एक लाख चवालीस हजार इस्राएलीहरूमाथि छाप लगाइन्छ
7
अनि यी कुराहरूपछि मैले चारजना स्वर्गदूतहरूलाई पृथ्वीमाथि, समुद्रमाथि र हरेक रूखमाथि हावा नचलोस् भनी पृथ्वीका चार हावाहरू पक्रेर पृथ्वीका चारै कुनाहरूमा उभिरहेका देखें। 2 अनि मैले अर्को एकजना स्वर्गदूतलाई जीवित परमेश्वरको मोहर लिएर पूर्वपट्टिबाट उक्लिरहेका देखें; अनि उनले पृथ्वी र समुद्रलाई हानि गर्ने अधिकार पाएका ती चारजना स्वर्गदूतहरूलाई यसो भन्दै ठूलो सोरले कराए: 3 “जबसम्म हाम्रा परमेश्वरका दासहरूलाई तिनीहरूका निधारहरूमा हामी छाप लगाउँदैनौं, तबसम्म पृथ्वी, समुद्र र रूखहरूलाई कुनै हानि नगर!” 4 अनि मैले ती छाप लगाइएकाहरूको संख्या सुनें; इस्राएलीहरूका सबै कुलहरूबाट जम्मा एक लाख चवालीस हजार छाप लगाइएकाहरू थिए। 5 यहूदा कुलका बाह्र हजारलाई छाप लगाइयो। रूबेन कुलका बाह्र हजारलाई छाप लगाइयो। गाद कुलका बाह्र हजारलाई छाप लगाइयो। 6 आशेर कुलका बाह्र हजारलाई छाप लगाइयो। नप्ताली कुलका बाह्र हजारलाई छाप लगाइयो। मनस्से कुलका बाह्र हजारलाई छाप लगाइयो। 7 शिमोन कुलका बाह्र हजारलाई छाप लगाइयो। लेवी कुलका बाह्र हजारलाई छाप लगाइयो। इस्साकार कुलका बाह्र हजारलाई छाप लगाइयो। 8 जबुलोन कुलका बाह्र हजारलाई छाप लगाइयो। यूसुफ कुलका बाह्र हजारलाई छाप लगाइयो। बेन्यामीन कुलका बाह्र हजारलाई छाप लगाइयो।त्यस सिंहासनको सामु भेला भएको असंख्य भीड़
9 यी कुराहरूपछि मैले हेरें, अनि हेर सबै जाति, कुल, मानिस र भाषाहरूको एउटा ठूलो भीड़, जसलाई कसैले पनि गन्न सकेन, सेता वस्त्रहरू पहिरेर र आ-आफ्ना हातहरूमा खजूरका हाँगाहरू लिएर तिनीहरू त्यस सिंहासनको सामु र थुमाको सामु उभिरहेका थिए, 10 अनि तिनीहरू ठूलो सोरले यसो भन्दै कराइरहेका थिए: “मुक्ति सिंहासनमाथि बस्नुहुने हाम्रा परमेश्वर र थुमाकै हो!” 11 अनि सबै स्वर्गदूतहरू त्यस सिंहासनको वरिपरि, अनि ती प्राचीनहरू र ती चार जीवित प्राणीहरूको वरिपरि उभिए; अनि त्यस सिंहासनको सामु भुइँमा घोप्टो परे, र यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे : 12 “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, सामर्थ्य र शक्ति सदा-सर्वदा भइरहोस्! आमेन!”
13 अनि ती प्राचीनहरूमध्ये एकजनाले मलाई यसो भन्दै जवाफ दिए: “यी सेता वस्त्र पहिरेकाहरू को हुन्? अनि यिनीहरू कहाँबाट आए?” 14 अनि मैले उनलाई भनें: “हजुर, तपाईं नै जान्नुहुन्छ।” अनि उनले मलाई भने: “यिनीहरू ती हुन्, जो महा सङ्कष्टबाट निस्केर आएका छन्; अनि यिनीहरूले थुमाको रगतमा आफ्ना वस्त्रहरू धोएका छन् र आफ्ना वस्त्रहरू सेता पारेका छन्। 15 यसैकारण यिनीहरू परमेश्वरको सिंहासनको अघिल्तिर छन् र उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि त्यस सिंहासनमा बस्नुहुनेले चाहिँ यिनीहरूको बीचमा वास गर्नुहुनेछक। 16 यिनीहरू कहिल्यै भोकाउनेछैनन्, न ता कहिल्यै तिर्खाउने नै छन्; न ता घामको राप यिनीहरूमाथि पर्नेछ, न ता कुनै ताप नै। 17 किनकि त्यस सिंहासनको बीचमा हुनुहुने थुमाले यिनीहरूको गोठाला गर्नुहुनेछ र यिनीहरूलाई पानीका जिउँदा धाराहरूमा डोर्याएर लैजानुहुनेछ; अनि परमेश्वरले यिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।”