थुमा र ती एक लाख चवालीस हजार दाम तिरेर छुटाइएकाहरू
14
अनि मैले हेरें; अनि हेर, थुमा सियोन पर्वतमाथि उभिरहनुभएको रहेछ, अनि उहाँको साथमा उनीहरूका निधारहरूमा उहाँको पिताको नाम लेखिएका एक लाख चवालीस हजार थिए। 2 अनि मैले धेरै पानीको आवाजजस्तो र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाटको एउटा आवाज सुनें; अनि मैले आ-आफ्ना वीणा बजाइरहेका वीणा बजाउनेहरूको आवाज सुनें; 3 अनि तिनीहरूले त्यस सिंहासनको सामु, अनि ती चार जीवित प्राणीहरू र ती प्राचीनहरूको सामु मानो एउटा नयाँ गीत गाए; अनि पृथ्वीबाट किनेर छुटाइएका एक लाख चवालीस हजारले बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथियो। 4 यिनीहरू ती हुन्, जो स्त्रीहरूसित अशुद्ध भएका छैनन्; किनकि उनीहरू कन्या हुन्। थुमा जता-जता जानुहुन्छ, उहाँलाई त्यतै-त्यतै पछ्याउनेहरू यी नै हुन्। यिनीहरू मानिसहरूको बीचबाट परमेश्‍वर र थुमाका निम्ति पहिलो फलको रूपमा किनेर छुटाइएकाहरू हुन्। 5 अनि उनीहरूको मुखमा कुनै कपट पाइएन; किनकि परमेश्‍वरको सिंहासनको सामु उनीहरू दोषरहित छन्।
तीनजना स्वर्गदूतहरूका तीनवटा सन्देश
6 अनि पृथ्वीमाथि बस्‍नेहरू, र हरेक जाति, कुल, भाषा र मानिसलाई प्रचार गर्नलाई अनन्त सुसमाचार साथमा भएका अर्को एकजना स्वर्गदूतलाई मैले आकाशको बीचमा ठूलो सोरले यसो भन्दै उड़िरहेको देखें: 7 “परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घड़ी आएको छ; अनि उहाँ जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुहानहरू सृष्‍टि गर्नुभयो, उहाँलाई दण्‍डवत्‌ गर!”
8 अनि अर्को एकजना स्वर्गदूतले यसो भन्दै पछ्याए: “ढल्यो, त्यो ठूलो शहर बेबिलोन ढल्यो; किनभने त्यसले आफ्नो व्यभिचाररूपी क्रोधको मद्यबाट सबै जातिहरूलाई पिउन लगायो।”
9 अनि तेस्रो स्वर्गदूतले ठूलो सोरले यसो भन्दै तिनीहरूलाई पछ्याए: “यदि कुनै मानिसले त्यस पशुलाई र त्यसको मूर्तिको पूजा गर्छ र आफ्नो निधारमा वा आफ्नो हातमा त्यसको निशान लिन्छ भने, 10 त्यसैले परमेश्‍वरको क्रोधको मद्यबाट पिउनेछ, जुन मद्यचाहिँ उहाँको क्रोधको कचौरामा पन्यालो नपारीकन खन्याइएको छ; अनि पवित्र स्वर्गदूतहरूको सामु र थुमाको सामु त्यो आगो र गन्धकद्वारा पीड़ित पारिनेछ; 11 अनि तिनीहरूको पीड़ाको धूवाँ सदा-सर्वदा उँभोतिर उठिरहनेछ; अनि जसले त्यस पशुलाई र त्यसको मूर्तिको पूजा गर्छन् र जसकसैले त्यसको नामको निशान लिन्छ, तिनीहरूले दिनरात विश्राम पाउनेछैनन्।”
12 पवित्र जनहरूको धीरज यहाँ छ; परमेश्‍वरका आज्ञाहरू र येशूको विश्‍वास पालन गर्नेहरू यहाँ छन्। 13 अनि मैले स्वर्गबाट मलाई यसो भनिरहेको एउटा वाणी सुनें: “लेख! ती मरेकाहरू धन्य हुन्, जो अबदेखि उसो प्रभुमा मर्छन्;” आत्मा भन्‍नुहुन्‍छ: “अँ, र उनीहरूले आफ्ना परिश्रमहरूबाट विश्राम पाऊन्; अनि उनीहरूका कामहरू उनीहरूको पछि लाग्छन्।”
पृथ्वीका दुईवटा कटनीहरू
14 अनि मैले हेरें; अनि हेर, एउटा सेतो बादल!अनि त्यस बादलमाथि मानिसका पुत्रजस्तै एकजना बसिरहनुभएको थियो, जसको शिरमाथि एउटा सुनको मुकुट र जसको हातमा एउटा लाग्‍ने हँसिया थियो। 15 अनि अर्को एकजना स्वर्गदूत त्यस बादलमाथि बस्‍नुहुनेलाई ठूलो सोरले कराउँदै मन्दिरबाट बाहिर आए: “आफ्नो हँसिया चलाउनुहोस् र कटनी गर्नुहोस्; किनकि तपाईंका निम्ति कटनी गर्ने समय आएको छ; किनकि पृथ्वीको फसल पाकिसकेको छ।” 16 अनि त्यस बादलमाथि बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीको कटनी भयो।
17 अनि अर्को एकजना स्वर्गदूत स्वर्गमा भएको त्यस मन्दिरबाट बाहिर आए, उनको साथमा पनि एउटा लाग्‍ने हँसिया थियो। 18 अनि आगोमाथि अधिकार भएको अर्को एकजना स्वर्गदूत वेदीबाट बाहिर आए, र जससँग त्‍यो लाग्‍ने हँसिया थियो, उनलाई ठूलो सोरले यसो भन्दै कराए: “आफ्नो लाग्‍ने हँसिया चलाऊ, र पृथ्वीका अङ्‍गुरका झुप्पाहरू जम्मा पार; किनकि त्यसका अङ्‍गुरहरू पूरै पाकिसकेका छन्।” 19 अनि ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीको अङ्‍गुर जम्मा पारे, अनि त्यसलाई परमेश्‍वरको क्रोधको ठूलो अङ्‍गुर पेल्ने कोलभित्र हाले। 20 अनि शहरदेखि बाहिर त्यो अङ्‍गुर पेल्ने कोल कुल्चीमिल्ची गरियो, र त्यस कोलबाट घोड़ाहरूका लगाम-लगामसम्म पुग्‍ने गरी दुई सय माइलसम्म रगत निस्क्यो।