रेफेसले हामीलाई ग्रहण गर्दैन। 10 यसकारण यदि म आएँ भने म त्यसका कामहरू सम्‍झना गर्नेछु, जुन कामहरू त्यसले हाम्रो विरोधमा द्वेषपूर्ण कुराहरू बक्दै गर्दछ; अनि त्यतिले पनि सन्तुष्‍ट नभएर त्यो आफूले पनि भाइहरूलाई ग्रहण गर्दैन र ग्रहण गर्न चाहनेहरूलाई पनि रोक्छ, अनि तिनीहरूलाई मण्डलीबाट निकालिदिन्छ।
11 हे प्रिय, खराब कुराको पछि होइन, तर भलो कुराको पछि लाग! जसले भलाइ गर्दछ, ऊ परमेश्‍वरबाटको हो; तर जसले खराबी गर्दछ, त्यसले परमेश्‍वरलाई देखेको छैन।
12 डेमेट्रियसले सबै मानिसहरूबाट र स्वयम् सत्यताबाट पनि असल गवाही पाएका छन्; अनि हामी पनि गवाही दिन्छौं; अनि हाम्रो गवाही सत्य हो भनी तिमीहरूलाई थाहा छ।
13 मसँग लेख्‍नुपर्ने कुराहरू धेरै थिए, तर म तिमीलाई मसी र कलमले लेख्‍न चाहँदिनँ; 14 तर म तिमीलाई चाँड़ै भेट्ने आशा गर्दछु, अनि हामी आमुन्‍नेसामुन्‍ने भई कुरा गर्नेछौं। तिमीलाई शान्ति होस्! हाम्रा साथीहरूले तिमीलाई सलाम पठाउँदैछन्। साथीहरूलाई नाम लिई-लिईकन अभिवादन गर!