अब सातौं छाप खोलिन्छ
8
अनि जब उहाँले सातौं छाप खोल्नुभयो, तब स्वर्गमा आधा घण्टाजति चकमन्‍न भयो। 2 अनि मैले सातजना स्वर्गदूतहरूलाई देखें, जो परमेश्‍वरको सामु खड़ा रहन्थे; अनि उनीहरूलाई सातवटा तुरहीहरू दिइए। 3 अनि अर्को एकजना स्वर्गदूत आए र एउटा सुनको धूपौरो लिएर वेदीनेर उभिए; अनि त्‍यस सिंहासनको सामु भएको सुनको वेदीमाथि सबै पवित्र जनहरूका प्रार्थनाहरूको साथमा चढ़ाऊन् भनी उनलाई धेरै धूप दिइयो। 4 अनि ती स्वर्गदूतको हातबाट धूपको धूवाँ परमेश्‍वरको सामु पवित्र जनहरूका प्रार्थनाहरूको साथमा उँभो-उँभो उठ्दै गयो। 5 अनि ती स्वर्गदूतले त्यो धूपौरो लिए, त्यसलाई वेदीको आगोले भरे र त्यो पृथ्वीमाथि फ्याँकिदिए; अनि आवाजहरू र गर्जनहरू भए, बिजुलीहरू चम्के, र भुइँचालो गयो।
सात तुरहीहरूमध्ये चारवटा फुकिन्छन्
6 अनि सातवटा तुरहीहरू भएका ती सातजना स्वर्गदूतहरू तुरही फुक्न तयार भए। 7 अनि पहिलो स्वर्गदूतले तुरही फुके, र रगत मिसिएका असिना र आगो उत्‍पन्‍न भए, अनि ती पृथ्वीमाथि फ्याँकिए; अनि रूखहरूको तेस्रो भाग जल्यो, र सबै हरियो घाँस जल्यो।
8 अनि दोस्रो स्वर्गदूतले तुरही फुके, अनि मानो आगोले बलिरहेको एउटा ठूलो पहाड़ समुद्रभित्र फ्याँकियो; अनि समुद्रको तेस्रो भाग रगत भयो; 9 अनि समुद्रभित्र भएका प्राणीहरू जससँग जीवन थियो, तिनको तेस्रो भाग मरे; अनि जहाजहरूको तेस्रो भाग नष्‍ट भए।
10 अनि तेस्रो स्वर्गदूतले तुरही फुके, अनि राँकाझैं बलिरहेको एउटा ठूलो तारा स्वर्गबाट खस्यो, अनि त्यो नदीहरूको तेस्रो भागमाथि र पानीका मुहानहरूमाथि खस्यो; 11 अनि त्यस ताराको नाम तीतेपाती भनिन्छ; अनि पानीको तेस्रो भाग तीतेपाती भयो; अनि धेरै मानिसहरू ती पानीद्वारा मरे, किनकि ती तीता बनाइएका थिए।
12 अनि चौथो स्वर्गदूतले तुरही फुके; अनि घामको तेस्रो भाग, जूनको तेस्रो भाग र ताराहरूको तेस्रो भागमाथि प्रहार पर्‍यो; यसकारण तिनीहरूको तेस्रो भाग अँध्यारो भयो, र दिनको तेस्रो भाग उज्यालो भएन, र यही प्रकारले रात। 13 अनि मैले हेरें, अनि मैले आकाशको बीचमा उड़्दै गरेका एकजना स्वर्गदूतलाई ठूलो सोरले यसो भनिरहेको सुनें: “तुरही फुक्न लागेका तीनजना स्वर्गदूतहरूको तुरहीका बाँकी आवाजहरूको कारणले पृथ्वीमाथि बस्‍नेहरूलाई हाय ,हाय ,हाय!”