समुद्रबाट निस्केको पशु
13
अनि म समुद्रको बालुवामाथि उभिएँ। अनि सातवटा टाउका र दसवटा सिङ, अनि त्यसका सिङहरूमाथि दसवटा मुकुट र त्यसका टाउकाहरूमा चाहिँ निन्दापूर्ण नाम भएको एउटा पशुलाई मैले समुद्रबाट निस्कँदै गरेको देखें। 2 अनि मैले देखेको त्यो पशु चितुवाजस्तो थियो, अनि त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको मुखजस्तो थियो; अनि त्यस अजिङ्गरले त्यसलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो। 3 अनि मैले त्यसका टाउकाहरूमध्ये एउटालाई मानो मृत्यु हुने गरी चोट लागेको देखें; अनि त्यसको मृत्युसम्म पुर्याउने चोट निको भयो; र सारा संसार छक्क परेर त्यस पशुको पछि लाग्यो। 4 अनि तिनीहरूले त्यस अजिङ्गरलाई दण्डवत् गरे, जसले त्यस पशुलाई अधिकार दिएको थियो; अनि तिनीहरूले यसो भन्दै त्यस पशुलाई दण्डवत् गरे: “यो पशुजस्तो अरू को छ र? ऊसित कसले लड़ाइँ गर्न सक्छ र?” 5 अनि त्यसलाई ठूला-ठूला कुराहरू र ईश्वर-निन्दाहरू गर्ने मुख दिइयो; अनि त्यसलाई बयालीस महिनासम्म काम गर्ने अधिकार दिइयो। 6 अनि त्यसले परमेश्वरको विरोधमा निन्दा गर्न आफ्नो मुख खोल्यो – उहाँको नाम, उहाँको निवासस्थान र स्वर्गमा वास गर्नेहरूको निन्दा गर्नलाई। 7 अनि त्यसलाई पवित्र जनहरूसँग लड़ाइँ गर्ने र उनीहरूलाई जित्ने अधिकार दिइयो; अनि त्यसलाई सबै कुलहरू, भाषाहरू र जातिहरूमाथि अधिकार दिइयो। 8 अनि पृथ्वीमाथि बस्ने सबैले त्यसलाई दण्डवत् गर्नेछन् अर्थात् तिनीहरूले, जसका नामहरू संसारको उत्पत्तिदेखि मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।9 कुनै मानिसको कान छ भने त्यसले सुनोस्। 10 जसले कैदमा हाल्दछ, त्यो कैदमा जानेछ; जसले तरवारले मार्छ, त्यो तरवारले मारिनुपर्छ। पवित्र जनहरूको धीरज र विश्वास यहाँ छ।
पृथ्वीबाट निस्केको अर्को पशु
11 अनि मैले अर्को पशुलाई पृथ्वीबाट निस्कँदै गरेको देखें; अनि भेड़ाको पाठोजस्तो त्यसका दुईवटा सिङ थिए, अनि त्यो अजिङ्गरजस्तो बोल्थ्यो। 12 अनि त्यसले पहिलो पशुको सारा अधिकार त्यसको सामु चलाउँछ, अनि पृथ्वी र त्यसमाथि बस्नेहरूलाई पहिलो पशुलाई दण्डवत् गर्न लाउँछ, जसको मृत्युसम्म पुर्याउने चोट निको भएको थियो। 13 अनि त्यसले ठूला-ठूला चिन्हहरू देखाउँछ, यहाँसम्म कि त्यसले मानिसहरूकै सामु आकाशबाट पृथ्वीमाथि आगो झार्छ, 14 र पृथ्वीमाथि बस्नेहरूलाई ‘जुन पशुलाई तरवारको चोट लागेको थियो र जुनचाहिँ बाँच्यो, त्यस पशुको मूर्ति बनाओ!’ भन्दै त्यसले त्यस पशुको सामु देखाउन भनी त्यसलाई दिइएका चिन्हहरूद्वारा पृथ्वीमाथि बस्नेहरूलाई धोका दिन्छ। 15 अनि त्यस पशुको मूर्तिले बोलोस्, साथै त्यस पशुको मूर्तिलाई पूजा नगर्नेहरू सबैलाई मारिने गराओस् भनेर त्यसलाई त्यस पशुको मूर्तिमा सास हाल्ने अधिकार दिइयो। 16 अनि त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र कमाराहरू सबैलाई तिनीहरूको दाहिने हातमा अथवा तिनीहरूका निधारहरूमा एउटा निशानक लिन लगाउँछ, 17 अनि जससँग त्यो निशान, त्यस पशुको नामको संख्या छ, योबाहेक अरू कसैले पनि किन्न वा बेच्न नपाउने गराउँछ। 18 बुद्धि यहाँ छ। जससँग समझ छ, उसले त्यस पशुको संख्याको हिसाब निकालोस्; किनकि यो एकजना मानिसको संख्या हो; अनि त्यसको संख्याचाहिँ छ सय छयसट्ठी हो।