एल्डरहरूलाई र अरू विश्‍वासीहरूलाई केही अर्तीहरू
5
म जो सङ्गी-प्राचीन र ख्रीष्‍टका दु:खहरूको साक्षी, साथै प्रकट हुने महिमाको भागीदार हुँ, म तिमीहरूको बीचमा भएका प्राचीनहरूलाई अर्ती दिन्छु: 2 तिमीहरूको बीचमा भएको परमेश्‍वरको बगाललाई देखरेख गर्दै गोठाला गर – करकापले होइन, तर इच्छापूर्वक; नीच कमाइका निम्ति होइन, तर तयार मनले; 3 परमेश्‍वरको सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू बन! 4 अनि जब मुख्य गोठाला देखा पर्नुहुनेछ, तब तिमीहरूले नओइलिने महिमाको मुकुट पाउनेछौ।
5 यही प्रकारले हे जवानहरूहो, आफू-आफूलाई प्राचीनहरूको अधीनतामा सुम्प! अँ, तिमीहरू सबैजना एक-अर्काको अधीनतामा बस, र नम्रतालाई पहिर; किनभने परमेश्‍वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। 6 यसकारण परमेश्‍वरको सामर्थी हातमुनि आफू-आफूलाई नम्र तुल्याओ, र ठीक समयमा उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ; 7 अनि आफ्नो सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँ तिमीहरूको फिक्री गर्नुहुन्छ।
8 सचेत रहो, जागा रहो; किनकि तिमीहरूको विरोधी शैतान गर्जने सिंहझैं कसलाई निलूँ भनी खोज्दै चारैतिर घुमिहिँड़्छ। 9 विश्‍वासमा दह्रो रहेर त्यसको सामना गर, यो जानेर कि संसारमा रहेका तिमीहरूका दाजुभाइहरूले पनि यिनै दु:खहरू भोगिरहेका छन्।
10 तर सबै अनुग्रहको परमेश्‍वर जसले ख्रीष्‍ट येशूद्वारा हामीलाई आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ, तिमीहरूले केही समयसम्म दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सिद्ध, पार्नुहुनेछ, स्थिर गराउनुहुनेछ, बलवान् तुल्‍याउनुहुनेछ र स्थापित गर्नुहुनेछ। 11 उहाँलाई नै महिमा र प्रभुत्‍व युगानुयुग होऊन्। आमेन।
12 सिलवानसद्वारा, जसलाई म तिमीहरूका विश्‍वासयोग्य भाइ सम्झन्छु, मैले अर्ती दिँदै र जुन अनुग्रहमा तिमीहरू उभिन्‍छौ, त्‍यो अनुग्रहचाहिँ परमेश्‍वरको साँचो अनुग्रह हो भन्‍ने गवाही दिँदै छोटकरीमा लेखेको छु। 13 तिमीहरूसँगै चुनिएको बेबिलोनमा भएको मण्डलीले तिमीहरूलाई सलाम पठाउँदैछ, साथै मेरो छोरा मर्कूसले पनि। 14 एक-अर्कालाई प्रेमको चुम्बनले अभिवादन गर! तिमीहरू सबैसित, जो ख्रीष्‍ट येशूमा छौ, शान्ति रहोस्! आमेन।