पत्रुसको दोस्रो पत्र
1
येशू ख्रीष्‍टको दास र प्रेरित शिमोन पत्रुसबाट उनीहरूलाई, जसले हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकताद्वारा हामीसित हाम्रै जस्तो बहुमूल्य विश्‍वास प्राप्‍त गरेका छन्: 2 तिमीहरूलाई परमेश्‍वर र हाम्रा प्रभु येशूको पहिचानमा अनुग्रह र शान्ति प्रशस्त होऊन्;
आफ्नो बोलावट पक्‍का गर्ने प्रयत्‍न गर!
3 उहाँको त्यस ईश्‍वरीय शक्तिअनुसार, जुन शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्‍ने सबै कुराहरू उहाँकै पहिचानद्वारा दिएको हो, जसले हामीलाई महिमा र सद्‍गुणद्वारा बोलाउनुभयो; 4 जसद्वारा हामीलाई अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरू दिइएका छन्, यसैले कि यी प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावका भागीदारहरू होओ।
5 अनि यही कारणले पनि तिमीहरूले सारा यत्‍न गरेर आफ्नो विश्‍वासमाथि सद्‍गुण, सद्‍गुणमाथि ज्ञान, 6 अनि ज्ञानमाथि संयम, संयममाथि धीरज, धीरजमाथि भक्ति, 7 अनि भक्तिमाथि भाइ-भाइको माया र भाइ-भाइको मायामाथि प्रेम थप! 8 किनकि यी कुराहरू तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको पहिचानमा बेकम्मा र निष्फल नहुने तुल्याउँछन्। 9 तर जससँग यी कुराहरू छैनन्, ऊ अन्धा हो, र उसले टाढ़ा देख्‍न सक्दैन, र आफ्ना पहिलेका पापहरूबाट शुद्ध पारिएको कुरा बिर्सेको छ।
10 यसकारण भाइहरूहो, आफ्नो बोलावट र चुनाउ पक्‍का गर्न बढ़ी प्रयत्‍न गर; किनकि तिमीहरूले यी कुराहरू गर्‍यौ भने तिमीहरूले कहिल्यै ठेस खानेछैनौ; 11 किनकि यसरी नै तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यभित्र प्रशस्त गरी प्रवेश पाउनेछौं।
हामीसँग विश्‍वासयोग्य र दृढ़ भविष्यवाणीको वचन छ
12 यसैकारण यी कुराहरूको विषयमा तिमीहरूलाई सधैं सम्झना गराउन म लापरवाह हुनेछैनँ; हुन त तिमीहरू यी कुराहरू जान्दछौ र हालको सत्यतामा स्थिर छौ। 13 हो, जबसम्म म यस डेरामा रहुँला, तबसम्म तिमीहरूलाई सम्झना गराई-गराईकन तिमीहरूलाई उत्तेजित गराउन म उचित सम्झन्छु; 14 किनकि म जान्दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाउनुभएअनुसार मेरो डेरा उठाइने बेला चाँड़ै आइरहेको छ; 15 साथै मेरो मृत्युपछि तिमीहरूले यी कुराहरू सधैंभरि सम्झनामा राख्‍न सक भनी म प्रयत्‍न गर्नेछु।
16 किनकि जब हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रताप र आगमनको विषयमा बतायौं, तब हामीले चतुर्‍याइँसित कथिएका दन्त्यकथाहरूको अनुसरण गरेनौं, तर हामीले उहाँको प्रताप आफ्नै आँखाले देखेका थियौं। 17 किनकि जब प्रतापमय महिमाबाट ‘यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रसन्‍न छु’ भन्‍ने वाणी उहाँकहाँ आयो, तब उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा पाउनुभयो। 18 अनि त्यस पवित्र पहाड़मा उहाँसँग हुँदाखेरि हामीले स्वर्गबाट आएको त्यो वाणी सुन्यौं। 19 अनि हामीसँग भविष्यवाणीको अझ पक्‍का वचन छँदैछ, जुन वचनमा दिनको उज्यालो नखसुन्जेल र तिमीहरूका हृदयहरूमा बिहानको तारा नउदाउन्जेल तिमीहरूले अँध्यारो ठाउँमा चम्किने ज्योतिमा झैं ध्यान दिएर असल गर्दछौ; 20 र पहिले यो जान, कि पवित्रशास्त्रको कुनै पनि भविष्यवाणी आफ्नो निजी व्याख्याबाट भएको होइन; 21 किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्‍वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले।