(५) सार्डिसमा भएको मण्डली
3
“अनि सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: ‘जससँग परमेश्वरका सात आत्माहरू र सातवटा ताराहरू छन्, उहाँ नै यी कुराहरू भन्नुहुन्छ: तिम्रा कामहरू म जान्दछु, तिमी जीवित छौ भन्ने तिम्रो नामचाहिँ छ, तर तिमी मरेका छौ। 2 जागा होऊ, र बाँकी रहेका ती कुराहरू, जुनचाहिँ मर्न लागेका छन्, बलिया बनाऊ; किनकि मैले तिम्रा कामहरू परमेश्वरको सामु सिद्ध भएका पाएको छैनँ। 3 यसकारण कसरी तिमीले पाएका र सुनेका छौ, सम्झना गर, बलियो गरी पक्र र पश्चात्ताप गर! यसकारण यदि तिमी जागा रहेनौ भने म चोरझैं तिमीकहाँ आउनेछुक, र कुन घड़ी म तिमीकहाँ आउनेछुक, सो तिमीले कुनै रीतिले जान्नेछैनौ। 4 सार्डिसमा पनि तिमीसित केही नामहरू त छन्, जसले आफ्ना वस्त्रहरू अशुद्ध पारेका छैनन्, र उनीहरू सेता वस्त्रहरू पहिरी हिँड़्नेछन्; किनकि उनीहरू योग्य छन्।5 जसले जय पाउँछ, उसैलाई सेतो वस्त्र पहिराइनेछ; अनि म उसको नाम कुनै रीतिले जीवनको पुस्तकबाट काट्नेछैनँ, तर म उसको नाम मेरा पिताको सामु र उहाँका दूतहरूको सामु स्वीकार गर्नेछु। 6 जसको कान छ, उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।’ ”
(६) फिलाडेल्फियामा भएको मण्डली
7 “अनि फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: ‘उहाँ जो पवित्र हुनुहुन्छ, जो सत्य हुनुहुन्छ, जससँग दाऊदको चाबी छ, जसले खोल्नुहुन्छ र कसैले बन्द गर्दैन, अनि जसले बन्द गर्नुहुन्छ र कसैले खोल्दैन, उहाँ नै यी कुराहरू भन्नुहुन्छ: 8 “तिम्रा कामहरू म जान्दछु; मैले तिम्रो सामु एउटा खुला ढोका राखेको छु, अनि कसैले यो बन्द गर्न सक्दैन; किनकि तिमीसित थोरै शक्ति छ, अनि तिमीले मेरो वचन पालन गरेका छौ र मेरो नाम इन्कार गरेका छैनौ। 9 हेर, म ती शैतानको सभाकाहरूलाई, ‘हामी यहूदीहरू हौं’ भन्छन्, तर जो यहूदीहरू नै होइनन्, तर झूट बोल्छन् ; हेर, म तिनीहरूलाई आउने, तिम्रो चरणमा दण्डवत् गर्ने र मैले तिमीलाई प्रेम गरेको छु भनी जान्ने बनाउनेछु। 10 तिमीले मेरो धीरजको वचन पालन गरेका छौ ; यसकारण म पनि तिमीलाई परीक्षाको घड़ीबाट जोगाउनेछु, जुन घड़ीचाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नका निम्ति सारा संसारमाथि आउनेछ। 11 हेर, म चाँड़ै आउँछु; तिमीसँग जे छ, त्यो बलियो गरी पक्रिराख, कि तिम्रो मुकुट कसैले लैजान नपाओस्।
12 जसले जय पाउँछ, उसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु, र ऊ कहिल्यै बाहिर जानेछैन; अनि म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको शहरको नाम, जुन शहर नयाँ यरूशलेम हो, जुनचाहिँ मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउनेछ, र मेरो नयाँ नाम लेखिदिनेछु। 13 जसको कान छ, उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।’ ”
(७) लाओडिसियामा भएको मण्डली
14 “अनि लाओडिसियामा भएको मण्डलीका दूतलाई लेख: ‘आमेन, त्यो विश्वासयोग्य र सत्य साक्षी, परमेश्वरको सृष्टिको मूलले यी कुराहरू भन्नुहुन्छ: 15 तिम्रा कामहरू म जान्दछु; किनकि तिमी न ता चिसा न तातो छौ; तिमी चिसो अथवा तातो भएका भए हुनेथियो। 16 यसरी तिमी न चिसो छौ न तातो, तर मनतातो भएका हुनाले म तिमीलाई आफ्नो मुखबाट थुकिदिनेछु। 17 किनभने तिमी भन्छौ, ‘म धनी छु, धनवान् भएको छु, र मलाई कुनै कुराको खाँचो छैन;’ तर आफूचाहिँ अभागी, दयनीय, कङ्गाल, अन्धा र नाङ्गा छौ भनी जान्दैनौ। 18 म तिमीलाई सल्लाह दिन्छु : धनी हुनलाई मबाट आगोले खारिएको सुन किन, अनि वस्त्र पहिरनलाई र आफ्नो नग्नताको शर्म नदेखिनलाई सेतो वस्त्र किन, र देख्न सक्नलाई आफ्ना आँखाहरूमा मलम लगाऊ! 19 जतिलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु र ताड़ना दिन्छु; यसकारण जोशिला होऊ र पश्चात्ताप गर! 20 हेर, म ढोकामा उभिन्छु र ढकढक्याउँछु; कसैले मेरो सोर सुन्यो र ढोका खोल्यो भने म उसकहाँ भित्र आउनेछु र ऊसँग भोजन खानेछु, अनि उसले मसँग खानेछ।