सातवटा मोहर-छापले मारिएको त्यो पुस्तक र थुमा
5
अनि मैले त्यस सिंहासनमाथि बस्नुहुनेको दाहिने हातमा भित्रपट्टि र बाहिरपट्टि लेखिएको, सातवटा मोहर-छापले छाप मारिएको एउटा पुस्तक देखें। 2 अनि मैले एकजना शक्तिशाली स्वर्गदूतलाई ठूलो सोरले प्रचार गरिरहेका देखें: “यो पुस्तक खोल्न र यसका छापहरू तोड़्न को योग्य छ?” 3 अनि त्यो पुस्तक खोल्न र त्यसमा हेर्न सक्ने न स्वर्गमा, न पृथ्वीमाथि, न पृथ्वीमुनि कोही थियो। 4 अनि म खूबै रोएँ, किनकि त्यो पुस्तक खोल्न, पढ़्न र त्यसमा हेर्न सक्ने कोही योग्यको पाइएन। 5 अनि ती प्राचीनहरूमध्ये एकजनाले मलाई भने: “नरोऊ! हेर, यो पुस्तक खोल्न र यसका सातवटा छापहरू तोड़्नलाई यहूदा कुलको सिंह, दाऊदको जरा विजयी हुनुभएको छ।”6 अनि मैले हेरें; अनि हेर, त्यस सिंहासन र ती चार जीवित प्राणीहरूको माझमा र ती प्राचीनहरूको माझमा मारिनुभएको जस्तो एउटा थुमाक उभिरहनुभएको थियो, जसका सातवटा सिङहरू र सातवटा आँखाहरू थिए, जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्माहरू हुन्। 7 अनि उहाँ आउनुभयो, र उहाँले त्यस सिंहासनमाथि बस्नुहुनेको दाहिने हातबाट त्यो पुस्तक लिनुभयो। 8 अनि जब उहाँले त्यो पुस्तक लिनुभयो, तब ती चार जीवित प्राणीहरू र ती चौबीस प्राचीनहरू त्यस थुमाको अघिल्तिर घोप्टो परे, हरेकसँग वीणाहरू र धूपले भरिएका सुनका कचौराहरू थिए, जुनचाहिँ पवित्र जनहरूका प्रार्थनाहरू हुन्। 9 अनि उनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए: “तपाईं यो पुस्तक लिन र यसका छापहरू खोल्न योग्य हुनुहुन्छ; किनकि तपाईं मारिनुभयो, र तपाईंले आफ्नै रगतद्वारा हरेक कुल, भाषा, मानिस र जातिबाट हामीलाई परमेश्वरका निम्ति किनेर छुटाउनुभएको छ, 10 र हामीलाई हाम्रा परमेश्वरका निम्ति राजाहरू र पूजाहारीहरू बनाउनुभएको छ; अनि हामीहरू पृथ्वीमाथि राज्य गर्नेछौं।” 11 अनि मैले हेरें, अनि त्यस सिंहासन, ती जीवित प्राणीहरू र ती प्राचीनहरूको वरिपरि मैले धेरै स्वर्गदूतहरूको सोर सुनें; अनि उनीहरूको संख्या लाखौं र करोड़ौं थियो; 12 अनि उनीहरूले ठूलो सोरले यसो भन्दैथिए: “मारिनुभएको थुमा सामर्थ्य, धन, बुद्धि, बल, आदर, महिमा र धन्यवाद पाउन योग्यका हुनुहुन्छ।” 13 अनि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक सृष्टि गरिएको प्राणीले, र समुद्रमा भएकाहरू र तिनमा भएका सबै थोकहरूले यसो भनिरहेका मैले सुनें: “त्यस सिंहासनमाथि बस्नुहुनेलाई र त्यस थुमालाई धन्यवाद, आदर, महिमा र सामर्थ्य सदा-सर्वदा भइरहोस्!” 14 अनि ती चार जीवित प्राणीहरूले भने: “आमेन।” अनि ती चौबीस प्राचीनहरूले घोप्टो परेर युगानुयुग जिउनुहुनेलाई दण्डवत् गरे।