पत्रुसको पहिलो पत्र
1
येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कप्पाडोसिया, एशिया र बिथिनियामा तितरबितर भएका परदेशीहरूलाई, 2 परमेश्‍वर पिताको पूर्व- ज्ञानअनुसार, आत्माद्वारा पवित्र गरिएर आज्ञाकारिता र येशू ख्रीष्‍टको रगतको छिट्काउका निम्ति तिमी चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त होऊन्!
जिउँदो आशा
3 हाम्रा प्रभु येशू ख्रीष्‍टको परमेश्‍वर र पिता धन्य होऊन्, जसले आफ्नो ठूलो दयाअनुसार येशू ख्रीष्‍टको मरेकाहरूबाटको बौरिउठाइद्वारा हामीलाई एउटा जिउँदो आशाका निम्ति नयाँ गरी जन्माउनुभएको छ, 4 एउटा अविनाशी, निष्कलङ्क र ओइलिएर नजाने पैतृक-सम्पत्तिका निम्ति, जुनचाहिँ तिमीहरूका निम्ति स्वर्गमा सुरक्षित राखिएको छ – 5 तिमीहरूका निम्ति, जो अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्‍वरको शक्तिले विश्‍वासद्वारा सुरक्षित छौ।
6 अहिले केही समयका निम्ति, खाँचो परिगयो भने, तिमीहरू नाना प्रकारका परीक्षाहरूद्वारा दुःखित हुन्छौ, तापनि यस मुक्तिमा तिमीहरू खूबै आनन्द मनाउँछौ; 7 र तिमीहरूको विश्‍वासको यो जाँचचाहिँ, जुन जाँच आगोद्वारा जाँचिएको नाशवान् सुनभन्दा पनि धेरै बढ़ी मूल्यवान् हुन्‍छ, येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, आदर र महिमाको कारण ठहरियोस्; 8 उहाँलाई नदेखीकन तिमीहरू प्रेम गर्दछौ; अहिले उहाँलाई नदेखे तापनि विश्‍वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खूबै आनन्द मनाउँछौ, 9 र तिमीहरूको विश्‍वासको परिणाम अर्थात्‌ तिमीहरूका प्राणहरूको मुक्ति प्राप्‍त गर्दछौ।
10 जुन मुक्तिको विषयमा भविष्यवक्ताहरूले सोधपुछ गरे र यत्‍नसित खोजतलास गरे, जसले तिमीहरूकहाँ आउने अनुग्रहको विषयमा भविष्यवाणी गरे। 11 अनि जब उनीहरूभित्र हुनुहुने ख्रीष्‍टको आत्माले ख्रीष्‍टका दु:खहरू र त्यसपछि आउने महिमाको विषयमा पहिल्यै गवाही दिनुभयो, तब आत्माले कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो, सो सम्‍बन्‍धमा उनीहरूले खोजतलास गरे। 12 यी कुराहरूको सेवा उनीहरूले आफ्ना निम्ति होइन, तर हाम्रा निम्ति गरिरहेका थिए भन्‍ने कुरा उनीहरूकहाँ प्रकट भएको थियो; जुन कुराहरूको समाचार अहिले तिमीहरूलाई तिनीहरूद्वारा दिइयो, जसले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गरेका छन्, जुन कुराहरूभित्र स्वर्गदूतहरू पनि ध्यानसित हेर्न चाहन्छन्।
ख्रीष्‍ट-विश्‍वासीहरू पवित्रताका निम्‍ति बोलावट पाएका हुन्
13 यसकारण आ-आफ्ना मनको कम्मर कस, सचेत रहो र त्यस अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइनेछ; 14 आज्ञाकारी छोराछोरीहरूले जस्तो आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरूअनुसारको नबनाओ, 15 तर जसरी तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सारा चालचलनमा पवित्र होओ! 16 किनकि यो लेखिएको छ:
‘तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।’
17 अनि उहाँ जसले हरेक मानिसको कामअनुसार मुख नहेरीकन न्याय गर्नुहुन्छ, उहाँलाई तिमीहरू ‘हे पिता’ भनी पुकार्छौ भने आफ्नो परदेशी भएको समय डरसित बिताओ; 18 किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुनजस्ता नाश हुने चीजहरूद्वारा छुटकारा पाएका होइनौ, 19 तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात्‌ ख्रीष्‍टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ; 20 उहाँ साँच्‍चै संसारको उत्पत्तिभन्दा पहिल्यै ठहरिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभयो। 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, जसले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो र उहाँलाई महिमा दिनुभयो, यस हेतुले कि तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमाथि रहून्।
22 भाइहरूलाई निष्कपट प्रेम गर्ने उद्देश्‍‍यले तिमीहरूले आत्माद्वारा सत्यता पालन गरेर आफ्ना मनहरू शुद्ध पारेका हौ; यसैकारण एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गर; 23 किनकि नाश हुने बीउबाट होइन, तर नाश नहुने बीउबाट परमेश्‍वरको जिउँदो र सधैंभरि रहिरहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ। 24 किनकि,
‘सबै प्राणी घाँसजस्तै हो, र मानिसको सबै महिमा घाँसको फूलजस्तै। घाँस ओइलिजान्छ, र त्यसको फूल झरिहाल्छ; 25 तर प्रभुको वचन सदा-सर्वदा रहिरहन्छ।’
अनि त्यो वचन यही नै हो, जुनचाहिँ सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ।