सिन्दुरे रङ्गको पशु र त्यसमाथि बसेकी त्यो स्त्री
17
अनि ती सातवटा कचौरा भएका सातजना स्वर्गदूतहरूमध्ये एकजना आए, र उनले मलाई यसो भन्दै मसँग कुरा गरे: “यहाँ आऊ! म तिमीलाई धेरै पानीहरूमाथि बस्ने त्यस महावेश्यामाथिको न्याय देखाउनेछु, 2 जससँग पृथ्वीका राजाहरूले व्यभिचार गरे र जसको व्यभिचारको मद्यले पृथ्वीमाथि बस्नेहरू मत्त भए।”3 तब उनले मलाई आत्मामा एउटा उजाड़स्थानमा लगे; अनि निन्दाका नामहरूले भरिएको, सातवटा टाउका र दसवटा सिङ भएको एउटा सिन्दुरे रङ्गको पशुमाथि मैले एउटी स्त्रीलाई बसिरहेकी देखें। 4 अनि त्यो स्त्री बैजनी र सिन्दुरे रङ्गको वस्त्र पहिरेकी अनि सुन, रत्नहरू र मोतीहरूले सिँगारिएकी थिई, त्यसको हातमा घिनलाग्दा कुराहरूले र त्यसको व्यभिचारको अशुद्धताले भरिएको एउटा सुनको कचौरा थियो; 5 अनि त्यसको निधारमा एउटा नाम लेखिएको थियो:
‘रहस्य, महान् बेबिलोन, वेश्याहरू र पृथ्वीका घिनलाग्दा कुराहरूकी आमा।’
6 अनि मैले त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र येशूका शहीदहरूकोक रगतले मत्त भएकी देखें; अनि जब मैले त्यसलाई देखें, तब मलाई साह्रै अचम्म लाग्यो। 7 अनि ती स्वर्गदूतले मलाई भने: “तिमीलाई किन अचम्म लाग्यो? म तिमीलाई त्यस स्त्रीको र त्यसलाई बोकेर हिँड़्ने त्यस पशुको रहस्य बताउनेछु, जसका सातवटा टाउका र दसवटा सिङ छन्। 8 तिमीले देखेको त्यो पशु थियो, र छैन; अनि अथाह कुण्डबाट त्यो माथि आउने लागेको छ, र विनाशमा जानेछ। अनि जब पृथ्वीमाथि बस्नेहरूले, जसका नामहरू संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, त्यस पशुलाई हेर्दछन्, जो थियो, र जो छैन, तापनि जो छँदैछ, तब तिनीहरूले अचम्म मान्नेछन्।
9 अनि बुद्धि भएको मन यहाँ छ। ती सात टाउकाहरू सात पहाड़हरू हुन्, जसमाथि त्यो स्त्री बस्छे। 10 अनि सात राजाहरू छन्; पाँच खसिसके, अनि एकजनाचाहिँ छन्, अर्कोचाहिँ अझैंसम्म आएका छैनन्; अनि जब तिनी आउँछन्, तब तिनी केही समयका लागि रहनैपर्छ। 11 अनि त्यो पशु, जो थियो, र जो छैन, त्योचाहिँ आठौं हो, अनि सातजनाबाटको हो, र विनाशमा जान्छ। 12 अनि तिमीले देखेका ती दस सिङहरूचाहिँ दस राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्; तर यिनीहरूले त्यस पशुको साथमा एक घण्टाका लागि राजाहरूजस्तै अधिकार पाउँछन्। 13 यिनीहरूको एउटै मन हुन्छ; अनि यिनीहरूले आफ्ना सामर्थ्य र अधिकार त्यस पशुलाई दिनेछन्। 14 यिनीहरूले थुमासँग लड़ाइँ गर्नेछन्, अनि थुमाले यिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका परमप्रभु* र राजाहरूका महाराजा हुनुहुन्छ; अनि उनीहरू जो उहाँको साथमा छन्, उनीहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्यहरू हुन्।”
15 अनि उनले मलाई भन्छन्: “जुन पानीहरू तिमीले देख्यौ, जहाँ त्यो वेश्या बस्छे, ती पानीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्। 16 अनि जुन दसवटा सिङ तिमीले त्यस पशुमाथि देख्यौ, ती सिङहरूले त्यस वेश्यालाई घृणा गर्नेछन्, त्यसलाई उजाड़ र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन् र त्यसलाई आगोले जलाउनेछन्। 17 किनकि परमेश्वरले तिनीहरूका हृदयहरूमा उहाँको इच्छा पूरा गर्ने, र परमेश्वरका वचनहरू पूरा नहोउन्जेल एक मनको हुने र आफ्नो राज्य त्यस पशुलाई दिने मन हालिदिनुभएको छ। 18 अनि तिमीले देखेको त्यो स्त्रीचाहिँ त्यो महान् शहर हो, जसले पृथ्वीका राजाहरूमाथि राज्य गर्छ।”