परमेश्वरका दुईजना साक्षीहरू
11
अनि नाप्ने डण्डाजस्तो एउटा निगालो मलाई दिइयो; अनि एकजना स्वर्गदूत यसो भन्दै उभिए: “उठ, अनि परमेश्वरको मन्दिर, वेदी र यसमा उपासना गर्नेहरूलाई नाप! 2 तर मन्दिरबाहिरको चोकलाई छोड़िदेऊ, र त्यसलाई ननाप; किनकि त्यो अन्यजातिहरूलाई दिइएको छ; अनि बयालीस महिनासम्म तिनीहरूले पवित्र शहरलाई खुट्टाले कुल्चीमिल्ची पार्नेछन्। 3 अनि म आफ्ना दुई साक्षीहरूलाई अधिकार दिनेछु, र उनीहरूले भाङ्ग्राको लुगा लगाएर एक हजार दुई सय साठी दिनसम्म भविष्यवाणी गर्नेछन्।”4 यिनीहरू ती दुई जैतुनका रूखहरू र ती दुई सामदानहरू हुन्, जुनचाहिँ पृथ्वीका परमेश्वरको सामु खड़ा रहन्छन्। 5 अनि कसैले उनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने उनीहरूको मुखबाट आगो निस्कन्छ, र त्यसले उनीहरूका शत्रुहरूलाई निलिदिन्छ; अनि कसैले उनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो यही प्रकारले मारिनुपर्छ। 6 उनीहरूको भविष्यवाणीका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्ने अधिकार छ; अनि पानीहरू रगतमा परिवर्तन गर्न उनीहरूसँग पानीमाथि अधिकार छ, र उनीहरूलाई जतिपल्ट इच्छा हुन्छ, त्यतिपल्ट सबै प्रकारका महामारीले पृथ्वीलाई प्रहार गर्ने अधिकार पनि छ।
7 अनि उनीहरूले आफ्नो गवाही दिइसकेपछि जुन पशु अथाह कुण्डबाट निस्कन्छ त्यस पशुले उनीहरूको विरोधमा युद्ध गर्नेछ, उनीहरूलाई जित्नेछ र उनीहरूलाई मार्नेछ। 8 अनि त्यस महान् शहरको सड़कमा उनीहरूका लाशहरू पड़िरहनेछन्, जुन शहर आत्मिक हिसाबले सदोम र मिस्र भनिन्छ, जहाँ हाम्रा प्रभु पनि क्रूसमा टाँगिनुभयो। 9 अनि जनताहरू, कुलहरू, भाषाहरू र जातिहरूका मानिसहरूले उनीहरूका लाशहरू साढ़े तीन दिनसम्म देख्नेछन्, अनि उनीहरूका लाशहरू चिहानहरूमा राखिन दिनेछैनन्। 10 अनि पृथ्वीमाथि बस्नेहरू उनीहरूको विषयमा आनन्दित हुनेछन्, र हर्ष मनाउनेछन्, अनि एक-अर्कालाई उपहारहरू पठाउनेछन्; किनकि यी दुई भविष्यवक्ताहरूले पृथ्वीमाथि बस्नेहरूलाई पीड़ा दिएका थिए। 11 अनि साढ़े तीन दिनपछि परमेश्वरबाट जीवनको आत्मा उनीहरूभित्र पस्नुभयो, र उनीहरू आफ्ना पाउमा उभिए, अनि उनीहरूलाई देख्नेहरूलाई ठूलो डर भयो। 12 अनि उनीहरूलाई यसो भन्दै गरेको स्वर्गबाटको एउटा ठूलो आवाज उनीहरूले सुने: “यहाँ माथि आओ!” अनि उनीहरू बादलमा स्वर्गतिर उठाइए, अनि उनीहरूका शत्रुहरूले उनीहरूलाई देखे। 13 अनि त्यही घड़ीमा एउटा ठूलो भुइँचालो गयो, र त्यस शहरको दसौं भाग ढल्यो; अनि त्यस भुइँचालोमा सात हजार मानिसहरू मारिए, अनि बाँकी रहेकाहरू डराए, र स्वर्गका परमेश्वरलाई महिमा दिए। 14 अब दोस्रो विपत्ति बित्यो; हेर, तेस्रो विपत्ति चाँड़ै आउनेछ।
अब सातौं तुरही फुकिन्छ
15 अनि सातौं स्वर्गदूतले तुरही फुके; अनि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाजहरू भए: “यस संसारका राज्यहरूचाहिँ हाम्रा प्रभुका र उहाँको ख्रीष्टका राज्यहरू भएका छन्; अनि उहाँले सदा-सर्वदा राज्य गर्नुहुनेछ।” 16 अनि परमेश्वरको सामु आफ्ना सिंहासनहरूमाथि बस्ने ती चौबीस प्राचीनहरू भुइँमा घोप्टो परे, र यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे: 17 “हे परमप्रभु* सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौं; किनभने तपाईंले आफ्नो महान् सामर्थ्य लिनुभएको छ र राज्य गर्नुभएको छ। 18 अनि जातिहरू क्रोधित भए; अनि तपाईंको क्रोध आएको छ; अनि मरेकाहरूको न्याय गर्ने, तपाईंका दासहरू अर्थात् भविष्यवक्ताहरूलाई, साथै पवित्र जनहरूलाई र तपाईंको नामको डर मान्ने साना-ठूलाहरूलाई इनाम दिने र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश पार्ने समय आएको छ।” 19 अनि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो; अनि उहाँको मन्दिरमा उहाँको वाचाको सन्दुक देखा पर्यो; अनि बिजुलीहरू चम्के, आवाजहरू र गर्जनहरू भए, भुइँचालो गयो, र ठूलो असिना पर्यो।