अब पाँचौं तुरही फुकिन्छ
9
अनि पाँचौं स्वर्गदूतले तुरही फुके, अनि मैले एउटा तारा स्वर्गबाट पृथ्वीमाथि खसेको देखें; अनि त्यसलाई अथाह कुण्डको चाबी दिइयो। 2 अनि त्यसले अथाह कुण्ड खोल्यो; अनि त्यस कुण्डबाट ठूलो भट्टीको धूवाँजस्तो गरी धूवाँ उठ्यो, र त्यस कुण्डको धूवाँद्वारा घाम र हावा अँध्यारा पारिए। 3 अनि त्यस धूवाँबाट सलहहरू निस्केर पृथ्वीमाथि आए; र पृथ्वीका बिच्छीहरूसँग जुन शक्ति छ त्‍योजस्‍तो शक्ति तिनीहरूलाई दिइयो। 4 अनि न ता पृथ्वीको घाँस, न कुनै हरियो चीज, न ता कुनै रूखलाई हानि गर्नू, तर आफ्ना निधारहरूमा परमेश्‍वरको छाप नभएका मानिसहरूलाई मात्र हानि गर्नू भन्‍ने आज्ञा दिइयो। 5 अनि यिनीहरूलाई नमारिहाल्नू, तर यिनीहरूलाई पाँच महिनासम्म पीड़ा दिइयोस् भनी अधिकार तिनीहरूलाई दिइयो; अनि तिनीहरूको पीड़ाचाहिँ बिच्छीले मानिसलाई डस्दा जस्तो पीड़ा हुन्छ, त्यस्तै थियो। 6 अनि ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्‍नेछन्, तर त्यसलाई भेट्टाउनेछैनन्; अनि तिनीहरूले मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्‍नेछ।
7 अनि ती सलहहरूका आकारचाहिँ लड़ाइँका निम्ति तयार पारिएका घोड़ाहरूजस्ता थिए; अनि तिनीहरूका टाउकाहरूमा मानो सुनकै जस्ता मुकुटहरू थिए, अनि तिनीहरूका अनुहारचाहिँ मानिसहरूका अनुहारजस्तै थिए। 8 अनि तिनीहरूको केश स्त्रीहरूको केशजस्तै थियो, अनि तिनीहरूका दाँतहरू सिंहहरूका दाँतजस्ता थिए। 9 अनि तिनीहरूका छातीका कवचहरू फलामका कवचहरूजस्तै थिए; अनि तिनीहरूका पखेटाहरूको आवाजचाहिँ लड़ाइँमा दगुरिरहेका धेरै घोड़ाहरूका रथहरूको आवाजजस्तै थियो। 10 अनि तिनीहरूका बिच्छीहरूका जस्तै पुच्छरहरू थिए; र तिनीहरूका पुच्छरहरूमा खीलहरू थिए; अनि मानिसहरूलाई पाँच महिनासम्म चोट पुर्‍याउने तिनीहरूको अधिकार थियो। 11 अनि तिनीहरूमाथि राज्य गर्ने तिनीहरूको एकजना राजा थियो, जोचाहिँ अथाह कुण्डको दूत थियो। त्यसको नाम हिब्रू भाषामा अबाड्डोन हो, तर ग्रीक भाषामा त्यसको नाम अपोल्‍लियोन हो। 12 पहिलो विपत्ति बित्यो; हेर, यी कुराहरूपछि अझै दुई विपत्तिहरू आउँछन्।
अब छैटौं तुरही फुकिन्छ
13 अनि छैटौं स्वर्गदूतले तुरही फुके, अनि परमेश्‍वरको सामु भएको सुनको वेदीका चार सिङहरूबाट छैटौं स्वर्गदूतलाई, जससँग तुरही थियो, यसो भनिरहेको एउटा आवाज मैले सुनें: 14 “ती चारजना दूतहरूलाई, फुकाइदेऊ, जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्!” 15 अनि ती चारजना दूतहरूलाई फुकाइए, जो मानिसहरूको तेस्रो भाग मार्नका निम्ति त्यस घण्टा, दिन, महिना र वर्षका लागि तयार भएका थिए। 16 अनि त्यस घोड़चढ़ी फौजको संख्या बीस करोड़ थियो; अनि मैले तिनीहरूको संख्या सुनें। 17 अनि यसरी मैले दर्शनमा घोड़ाहरू र तीमाथि चढ़्नेहरूलाई देखें, जसले आगो, धूम्रकान्त र गन्धक रङ्गका छातीका कवचहरू पहिरेका थिए; अनि ती घोड़ाहरूका टाउकाहरूचाहिँ सिंहहरूका टाउकाजस्ता थिए; अनि तिनीहरूका मुखहरूबाट आगो, धूवाँ र गन्धक निस्कन्थे। 18 यी तीनवटा महामारीहरूद्वारा मानिसहरूको तेस्रो भाग मारियो – आगोद्वारा, धूवाँद्वारा र गन्धकद्वारा, जुनचाहिँ तिनीहरूका मुखहरूबाट निस्कन्थे। 19 किनकि तिनीहरूको शक्तिचाहिँ तिनीहरूका मुख र तिनीहरूका पुच्छरहरूमा रहेछ; किनकि तिनीहरूका पुच्छरहरूचाहिँ साँपहरूजस्ता थिए, र तिनमा टाउकाहरू थिए, अनि तिनैद्वारा तिनीहरूले चोट पुर्‍याउँथे।
20 तर यी महामारीहरूद्वारा नमारिएका बाँकी मानिसहरूले दुष्‍ट आत्माहरूलाई र सुनका, चाँदीका, पित्तलका, ढुङ्गाका र काठका मूर्तिहरूलाई पूजा नगरौं भनेर आफ्ना हातका कामहरूबाट अझै पश्‍चात्ताप गरेनन्, जुन मूर्तिहरू न देख्‍न, न सुन्‍न, न हिँड़्न सक्छन्; 21 अनि तिनीहरूले न आफ्ना हत्या गर्ने कामहरूबाट, न आफ्ना टुनामुना गर्ने धन्दाहरूबाट, न आफ्ना व्यभिचारहरूबाट, न ता आफ्ना चोरी गर्ने कामहरूबाट पश्‍चात्ताप गरे।