(१) एफेससमा भएको मण्डली
2
“एफेससमा भएको मण्डलीका दूतलाई लेख: ‘उहाँ जसले सातवटा ताराहरू आफ्नो दाहिने हातमा लिनुभएको छ, जो सात सुनका सामदानहरूको बीचमा हिँड़्नुहुन्छ, उहाँ नै यी कुराहरू भन्नुहुन्छ: 2 “तिम्रा कामहरू, तिम्रो परिश्रम र तिम्रो धीरज म जान्दछु; यो पनि जान्दछु, तिमी खराब मानिसहरूलाई सहन सक्दैनौ; अनि तिनीहरू जसले ‘हामी प्रेरितहरू हौं’ भन्छन्, तर जो प्रेरितहरू होइनन्, तिनीहरूलाई तिमीले जाँचेका छौ र तिनीहरूलाई झूटा पाएका छौ; 3 अनि तिमीले सहेका छौ, धीरज धरेका छौ, मेरो नामका निम्ति मेहनत गरेका छौ, र तिमी थकित भएका छैनौ। 4 तरै पनि तिम्रो विरोधमा मेरो केही कुरा छ; किनकि तिमीले आफ्नो पहिलो प्रेम छोड़ेका छौ। 5 यसकारण तिमी कहाँबाट खसेका छौ, सम्झना गर, पश्चात्ताप गर र पहिलेका कामहरू गर! नत्रभने म चाँड़ै तिमीकहाँ आउनेछु, र तिमीले पश्चात्ताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु। 6 तर तिमीसँग यो कुराचाहिँ छ: तिमीले निकोलाइटनहरूका कामहरू घृणा गर्दछौ, जुन कामहरू म पनि घृणा गर्दछु।”7 जसको कान छ, उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ: जसले जय पाउँछ, उसलाई म परमेश्वरको स्वर्गलोककोक बीचमा भएको जीवनको रूखबाट खान दिनेछु।’ ”
(२) स्मर्नामा भएको मण्डली
8 “अनि स्मर्नामा भएको मण्डलीका दूतलाई लेख: ‘यी कुराहरू प्रथम र अन्तिमले भन्नुहुन्छ, जो मर्नुभएको थियो, र जीवित हुनुभयो: 9 तिम्रा कामहरू, सङ्कष्ट र गरिबी म जान्दछु; तर तिमी धनवान् छौ; म तिनीहरूको निन्दा पनि जान्दछु, जसले ‘हामीचाहिँ यहूदी हौं’ भन्छन्, तर जो यहूदी नै होइनन्, तर शैतानको सभा हुन्छन्। 10 तिमीले कष्ट भोग्न लागेका कुराहरूमध्ये कुनैसँग नडराऊ! हेर, तिमीहरूको जाँच होस् भनेर शैतानले तिमीहरूमध्ये कतिलाई झ्यालखानामा हाल्नेछ; अनि दस दिनसम्म तिमीहरूलाई सङ्कष्ट हुनेछ; मृत्युसम्म विश्वासयोग्य रह, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
11 जसको कान छ, उसले सुनोस्; आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ: जसले जय पाउँछ, उसलाई दोस्रो मृत्युबाट कुनै हानि हुनेछैन।’ ”
(३) पर्गामसमा भएको मण्डली
12 “अनि पर्गामसमा भएको मण्डलीका दूतलाई लेख: ‘उहाँ जससँग लाग्ने दुईधारे तरवार छ, उहाँले नै यी कुराहरू भन्नुहुन्छ: 13 तिम्रा कामहरू, अनि तिमी जहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ,भन्ने म जान्दछु; अनि तिमीले मेरो नाम बलियो गरी पक्रेका छौ, अनि एन्टिपास मेरा विश्वासयोग्य साक्षीख भएका दिनहरूमा पनि मेरो विश्वास इन्कार गरेका छैनौ; उनी तिमीहरूकै बीचमा मारिए, जहाँ शैतान बस्छ,। 14 तर तिम्रो विरोधमा मेरा केही कुराहरू छन्; किनकि तिमीकहाँ बालामको शिक्षा मान्नेहरू छन्, जुन बालामले बालाकलाई इस्राएलीहरूको सामु ठेस लाग्ने कारण राख्न अर्थात् मूर्तिहरूलाई चढ़ाइएका चीजहरू खान र व्यभिचार गर्न सिकायो। 15 यसै गरी तिमीसँग निकोलाइटनहरूको शिक्षा मान्नेहरू पनि छन्, जुन कुरा म घृणा गर्दछु। 16 पश्चात्ताप गर; नत्र म चाँड़ै तिमीकहाँ आउनेछु र आफ्नो मुखको तरवारले तिनीहरूसित लड़ाइँ गर्नेछु।
