अन्तिम सातवटा महामारीहरू
15
अनि मैले स्वर्गमा अर्को एउटा ठूलो र अचम्मको चिन्ह अर्थात् आखिरी सात महामारीहरू भएका सातजना स्वर्गदूतहरूलाई देखें; किनकि तिनैमा परमेश्वरको क्रोध पूरा हुन्छ। 2 अनि मैले मानो आगोसँग मिसिएको काँचको समुद्र देखें; अनि त्यस पशुमाथि, त्यसको मूर्ति, त्यसको निशान र त्यसको नामको संख्यामाथि विजय पाउनेहरूलाई परमेश्वरका वीणाहरू लिएर त्यस काँचको समुद्रमाथि उभिरहेका देखें। 3 अनि उनीहरूले यसो भन्दै परमेश्वरका दास मोशाको गीत र थुमाको गीत गाउँछन्: “हे परमप्रभु* सर्वशक्तिमान् परमेश्वर, तपाईंका कामहरू महान् र अद्भूत छन्; हे पवित्र जनहरूका राजा, तपाईंका बाटाहरू धर्ममय र सत्य छन्। 4 हे प्रभु, कसले तपाईंको डर मान्नेछैन र? र कसले तपाईंको नामलाई महिमा दिनेछैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ; किनकि सबै जातिहरू आउनेछन्, र तिनीहरूले तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका न्यायका कामहरू प्रकट भएका छन्।”5 अनि त्यसपछि मैले हेरें; अनि हेर, स्वर्गमा साक्षीको निवासस्थानको मन्दिर खोलियो; 6 अनि चोखो र चम्किलो मलमलका वस्त्र पहिरेका र छातीहरूमा सुनका पेटीहरू बाँधेका, सातजना स्वर्गदूतहरू मन्दिरबाट बाहिर आए, अनि जससँग ती सातवटा महामारी थिए। 7 अनि ती चार जीवित प्राणीहरूमध्ये एउटाले ती सातजना स्वर्गदूतहरूलाई सदा-सर्वदा जिउनुहुने परमेश्वरको क्रोधले भरिएका सुनका सातवटा कचौराहरू दियो। 8 अनि परमेश्वरको महिमा र उहाँको सामर्थ्यबाटको धूवाँले त्यो मन्दिर भरियो; अनि ती सातजना स्वर्गदूतहरूका सात महामारीहरू पूरा नहोउन्जेल कोही पनि त्यस मन्दिरभित्र पस्न सकेन।