ख्रीष्टका निम्ति दुःख भोग्न तयार होओ!
4
यसकारण ख्रीष्टले हाम्रा लागि शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मनरूपी हतियार भिर; किनकि जसले शरीरमा दुःख भोगेको छ, उसले पाप छोड़ेको छ, 2 र अबदेखि उसो उसले आफ्नो बाँकी समय शरीरमा मानिसहरूका अभिलाषाहरूअनुसार होइन, तर परमेश्वरको इच्छाअनुसार जिओस्। 3 किनकि हाम्रो जीवनको बितेको समय, जुन समय हामीले अन्यजातिहरूको इच्छाअनुसार गर्नमा अर्थात् कामुकता, अभिलाषा, मतवालापन, मोजमज्जा, रक्सीधोकाइ र घिनलाग्दा मूर्तिपूजाहरूमा बितायौं, त्यही समय हाम्रा लागि यथेस्ट भयो; 4 यस्तो भारी उपद्रवमा तिमीहरू तिनीहरूसँग लागेर नहिँड़ेकोमाक तिनीहरूलाई अनौठो लाग्छ, र तिनीहरू तिमीहरूको निन्दा गर्छन्। 5 जिउँदा र मरेकाहरूको न्याय गर्नलाई जो तयार हुनुहुन्छ, उहाँलाई तिनीहरूले हिसाब दिनेछन्। 6 किनकि शरीरमा चाहिँ मानिसहरूअनुसार तिनीहरूको न्याय गरियोस्, तर आत्मामा चाहिँ परमेश्वरअनुसार जिऊन् भनेर नै मरेकाहरूलाई पनि सुसमाचार सुनाइयो।7 तर सबै कुराहरूको अन्त नजिकै आएको छ; यसकारण सचेत होओ, र प्रार्थना गर्नमा जागा रहो! 8 अनि सबै कुराहरूभन्दा बढ़ी आपसमा गहिरो प्रेम राख; किनकि प्रेमले चाहिँ अनेकौं पापहरू ढाक्नेछ। 9 गनगन नगरीकन एक-अर्काको अतिथिसत्कार गर! 10 हरेकले पाएको वरदानअनुसार, परमेश्वरका नाना प्रकारका अनुग्रहका असल भण्डारीहरूले जस्तो तिमीहरूले त्यो वरदान एक-अर्काको सेवामा लगाओ! 11 यदि कोही बोल्छ भने ऊ परमेश्वरकै वाणीहरू बोलेझैं गरी बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको योग्यताले यसो गरोस्; यसले गर्दा सबै कुरामा परमेश्वरको महिमा येशू ख्रीष्टद्वारा भएको होस्, जसलाई महिमा र प्रभुत्व युगानुयुग होऊन्। आमेन।
12 हे प्रियहरूहो, तिमीहरूलाई जाँच्नका लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा, मानो तिमीहरूमाथि कुनै अनौठो कुरा आइपरेझैं गरी अचम्म नमान; 13 तर तिमीहरू ख्रीष्टका दु:खहरूमा जति भागी हुन्छौ, त्यति नै आनन्द मनाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि भारी आनन्दले आनन्दित हुन सक। 14 तिमीहरू ख्रीष्टको नामको खातिर निन्दित हुन्छौ भने तिमीहरू धन्य हौ; किनभने महिमाको र परमेश्वरको आत्मा तिमीहरूमाथि रहनुहुन्छ; तिनीहरूबाट उहाँको निन्दा भएको छ, तर तिमीहरूबाट उहाँको महिमा भएको छ। 15 तर तिमीहरूमध्ये कसैले पनि हत्यारा, वा चोर, वा कुकर्मी, वा अर्काको काममा हात हाल्ने भईकन दुःख नभोगोस्। 16 तरै पनि ख्रीष्टियान भएको खण्डमा कसैले दुःख भोग्यो भने उसले लाज नमानोस्, तर उसले यस कुराका निम्ति परमेश्वरको महिमा गरोस्।
17 किनकि त्यो समय आएको छ, जब परमेश्वरको घरबाट न्याय शुरु हुनुपर्छ; अनि न्याय पहिले हामीबाट शुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार पालन नगर्नेहरूको अन्त के होला त नि? 18 अनि धर्मी जन मुस्किलले उम्किन्छ भने भक्तिहीन र पापीको के ठेगाना? 19 यसैकारण जस-जसले परमेश्वरको इच्छाअनुसार दुःख भोग्छन्, उनीहरूले असल काम गर्दै आफ्ना प्राणहरू विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदिऊन्।