17 जसको कान छ, उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ: जसले जय पाउँछ, उसलाई म गुप्त राखिएको मन्नाबाट खान दिनेछु, अनि उसलाई एउटा सेतो पत्थर र त्यस पत्थरमा लेखिएको एउटा नयाँ नाम दिनेछु, जुन नाम त्यो नाम पाउनेले बाहेक अरू कसैले जान्दैन।’ ”
(४) थिआटिरामा भएको मण्डली
18 “अनि थिआटिरामा भएको मण्डलीका दूतलाई लेख: ‘यी कुराहरू परमेश्वरका पुत्र भन्नुहुन्छ, जसका आँखाहरू आगोको ज्वालाजस्तै छन् र जसका पाउहरू टल्किरहेको पित्तलजस्ता छन्: 19 तिम्रा कामहरू र तिम्रा प्रेम, सेवा, विश्वास र धीरज, अनि तिम्रा कामहरू म जान्दछु, र तिम्रा पछिल्ला कामहरू अगिल्लाभन्दा बढ़ी छन्। 20 तरै पनि तिम्रो विरोधमा मेरा केही कुराहरू छन्; किनकि तिमीले ‘म भविष्यवक्तिनी हुँ’ भन्ने त्यस स्त्री ईजेबेललाई सिकाउने अनि मेरा दासहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएका चीजहरू खान भनी भड़्काउने अनुमति दिन्छौ। 21 अनि मैले त्यसलाई त्यसको व्यभिचारबाट पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्चात्ताप गरिन। 22 हेर, त्यसलाई म ओछ्यानमा फाल्नेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई चाहिँ भारी सङ्कष्टभित्र फालिदिनेछु, तिनीहरूले आफ्ना कामहरूबाट पश्चात्ताप गरेनन् भने। 23 अनि म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा मार्नेछु; अनि मन र हृदयहरू तलाश गर्नेचाहिँ म नै हुँ भनी सबै मण्डलीहरूले जान्नेछन्, र म तिमीहरूमध्ये हरेकलाई तिमीहरूका कामहरूअनुसार प्रतिफल दिनेछु।
24 तर तिमीहरूलाई र थिआटिरामा भएका बाँकी जनहरूलाई, जतिले यो शिक्षा लिएका छैनन् र जसले तिनीहरूले भनेजस्तो ‘शैतानका गहिराइहरू’ जानेका छैनन्, उनीहरूलाई म भन्दछु: म तिमीहरूमाथि अरू कुनै थप भार राख्नेछैनँ; 25 तर तिमीहरूसँग जे छ, त्यो म नआउन्जेल बलियो गरी पक्रिराख!
26 अनि जसले जय पाउँछ र अन्तसम्म मेरा कामहरू सम्हालिराख्छ, उसलाई म जाति-जातिमाथि अधिकार दिनेछु; 27 अनि उसले तिनीहरूमाथि फलामको डण्डाले शासन गर्नेछ ; तिनीहरू कुमालेका भाँड़ाहरूजस्तो टुक्रा-टुक्रा पारिनेछन् – जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। 28 अनि म उसलाई बिहानको तारा दिनेछु। 29 जसको कान छ, उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। ’ ”