शक्तिशाली स्वर्गदूत र उनको हातमा भएको त्यो सानो पुस्तक
10
अनि मैले बादल ओढ़ेका अर्को एकजना शक्तिशाली दूतलाई स्वर्गबाट ओर्लिरहेका देखें; अनि एउटा इन्द्रेणी उनको शिरमाथि थियो, अनि उनको अनुहारचाहिँ घामजस्तो थियो, अनि उनका पाउहरूचाहिँ आगाका खाँबाहरूजस्ता थिए; 2 अनि उनको हातमा खोलिराखेको एउटा सानो पुस्तक थियो; अनि उनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ पृथ्वीमाथि राखे; 3 अनि उनी सिंह गर्जेझैं ठूलो सोरले कराए। अनि जब उनी कराए, तब सात गर्जनहरूले आ-आफ्ना शब्दहरू बोले। 4 अनि जब ती सात गर्जनहरूले आ-आफ्ना शब्दहरू बोले, तब म लेख्नै लागेको थिएँ; अनि स्वर्गबाट मलाई यसो भन्दै गरेको एउटा वाणी मैले सुनें: “सात गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र तिनलाई नलेख!”5 अनि जुन स्वर्गदूतलाई मैले समुद्रमाथि र पृथ्वीमाथि उभिरहेका देखें,ती स्वर्गदूतले आफ्नो हात स्वर्गतिर उठाए, 6 अनि उहाँ जो सदा-सर्वदा जीवित रहनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका चीजहरूलाई, पृथ्वी र त्यसमा भएका चीजहरूलाई, अनि समुद्र र त्यसमा भएका चीजहरूलाई सृष्टि गर्नुभयो, उहाँकै नाममा शपथ खाए: “अबदेखि उसो अबेर हुनेछैन, 7 तर सातौं स्वर्गदूतको आवाजका दिनहरूमा, जब उनले तुरही फुक्न लाग्छन्, तब उहाँले आफ्ना दासहरूलाई अर्थात् भविष्यवक्ताहरूलाई सुनाउनुभएको शुभ समाचारअनुसार परमेश्वरको रहस्य पूरा हुनेछ।”
8 अनि जुन वाणी मैले स्वर्गबाट आएको सुनें, त्यस वाणीले फेरि मसँग बोल्यो र भन्यो: “जाऊ, त्यो सानो पुस्तक लेऊ, जुन पुस्तक समुद्रमाथि र पृथ्वीमाथि उभिरहेका ती स्वर्गदूतको हातमा खुला छ।” 9 अनि म ती स्वर्गदूतकहाँ गएँ र उनलाई भनें: “त्यो सानो पुस्तक मलाई दिनुहोस्!” अनि उनले मलाई भने: “लेऊ, र यसलाई खाऊ! अनि यसले तिम्रो पेट तीतो पार्नेछ, तर तिम्रो मुखमा चाहिँ यो महजस्तो गुलियो हुनेछ।” 10 अनि मैले त्यो सानो पुस्तक ती स्वर्गदूतको हातबाट लिएँ, र त्यसलाई खाएँ; अनि मेरो मुखमा त्यो महजस्तो गुलियो भयो; अनि मैले त्यसलाई खानसाथ मेरो पेट तीतो भयो। 11 अनि उनले मलाई भने: “तिमीले फेरि धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको विषयमाक भविष्यवाणी गर्नुपर्छ।”