स्वर्गमा परमेश्‍वरको सिंहासन
4
यी कुराहरूपछि मैले हेरें, अनि हेर, स्वर्गमा एउटा ढोका खोलिएको थियो; अनि मैले सुनेको त्यो पहिलो आवाज, जुनचाहिँ तुरहीको जस्तो थियो त्‍यस आवाजले यसो भन्‍दै मसित बोलिरहेको थियो : “यहाँ माथि आऊ, र म तिमीलाई ती कुराहरू देखाउनेछु, जुनचाहिँ यी कुराहरूपछि हुनुपर्नेछ।” 2 अनि तुरुन्तै म आत्मामा थिएँ; अनि हेर, स्वर्गमा एउटा सिंहासन बसालियो, र त्‍यस सिंहासनमाथि एकजना बसिरहनुभएको थियो। 3 अनि ती बस्‍नुहुनेचाहिँ, स्फटिक र लालमणिजस्तो देखिनुहुन्थ्यो; र त्‍यस सिंहासनको वरिपरि हरितमणिजस्‍तो देखा पर्ने एउटा इन्द्रेणी थियो। 4 अनि त्यस सिंहासनको वरिपरि चौबीसवटा सिंहासनहरू थिए; अनि ती सिंहासनहरूमाथि मैले सेता वस्त्र पहिरेका चौबीसजना प्राचीनहरूलाई बसिरहेका देखें; अनि उनीहरूका शिरहरूमाथि सुनका मुकुटहरू थिए। 5 अनि त्यस सिंहासनबाट बिजुलीहरू, गर्जनहरू र आवाजहरू निस्कन्थे; अनि त्यस सिंहासनको सामु आगाका सातवटा बत्तीहरू बलिरहेका थिए, जुनचाहिँ परमेश्‍वरका सात आत्माहरू हुन्। 6 अनि त्यस सिंहासनको सामु काँचको एउटा समुद्र थियो, बिल्‍लौरजस्‍तो; अनि त्यस सिंहासनको बीचमा र त्यस सिंहासनको वरिपरि, अगाड़िपट्टि र पछाड़िपट्टि आँखैआँखाले भरिएका चारवटा जीवित प्राणीहरू थिए। 7 अनि पहिलो प्राणीचाहिँ सिंहजस्तो थियो, दोस्रो प्राणी बाछोजस्तो, तेस्रो प्राणीको चाहिँ मानिसको जस्तो चेहरा थियो र चौथो प्राणीचाहिँ उड़िरहेको चीलजस्तो थियो। 8 अनि ती चारवटा जीवित प्राणीहरूमा हरेकका छ–छवटा पखेटाहरू थिए; ती वरिपरि र भित्रपट्टि आँखैआँखाले भरिएका थिए; अनि “पवित्र, पवित्र, पवित्र,परमप्रभु* सर्वशक्तिमान् परमेश्‍वर, जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउनुहुनेछ” भन्दै तिनीहरू दिनरात विश्राम लिँदैनन्। 9 जब ती जीवित प्राणीहरूले त्‍यस सिंहासनमाथि बस्‍नुहुनेलाई, जो सदा-सर्वदा जिउनुहुन्छ, महिमा, आदर र धन्यवाद चढ़ाउँछन्, 10 तब ती चौबीस प्राचीनहरूले त्‍यस सिंहासनमाथि बस्‍नुहुनेको सामु लम्पसार परेर सदा-सर्वदा जिउनुहुनेलाई दण्‍डवत्‌ गर्छन्, र यसो भन्दै आ-आफ्ना मुकुटहरू त्‍यस सिंहासनको सामु राखिदिन्छन्: 11 “हे प्रभु, तपाईं महिमा, आदर र सामर्थ्य पाउन योग्य हुनुहुन्छ; किनकि तपाईंले नै सबै कुराहरू सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्छाको कारणले ती कुराहरू रहन्छन् र सृष्‍टि गरिए।”