परमेश्वरको क्रोधरूपी सातवटा कचौरा
16
अनि ती सातजना स्वर्गदूतहरूलाई त्यस मन्दिरबाट यसो भन्दै गरेको एउटा ठूलो आवाज मैले सुनें: “जाओ, र परमेश्वरको क्रोधका यी कचौराहरू पृथ्वीमाथि खन्याओ!” 2 अनि पहिलोचाहिँ गए, र उनले पृथ्वीमाथि आफ्नो कचौरा खन्याए; अनि त्यस पशुको निशान लिने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूमा खराब र कष्टपूर्ण घाउखटिरा निस्क्यो।3 अनि दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमाथि खन्याए, र त्यो मरेको मानिसको रगतजस्तै भयो; अनि समुद्रमा हरेक जिउँदो प्राणी मर्यो।
4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू र पानीका मुहानहरूमाथि खन्याए; अनि ती रगत भए। 5 अनि मैले पानीहरूका स्वर्गदूतलाई यसो भनिरहेका सुनें: “तपाईं धर्मी हुनुहुन्छ, हे प्रभु, तपाईं जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनुहुनेछ; किनभने तपाईंले यसरी न्याय गर्नुभएको छ। 6 किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्ताहरूको रगत बहाएका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; किनकि तिनीहरू यसका योग्य छन्।” 7 अनि मैले अर्को एकजनालाई वेदीबाट यसो भनिरहेका सुने: “साँचो हो, परमप्रभु* सर्वशक्तिमान् परमेश्वर, तपाईंका न्यायहरू साँचा र धर्ममय छन्।”
8 अनि चौथो स्वर्गदूतले आफ्नो कचौरा घाममाथि खन्याए; अनि मानिसहरूलाई आगोले खहर्याउने अधिकार उनलाई दिइयो। 9 अनि प्रचण्ड रापले गर्दा मानिसहरू खहरिए, अनि तिनीहरूले यी महामारीहरूमाथि अधिकार राख्नुहुने परमेश्वरको नामको निन्दा गरे; अनि उहाँलाई महिमा दिन तिनीहरूले पश्चात्ताप गरेनन्।
10 अनि पाँचौं स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमाथि खन्याए; अनि त्यसको राज्य अँध्यारो भयो; अनि तिनीहरूले पीड़ाले गर्दा आफ्ना जिब्राहरू चपाए; 11 अनि तिनीहरूले आफ्ना पीड़ाहरू र घाउखटिराहरूले गर्दा स्वर्गका परमेश्वरको निन्दा गरे, तर तिनीहरूले आफ्ना कामहरूबाट पश्चात्ताप गरेनन्।
12 अनि छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; अनि पूर्वका राजाहरूको बाटो तयार होस् भनेर त्यसको पानी सुकिगयो। 13 अनि मैले त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा भविष्यवक्ताको मुखबाट निस्केका, भ्यागुताहरूजस्ता तीनवटा अशुद्ध आत्माहरूलाई देखें। 14 किनकि ती दुष्ट आत्माहरूका आत्मा हुन्, जसले चिन्हहरू देखाउछन्, जो सर्वशक्तिमान् परमेश्वरको त्यस महान् दिनको लड़ाइँमा तिनीहरूलाई भेला पार्न पृथ्वीका र सारा संसारका राजाहरूकहाँ निस्केर जान्छन्।
15 “हेर, म चोरझैं आउँछु। आफू नाङ्गो हिँड़्नु नपरोस् र आफ्नो शर्म तिनीहरूले नदेखून् भनेर जो जागा रहन्छ र जसले आफ्ना लुगाहरूको रखवाली गर्छ, त्यो धन्य हो।”
16 अनि त्यसले तिनीहरूलाई हिब्रू भाषामा हारमागेड्डोनक भनिने ठाउँमा भेला पार्यो।
17 अनि सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; अनि स्वर्गको मन्दिरदेखि, त्यस सिंहासनबाट यसो भन्ने एउटा ठूलो आवाज आयो: “भइसक्यो!” 18 अनि आवाजहरू र गर्जनहरू भए, अनि बिजुलीहरू चम्के; अनि एउटा ठूलो भुइँचालो गयो, यति शक्तिशाली भुइँचालो र यति ठूलो, कि पृथ्वीमाथि मानिसहरू भएको समयदेखि यसो यस किसिमको भएको थिएन। 19 अनि त्यो ठूलो शहर तीन टुक्रा भयो, र जाति-जातिका शहरहरू ढले; अनि महान् बेबिलोनलाई उहाँको भयानक क्रोधको मद्यको कचौरा दिनका निम्ति परमेश्वरको सामु त्यसको सम्झना भयो। 20 अनि हरेक टापु भाग्यो, र पहाड़हरू पाइएनन्। 21 अनि प्राय: मन-मनख तौल भएका ठूला-ठूला असिना आकाशबाट मानिसहरूमाथि खसे; अनि त्यस असिनाको महामारीले गर्दा मानिसहरूले परमेश्वरको निन्दा गरे; किनकि त्यो महामारी ज्यादै ठूलो थियो।