महान् शहर बेबिलोनको पतन
18
अनि यी कुराहरूपछि मैले ठूलो अधिकार भएका अर्को एकजना स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखें; अनि उनको महिमाले पृथ्वी झलमल्ल भयो। 2 अनि उनी ठूलो सोरले यसो भन्दै शक्तिसाथ कराए: “महान् बेबिलोन ढल्यो, ढल्यो! र दुष्ट आत्माहरूको वासस्थान, हरेक अशुद्ध आत्माको कैदखाना अनि हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएको छ! 3 किनकि त्यसको व्यभिचारको क्रोधको मद्यबाट सबै जातिहरूले पिएका छन्, अनि पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसका सुखविलासको परिपूर्णताद्वारा धनवान् भएका छन्।4 अनि मैले स्वर्गबाट यसो भन्दै गरेको अर्को एउटा वाणी सुने: “हे मेरा जनहरूहो, त्यसबाट निस्केर आओ, र तिमीहरूले त्यसका पापहरूमा सहभागी हुनु नपरोस्, र त्यसका महामारीहरूबाट तिमीहरूले पाउनु नपरोस्। 5 किनकि त्यसका पापहरू स्वर्गसम्म पुगेका छन्, र परमेश्वरले त्यसका अधर्महरूको सम्झना गर्नुभएको छ। 6 जस्तो त्यसले तिमीहरूलाई दिएकी छे, त्यस्तै त्यसलाई फिर्ता देओ! त्यसका कामहरूअनुसार त्यसलाई दोबर गरेर देओ! जुन कचौरामा त्यसले भरेकी छे, त्यस कचौरामा त्यसका निम्ति दोबर गरेर भरिदेओ! 7 जत्ति त्यसले आफ्नो बढ़ाइँ गरेकी छे र सुखविलासमा बसेकी छे, त्यत्ति नै त्यसलाई पीड़ा र शोक देओ; किनकि त्यसले आफ्नो हृदयमा भन्छ, ‘म रानी भई बस्छु, म विधवा होइनँ, र म कुनै हालतमा शोक देख्नेछैनँ।’ 8 यसकारण एकै दिनमा त्यसका महामारीहरू आउनेछन् : मृत्यु, शोक र अनिकाल; अनि त्यो पूरा रूपले आगोले जलाइनेछ, किनकि त्यसलाई न्याय गर्नुहुने प्रभु* परमेश्वर सामर्थी हुनुहुन्छ। 9 अनि त्यससँग व्यभिचार गर्ने र सुखविलासमा बस्ने पृथ्वीका राजाहरूले जब त्यसको जल्दै गरेको धूवाँ देख्नेछन्, तब त्यसको पीड़ाको डरले तिनीहरू टाढ़ैमा उभिएर यसो भन्दै त्यसका लागि रुनेछन् र त्यसका लागि विलाप गर्नेछन्: 10 ‘हाय, हाय! महान् शहर बेबिलोन, तँ शक्तिशाली शहर; किनकि एकै घण्टामा तेरो न्याय आयो!’ 11 अनि पृथ्वीका व्यापारीहरू त्यसका लागि रुनेछन् र विलाप गर्नेछन्; किनकि अबदेखि उसो कसैले पनि तिनीहरूको व्यापारको मालसामान किन्दैन; 12 सुन, चाँदी, रत्नहरू, मोतीहरू, अनि मिहिन मलमल, बैजनी कपड़ा, रेशम, सिन्दुरे कपड़ा, अनि सबै सुगन्धित काठ र हात्तीका दाँतका हर किसिमको बर्तन, बहुमूल्य काठ, अनि पित्तल, फलाम, सङ्गमर्मरका हर किसिमको बर्तन, 13 अनि दालचिनी, धूप, सुगन्धित तेल, लोबान, अनि मद्य, तेल, मैदा, गहुँ, अनि गाईबस्तु, भेड़ाहरू, घोड़ाहरू, रथहरू, अनि दासहरू र मानिसका प्राणहरूजस्ता मालसामानहरू।
14 ‘तेरो प्राणले लालसा गरेका फलहरू तँबाट गएका छन्, अनि सबै स्वादिला र चम्किला कुराहरू तँबाट गएका छन्, र तैंले तिनलाई फेरी कहिल्यै कुनै रीतिले पाउनेछैनस्।’
15 त्योद्वारा धनवान् भएका यी कुराहरूका व्यापारीहरू त्यसको पीड़ाको डरले रुँदै, विलाप गर्दै र यसो भन्दै टाढ़ैमा उभिनेछन्: 16 ‘हाय, हाय! मिहिन मलमल, बैजनी र सिन्दुरे कपड़ा पहिरेको, अनि सुन, रत्नहरू र मोतीहरूले सिँगारिएको यो महान् शहर; 17 किनकि एकै घण्टामा यति धेरै धनसम्पत्ति उजाड़ भयो।' अनि हरेक जहाजचालक, जहाजहरूका सबै यात्रीहरू, नाविकहरू र समुद्रमा व्यवसाय गर्नेहरूजति टाढ़ैमा उभिए, 18 अनि जब तिनीहरूले त्यसको जल्दै गरेको धूवाँ देखे, तब तिनीहरू यसो भन्दै कराए: ‘यो महान् शहरजस्तो त अरू कुन शहर छ र?’ 19 अनि तिनीहरूले आ-आफ्ना टाउकामा धूलो हाले, अनि रुँदै र विलाप गर्दै यसो भन्दै कराए: ‘हाय, हाय! यो महान् शहर, जसको धनद्वारा समुद्रमा जहाज हुनेहरू सबै धनवान् पारिएका थिए; किनकि एकै घण्टामा यो उजाड़ पारियो।’
20 हे स्वर्ग, हे पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूहो, त्यसको विषयमा आनन्द मनाओ; किनभने परमेश्वरले त्यसमाथि तिमीहरूको न्याय गर्नुभएको छ!”
21 अनि एकजना शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यो समुद्रभित्र फ्याँके: “यसरी नै जोड़सित त्यो महान् शहर बेबिलोन तल फ्याँकिनेछ, र फेरि कहिल्यै पाइनेछैन। 22 अनि तँमा फेरि वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूको आवाज कहिल्यै सुनिनेछैन; अनि कुनै पनि कलाको कुनै कलाकार तँमा फेरि कहिल्यै पाइनेछैन; अनि जाँतोको आवाज पनि तँमा फेरि कहिल्यै सुनिनेछैन। 23 अनि बत्तीको उज्यालो पनि तँमा फेरि कहिल्यै चम्कनेछैन; अनि दुलहा र दुलहीको आवाज पनि तँमा फेरि कहिल्यै सुनिनेछैन; किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला मानिसहरू थिए; किनभने तेरा टुनामुनाद्वारा सबै जातिहरू धोकामा परेका थिए। 24 अनि त्यसमा भविष्यवक्ताहरू र पवित्र जनहरूको, साथै पृथ्वीमाथि मारिएकाहरू सबैको रगत पाइयो।”