परमेश्‍वरको पुत्र ख्रीष्‍ट येशूमा अनन्त जीवन छ
5
हरेक जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, ऊ परमेश्‍वरबाट जन्मेको हो; अनि हरेक जसले जन्माउनुहुनेलाई प्रेम गर्छ, उसले त्यसलाई पनि प्रेम गर्छ, जो उहाँबाट जन्मेको छ। 2 जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट हामी परमेश्‍वरका सन्तानलाई प्रेम गर्छौं भन्‍ने कुरा जान्‍दछौं। 3 किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको प्रेम हो; अनि उहाँका आज्ञाहरू कष्‍टपूर्ण छैनन्। 4 किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि जय प्राप्‍त गर्छ; अनि हाम्रो विश्‍वास नै यो विजय हो, जसले संसारमाथि जय प्राप्‍त गर्छ। 5 येशू नै परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि जय प्राप्‍त गर्ने अरू को हो त?
6 यहाँ उहाँ हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो अर्थात्‌ येशू ख्रीष्‍ट; पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा नै। अनि गवाही दिनुहुने आत्मा हुनुहुन्छ, किनभने आत्मा सत्य हुनुहुन्छ। 7 किनकि स्वर्गमा गवाही दिनुहुने तीनजना हुनुहुन्छ: पिता, वचन र पवित्र आत्मा; अनि यी तीनजना एकै हुनुहुन्छ। 8 अनि पृथ्वीमाथि गवाही दिने तीनजना छन्: आत्मा, पानी र रगत; अनि यी तीनैजना एउटै कुरामा सहमत हुन्छन्। 9 हामी मानिसहरूको गवाही ग्रहण गर्छौं भने परमेश्‍वरको गवाही त झन् ठूलो हो; किनकि परमेश्‍वरको गवाही यही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। 10 जसले परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्छ, उसँग आफैभित्र त्यो गवाही हुन्‍छ; जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूट तुल्याएको छ; किनभने त्यसले परमेश्‍वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाही विश्‍वास गरेको छैन। 11 अनि गवाही यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। 12 जससँग पुत्र हुनुहुन्छ, ऊसित जीवन छ; जससँग परमेश्‍वरको पुत्र हुनुहुन्‍न, ऊसित जीवन छैन।
13 मैले तिमीहरूलाई अर्थात्‌ परमेश्‍वरको पुत्रको नाममाथि विश्‍वास गर्नेहरूलाई यी कुराहरू यस हेतुले लेखेको छु, कि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने कुरा तिमीहरूलाई थाहा होस्, र परमेश्‍वरको पुत्रको नाममाथि तिमीहरूले विश्‍वास गर्दै गर! 14 उहाँमा हाम्रो जुन निर्धक्‍कता छ, त्यो निर्धक्‍कता यही हो: उहाँको इच्छाअनुसार हामीले केही कुरा माग्यौं भने उहाँले हाम्रो विन्‍ती सुन्‍नुहुन्छ; 15 अनि हामीले जुनसुकै कुरा मागे तापनि उहाँले हाम्रो विन्‍ती सुन्‍नुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँबाट जे कुरा माग्‍यौं, ती मागहरू पनि पाएका छौं भनी हामी जान्दछौं।
16 यदि कसैले आफ्नो भाइलाई मृत्युसम्म नपुर्‍याउने पाप गरेको देख्यो भने उसले मागोस्, र उहाँले उसलाई ती मृत्युसम्म नपुर्‍याउने पाप गर्नेहरूका निम्ति जीवन दिनुहुनेछ। मृत्युसम्म पुर्‍याउने पाप हुन्छ; यसका निम्ति उसले प्रार्थना गरोस् भनी म भन्दिनँ। 17 सबै अधर्म पाप हो, तर मृत्युसम्म नपुर्‍याउने पाप पनि हुन्छ।
18 हामी जान्‍दछौं: हरेक जो परमेश्‍वरबाट जन्मेको छ, उसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्मेको छ, उसले आफूलाई जोगाइराख्छ, र त्यस दुष्‍टले उसलाई छुँदैन। 19 अनि हामी जान्दछौं, हामी परमेश्‍वरबाटका हौं, र सारा संसार त्यस दुष्‍टको वशमा परेको छ।
20 अनि हामी जान्दछौं: परमेश्‍वरको पुत्र आउनुभएको हो, र हामी उहाँलाई, जो सत्य हुनुहुन्छ, चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझशक्ति दिनुभएको छ; अनि हामी उहाँमा छौं, जो सत्य हुनुहुन्छ, अर्थात्‌ उहाँको पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ।
21 हे साना नानीहरूहो, आफूलाई मूर्तिहरूबाट जोगाइराख! आमेन।