प्रकाशको पुस्तक
1
येशू ख्रीष्टको प्रकाश, जुन प्रकाश परमेश्वरले आफ्ना दासहरूलाई चाँड़ै हुनुपर्ने कुराहरू देखाउन उहाँलाई दिनुभयो; अनि उहाँले पठाईकन आफ्ना दूतद्वारा यो आफ्नो दास यूहन्नालाई बताउनुभयोक; 2 उनैले परमेश्वरको वचन, येशू ख्रीष्टको गवाही र आफूले देखेका सबै कुराहरूको गवाही दिए। 3 यस भविष्यवाणीका वचनहरू जसले पढ़्छ, अनि जस-जसले सुन्छन् र यसमा लेखिएका कुराहरू पालन गर्छन्, ती धन्य हुन्; किनकि समय नजिकै छ।4 यूहन्नाबाट – एशियामा भएका सातवटा मण्डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ; अनि ती सात आत्माहरूबाट, जो उहाँको सिंहासनको सामु रहनुहुन्छ; 5 र येशू ख्रीष्टबाट, जो त्यो विश्वासयोग्य साक्षी, मरेकाहरूबाट बौरिनेहरूमा जेठा र पृथ्वीका राजाहरूको शासक हुनुहुन्छ।
उहाँलाई नै, जसले हामीलाई प्रेम गर्नुभयो, अनि आफ्नै रगतमा हामीलाई हाम्रा पापहरूबाट धुनुभयो, 6 र परमेश्वर र आफ्ना पिताका निम्ति हामीलाई राजाहरू र पूजाहारीहरू बनाउनुभयो, उहाँलाई नै महिमा र प्रभुत्व सदा-सर्वदा भइरहोस्! आमेन।
7 हेर, उहाँ बादलहरूको साथमा आउनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ – उहाँलाई घोंच्नेहरूले पनि; अनि उहाँको कारणले पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्। यस्तै होस्! आमेन।
8 “अल्फा र ओमेगा, शुरु र अन्त म नै हुँ,” प्रभु भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ, जो सर्वशक्तिमान् हुनुहुन्छ।
मानिसका पुत्रको महिमित दर्शन
9 म यूहन्ना, जो तिमीहरूको दाजु हुँ, साथै सङ्कष्टमा र येशू ख्रीष्टको राज्य र धीरजमा सहभागी पनि हुँ, परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीका निम्ति पतमोस भनिने टापुमा थिएँ। 10 प्रभुको दिनमा म आत्मामा थिएँ, र आफ्नो पछिल्तिर मैले यसो भन्ने तुरहीको जस्तो ठूलो वाणी सुनें: 11 “अल्फा र ओमेगा, प्रथम र अन्तिम म नै हुँ; अनि तिमी जे देख्छौ, सो एउटा पुस्तकमा लेख, र त्यो एशियामा भएका सातवटा मण्डलीहरू अर्थात् एफेसस, स्मर्ना, पर्गामस, थिआटिरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियामा पठाइदेऊ!”
12 अनि मसित बोल्ने आवाज हेर्न म पछिल्तिर फर्कें। अनि फर्केपछि मैले सातवटा सुनका सामदानहरू 13 र यी सात सामदानहरूको बीचमा मानिसका पुत्रजस्तै एकजनालाई देखें, जसले पाउसम्म पुग्ने पोसाक पहिरनुभएको र छातीको वरिपरि सुनौला पेटी बाँध्नुभएको थियो। 14 अनि उहाँको शिर र केश ऊनजस्तै सेता, हिउँजस्तै सेता थिए, र उहाँका आँखाहरू आगोको ज्वालाजस्तै थिए; 15 उहाँका पाउहरू आगोको भट्टीमा खारिएझैं टल्किरहेको पित्तलजस्ता थिए, र उहाँको सोरचाहिँ धेरै पानीको आवाजजस्तै थियो। 16 अनि उहाँको दाहिने हातमा सात ताराहरू थिए, र उहाँको मुखबाट लाग्ने दुईधारे तरवार निस्कन्थ्यो; अनि उहाँको चेहराचाहिँ आफ्नो शक्तिमा चम्केको घामजस्तै थियो। 17 अनि जब मैले उहाँलाई देखें, तब म मुर्दाजस्तो उहाँका पाउमा पछारिएँ। अनि उहाँले मलाई यसो भन्दै आफ्नो दाहिने हात ममाथि राख्नुभयो: “नडराऊ, प्रथम र अन्तिम म नै हुँ। 18 अनि जीवित म नै हुँ; म मरेको थिएँ; अनि हेर, म सदा-सर्वदाका निम्ति जीवित छु; आमेन। अनि नरकख र मृत्युका चाबीहरू मसँग छन्। 19 तिमीले देखेका कुराहरू, भइरहेका कुराहरू र यिनको पछि हुने कुराहरू लेख! 20 तिमीले मेरो दाहिने हातमा देखेका यी सातवटा ताराहरू र यी सातवटा सुनका सामदानहरूको रहस्य: यी सातवटा ताराहरू सातवटा मण्डलीहरूका दूतहरू हुन्, र तिमीले देखेका यी सातवटा सामदानहरू सातवटा मण्डलीहरू हुन्।”