त्‍यो स्त्री, उसको बालक र त्‍यो अजिङ्गर
12
अनि स्वर्गमा एउटा ठूलो चिन्ह देखा पर्‍यो: घाम ओढ़ेकी एउटी स्त्री, अनि उसका पाउहरूमुनि जून र उसको शिरमाथि बाह्र ताराहरूको एउटा मुकुट रहेछ; 2 ऊ गर्भवती भएकी हुनाले जन्माउनलाई प्रसूति-वेदना र पीड़ामा परेर चिच्‍च्याउँथी।
3 अनि स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो; अनि हेर, सातवटा टाउका र दसवटा सिङ , अनि त्यसका टाउकाहरूमाथि सातवटा मुकुटहरू भएको एउटा ठूलो, रातो अजिङ्गर! 4 अनि त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भाग तान्यो र तिनलाई पृथ्वीमाथि फ्याँक्यो; अनि जन्मनसाथ उसको बालकलाई निलिहालूँ भनेर त्यो अजिङ्गर जन्म दिन लागेकी त्यस स्त्रीको सामु उभियो। 5 अनि उसले फलामको डण्‍डा लिएर सबै जातिहरूमाथि शासन गर्ने एउटा छोरा जन्माई, अनि उसको बालक परमेश्‍वरकहाँ र उहाँको सिंहासनमा उठाइयो। 6 अनि त्यो स्त्री उजाड़स्थानभित्र भागी, जहाँ तिनीहरूले उसलाई एक हजार दुई सय साठी दिनसम्म पालनपोषण गरून् भनेर त्यहाँ परमेश्‍वरद्वारा तयार पारिएको एउटा ठाउँ रहेछ।
7 अनि स्वर्गमा लड़ाइँ भयो; मिकाएल र उनका दूतहरूले त्यस अजिङ्गरको विरोधमा लड़ाइँ गरे; अनि त्यस अजिङ्गर र त्यसका दूतहरूले लड़ाइँ गरे, 8 तर तिनीहरूले जितेनन्; न ता अब देखि उसो स्वर्गमा तिनीहरूको निम्ति ठाउँ नै पाइयो। 9 अनि त्यो ठूलो अजिङ्गर फ्याँकियो ,डियाबोलोस र शैतान भनिने त्यो पुरानो साँप, जसले सारा संसारलाई धोका दिन्छ - त्यो पृथ्वीमाथि फ्याँकियो, र त्योसँगै त्यसका दूतहरू पनि फ्याँकिए।
10 अनि मैले स्वर्गमा यसो भन्दै गरेको एउटा ठूलो आवाज सुनें: “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्य र उहाँको ख्रीष्‍टको अधिकार आएको छ; किनकि हाम्रा दाजुभाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ, जसले दिनरात हाम्रा परमेश्‍वरको सामु उनीहरूलाई दोष लगाउँथ्यो। 11 अनि उनीहरूले त्यसलाई थुमाको रगतद्वारा र आफ्नै गवाहीको वचनद्वारा जिते; अनि मृत्युसम्म उनीहरूले आफ्ना प्राणहरूलाई प्रेम गरेनन्। 12 यसकारण हे स्वर्गहरू र तिनमा वास गर्नेहरूहो, रमाओ! पृथ्वी र समुद्रका बासिन्दाहरूलाई हाय! किनभने शैतान रिसले आगो भएर तल तिमीहरूकहाँ आएको छ, किनकि त्यससँग समय छोटो छ भनी त्यसलाई थाहै छ।”
13 अनि जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमाथि फ्याँकिएको देख्यो, तब त्यसले त्यस छोरा जन्माउने स्त्रीलाई सतायो। 14 अनि त्यस साँपको सामुन्‍नेबाट ऊ त्यस उजाड़स्थानभित्र, आफ्नो ठाउँमा उड़ेर जान सकोस् भनेर त्यस स्त्रीलाई ठूलो चीलका दुईवटा पखेटा दिइए, जहाँ एक समय, समयहरू र आधा समयका निम्ति उसको पालनपोषण हुन्छ। 15 अनि उसलाई बाढ़ीले बहाउन सकूँ भनेर त्यस साँपले आफ्नो मुखबाट त्यस स्त्रीको पछि-पछि बाढ़ीजस्तो पानी बहायो। 16 अनि पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्‍यो; अनि पृथ्वीले आफ्नो मुख खोल्यो र त्यस अजिङ्गरले आफ्नो मुखबाट बहाएको बाढ़ी निलिदियो। 17 अनि त्यो अजिङ्गर त्यस स्त्रीसँग रिसायो, अनि परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र येशू ख्रीष्‍टको गवाही कायम राख्‍ने उसका बाँकी सन्तानहरूसँग लड़ाइँ गर्न हिँड़्यो।