यस पुस्‍तकका छवटा मोहर-छापहरू खोलिन्छन्
6
अनि जब त्यस थुमाले छापहरूमध्ये एउटा खोल्नुभयो, तब मैले देखें, अनि ती चार जीवित प्राणीहरूमध्ये एउटालाई गर्जनको आवाजजस्तो ‘आऊ र हेर!’ भनिरहेको सुनें। 2 अनि मैले हेरें, अनि हेर, एउटा सेतो घोड़ा! अनि त्यसमाथि बस्‍नेसँग एउटा धनु थियो; अनि उसलाई एउटा मुकुट दिइयो; अनि ऊ जित्दै-जित्दै र जित्‍नलाई अघि बढ्यो।
3 अनि जब उहाँले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीलाई ‘आऊ र हेर!’ भनिरहेको सुनें। 4 अनि अर्को घोड़ा निस्केर आयो, जुनचाहिँ आगोजस्तो रातो थियो; अनि त्यसमाथि बस्‍नेलाई यस पृथ्वीबाट शान्ति हटाउने, र तिनीहरूले एक-अर्कालाई मारून् भन्‍ने अधिकार दिइयो; अनि उसलाई एउटा ठूलो तरवार दिइयो।
5 अनि जब उहाँले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीलाई ‘आऊ र हेर!’ भनिरहेको सुनें। अनि मैले हेरें, अनि हेर ,एउटा कालो घोड़ा! अनि त्यसमाथि बस्‍नेसित, उसको हातमा एउटा तराजु थियो। 6 अनि मैले ती चार जीवित प्राणीहरूको माझमा एउटा यसो भनिरहेको आवाज सुनें: “एक दीनारमा एक सेर गहुँ, एक दीनारमा तीन सेर जौ; अनि तिमीले तेल र दाखमद्यलाई हानि नगर्नू!”
7 अनि जब उहाँले चौथो छाप खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीको ‘आऊ र हेर!’ भन्‍ने सोर सुनें। 8 अनि मैले हेरें; अनि हेर एउटा पहेंलो घोड़ा! अनि त्यसमाथि बस्‍नेको नाम मृत्यु थियो, अनि नरकचाहिँ त्यसको पछि-पछि लाग्यो। अनि तरवारले, अनिकालले, मृत्युले र पृथ्वीका जङ्गली पशुहरूद्वारा मार्न तिनीहरूलाई पृथ्वीको चौथो भागमाथि अधिकार दिइयो।
9 अनि जब उहाँले पाँचौं छाप खोल्नुभयो, तब मैले वेदीको मुन्तिर उनीहरूका प्राणहरू देखें, जोचाहिँ परमेश्‍वरको वचन र आफूले कायम राखेको गवाहीको कारणले मारिएका थिए; 10 अनि उनीहरू यसो भन्दै ठूलो सोरले कराए: “हे मालिक, हे पवित्र र सत्य, कहिलेसम्म तपाईंले न्याय गर्नुहुन्‍न र पृथ्वीमाथि बस्‍नेहरूबाट हामीहरूको रगतको बदला लिनुहुन्‍न?” 11 अनि उनीहरू हरेकलाई सेता वस्त्रहरू दिइए; अनि उनीहरूलाई उनीहरूजस्तो मारिन लागेका उनीहरूका सङ्गी-दासहरू र उनीहरूका दाजुभाइहरूको संख्या पूरा नहोउन्जेल, अझै केही बेरका निम्ति उनीहरूले विश्राम गर्नू भनी भनियो।
12 अनि जब उहाँले छैटौं छाप खोल्नुभयो, तब मैले हेरें, अनि हेर, एउटा ठूलो भुइँचालो भयो; अनि घामचाहिँ केशको भाङ्ग्रे लुगाजस्तो कालो भयो, र जूनचाहिँ रगतजस्तो भयो; 13 अनि जसरी नेभाराको रूखले ठूलो हुरीद्वारा हल्‍लाइँदा आफ्ना नपाकेका नेभाराहरू झारिदिन्छ, त्यसरी नै आकाशका ताराहरू पृथ्वीमाथि खसे। 14 अनि पुस्तकको मुठा बेरिएझैं आकाश हटेर गयो; अनि हरेक पहाड़ र टापु आ-आफ्ना ठाउँबाट हटाइए। 15 अनि पृथ्वीका राजाहरू, ठूला-ठूला मानिसहरू, धनवान्‌ मानिसहरू, मुख्य कप्‍तानहरू र शक्तिशाली मानिसहरूले अनि हरेक कमारा र हरेक स्वतन्‍त्र मानिसले आफूलाई ओड़ारहरूभित्र र पहाड़हरूका चट्टानहरूभित्र लुकाए; 16 अनि तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने: “हामीमाथि खस अनि हामीलाई त्यस सिंहासनमाथि बस्‍नुहुनेको मुखबाट र थुमाको क्रोधबाट लुकाइदेओ; 17 किनकि उहाँको क्रोधको ठूलो दिन आएको छ, र को उभिन सक्ला र?”