यहूदाको पत्र
1
येशू ख्रीष्टको दास र याकूबको भाइ यहूदाबाट ती बोलाइएकाहरूलाई, जो परमेश्वर पिताद्वारा पवित्र पारिएका र येशू ख्रीष्टमा सुरक्षित राखिएका छन्: 2 तिमीहरूलाई कृपा, शान्ति र प्रेम प्रशस्त होऊन्!3 प्रियहरूहो, जब मैले तिमीहरूलाई हाम्रो साझा मुक्तिको विषयमा लेख्नलाई हर प्रकारको प्रयत्न गरिरहेको थिएँ, तब पवित्र जनहरूलाई एकैचोटि सदाका निम्ति सुम्पिएको विश्वासका निम्ति तिमीहरूले यत्नपूर्वक संघर्ष गर्नुपर्छ भनी उत्साह दिँदै तिमीहरूलाई लेख्नु मलाई दरकार पर्यो। 4 किनकि कति मानिसहरू लुकीछिपी भित्र पसेका छन्, जोचाहिँ अघिदेखि नै यही दण्डका निम्ति ठहरिएका भक्तिहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई कामुकतामा परिवर्तन गर्छन् र जसले एकमात्र मालिक परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई इन्कार गर्छन्।
5 तिमीहरूले यो कुरा एकपल्ट जानेका थियौ; तापनि म तिमीहरूलाई सम्झना गराउन चाहन्छु: परमप्रभुले मिस्र देशबाट त्यस जातिलाई बचाई निकाल्नुभएपछि उहाँले तिनीहरूलाई नाश गर्नुभयो, जसले विश्वास गरेनन्। 6 अनि जुन स्वर्गदूतहरूले आफ्नो पहिलो पदक थामेनन्, तर आफ्नो वासस्थान छोड़िहाले, तिनीहरूलाई उहाँले त्यस महान् दिनको न्यायका निम्ति अन्धकारमुनि सदाकालका साङ्लाहरूमा राख्नुभएको छ। 7 जसरी सदोम र गमोरा, अनि यही प्रकारले तिनको वरिपरि भएका शहरहरू, जसले आफैलाई पूर्णतया व्यभिचारका निम्ति सुम्पिदिए र जो अर्कै शरीरको पछि लागे, अनन्त आगोको बदला भोगेर एउटा नमुना बनेका छन्।
8 यही प्रकारले यी घिनलाग्दा स्वप्नदर्शीहरूले पनि शरीरलाई अशुद्ध पार्छन्, प्रभुत्वलाई तुच्छ ठान्छन् र उच्च पदाधिकारीहरूको निन्दा गर्छन्। 9 तर प्रधान स्वर्गदूत मिकाएलले पनि, जब तिनले शैतानसँग संघर्ष गर्दै मोशाको शरीरको विषयमा वादविवाद गरे, तब तिनले त्यसको विरोधमा निन्दापूर्ण दोष लगाउन साहस गरेनन्, तर तिनले भने: “परमप्रभुले तँलाई हपारून्!” 10 तर यिनीहरू त ती कुराहरूको निन्दा गर्छन्, जुन कुराहरूको विषयमा यिनीहरूले केही पनि जान्दैनन्; तर विवेकहीन पशुहरूले जस्तो जे कुराहरू तिनीहरू स्वाभाविक हिसाबले जान्दछन्, ती कुराहरूमा तिनीहरू आफूलाई भ्रष्ट पार्छन्। 11 तिनीहरूलाई धिक्कार! किनकि तिनीहरू कयिनको बाटोमा लागे, ज्यालाका निम्ति लालचसाथ बालामको भ्रमको पछि दगुरे र कोरहको विरोध-गराइमा नष्ट भए।
12 यिनीहरू तिमीहरूका प्रेम-भोजहरूमा धक नमानी तिमीहरूसँगै भोज खाने समुद्री चट्टानहरू हुन्, जसले आफ्नै पेट भर्दछन्; यिनीहरू हुरीबतासद्वारा यता र उता हुत्याइएका पानीविनाका बादलहरू हुन्; पात झरेका, फलविनाका, दुईपल्ट मरेका, जरैसँग उखालिएका रूखहरू हुन्; 13 आफ्नै शर्महरूको फींज उगेल्ने समुद्रका प्रचण्ड छालहरू हुन्; बाटो बिराउने ताराहरू हुन्, जसका निम्ति घोर अन्धकार सदासर्वदाका लागि साँचिएको छ।
14 अनि हनोकले पनि, जो आदमदेखि सातौं पुस्ताका थिए, यिनीहरूको विषयमा यसो भन्दै भविष्यवाणी गरे: ‘हेर, प्रभु आफ्ना हजारौं-हजार पवित्र जनहरूको साथमा आउनुहुन्छ; 15 उहाँ सबैको न्याय गर्नलाई अनि तिनीहरूको बीचमा भएका सबै भक्तिहीनहरूलाई, तिनीहरूले भक्तिहीन भएर गरेका तिनीहरूका सबै भक्तिहीन कामहरूको विषयमा र भक्तिहीन पापीहरूले उहाँको विरोधमा बोलेका तिनीहरूका सबै कठोर वचनहरूको विषयमा दोषी ठहराउनलाई आउनुहुन्छ।’
16 यिनीहरू गनगन गर्नेहरू र सिकायत गर्नेहरू हुन्, जो आफ्नै अभिलाषाहरूको पछि हिँड़्छन्; अनि तिनीहरूको मुखले बढ़ाइचढ़ाइ गरेका कुराहरू बक्दछ, र तिनीहरूले फाइदाका निम्ति मानिसहरूको झूटा प्रशंसा गर्दछन्।
17 तर प्रियहरूहो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूद्वारा पहिल्यै भनिएका वचनहरूको सम्झना गर; 18 किनभने ‘अन्तिम समयमा गिल्ला गर्नेहरू हुनेछन्, जो आफ्नै भक्तिहीन अभिलाषाहरूको पछि हिँड़्नेछन्’ भनी उनीहरूले तिमीहरूलाई भन्ने गर्थे। 19 यिनीहरू आफू अलग रहनेहरू, विलासीहरूख र आत्मा नभएकाहरू हुन्।
20 तर प्रियहरूहो, तिमीहरूचाहिँ आफ्नो अति पवित्रग विश्वासमा आफ्नै उन्नति गर्दै गर, पवित्र आत्मामा प्रार्थना गर्ने गर, 21 आफूलाई परमेश्वरको प्रेममा लगाइराख र अनन्त जीवनका निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको बाटो हेर्दै रहो! 22 अनि यो भिन्नता राखेर कसैलाई दया गर, 23 र अरूलाई आगोबाट थुतेर डरको साथ बचाओ, शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई पनि घृणा गरेर।