पत्‍नीहरूहो, पतिको अधीनतामा बस!
3
यही प्रकारले हे पत्‍नीहरूहो, तिमीहरू आ-आफ्ना पतिको अधीनतामा बस, 2 ताकि कसै-कसैले वचन पालन गर्दैनन् भने पनि पत्‍नीहरूको चालचलनद्वारा अर्थात्‌ तिमीहरूको डरसहितको पवित्र चालचलन देखेर उनीहरू विनावचन नै जितिएका होऊन्। 3 तिमीहरूको सिँगारचाहिँ केश बाट्ने र सुनको गहना लाउने वा परीपरीका वस्त्र पहिरने बाहिरी सिँगार नहोस्, 4 तर नम्र र शान्त आत्माको अविनाशी सिँगारले सिँगारिएको हृदयको भित्री मानिस होस्, जसको मूल्य परमेश्‍वरको दृष्‍टिमा धेरै हुन्‍छ। 5 किनकि पुरानो समयमा परमेश्‍वरमाथि भरोसा राख्‍ने पवित्र स्त्रीहरूले पनि आ-आफ्नै पतिको अधीनतामा बसेर यही प्रकारले आ-आफूलाई सिँगार्थे; 6 जसरी साराले पनि अब्राहामलाई ‘प्रभु’ भनी सम्बोधन गर्दै उनको आज्ञापालन गर्थिन्। तिमीहरू पनि, असल काम गर्छौ र कुनै किसिमको डरले भयभीत हुँदैनौ भने तिनकै छोरीहरू हौ।
7 यही प्रकारले हे पतिहरूहो, पत्‍नीलाई कमजोर पात्र सम्झी, साथै जीवनको अनुग्रहका साझा हकदारहरू सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूका प्रार्थनाहरू नरोकिएका होऊन्।
धार्मिक चाल चल्नलाई प्रोत्साहन
8 अन्तमा, तिमीहरू सबै एकै मनका होओ, एक-अर्काप्रति सहानुभूति राख्‍ने होओ, भाइ-भाइलाई प्रेम गर्ने होओ, कोमल मनका होओ, विनयी होओ; 9 खराबीको बदलामा खराबी नगर, अथवा गालीको बदलामा गाली नदेओ, तर उल्टो आशिष्‌ देओ, यो जानेर कि तिमीहरू आशिष्‌का हकदार हुनलाई बोलाइएका छौ। 10 किनकि
‘जसले जीवनलाई प्रेम गर्ने र असल दिनहरू देख्‍ने इच्छा गर्दछ, उसले आफ्नो जिब्रो खराबीबाट र आफ्ना ओठहरू छलका कुरा बोल्नबाट जोगाएर राखोस्; 11 ऊ खराबीबाट तर्कोस् र भलाइ गरोस्; उसले मेलमिलापको खोजी गरोस् र यसैको पछि लागोस्। 12 किनभने परमप्रभुका आँखाहरू धर्मी जनहरूमाथि लागेका हुन्छन्, र उहाँका कानहरू उनीहरूका प्रार्थनाहरूतिर खुला भएका हुन्छन्; तर परमप्रभुको चेहरा खराबी गर्नेहरूको विरुद्धमा हुन्छ।’
13 अनि जे कुरा असल छ, तिमीहरू त्यसका देखासिकी गर्नेहरू हौ भने तिमीहरूको हानि गर्ने को हुन्छ र? 14 तर धार्मिकताका निम्ति तिमीहरूले दुःख भोग्‍नुपर्‍यो भने पनि तिमीहरू धन्य हौ; तर तिनीहरूको धम्कीसँग नडराओ, न ता विचलित होओ! 15 तर तिमीहरूका हृदयहरूमा परमप्रभु* परमेश्‍वरलाई पवित्र मान; र तिमीहरूभित्र भएको आशाको विषयमा तिमीहरूलाई सोध्‍ने हरेक मानिसलाई नम्रता र डरको साथ जवाफ दिन सधैंभरि तयार रहो! 16 असल विवेक कायम राख, ताकि जब तिनीहरूले कुकर्मीहरू भन्दै तिमीहरूको बदनाम गर्छन्, तब ख्रीष्‍टमा भएको तिमीहरूको असल चालचलनलाई झूटा दोष लाउनेहरू लाजमा परून्। 17 किनकि परमेश्‍वरको इच्छा यस्तै भयो भने खराबी गर्नमा भन्दा असल काम गर्नमा नै दुःख भोग्‍नु उत्तम हो। 18 किनकि हामीलाई परमेश्‍वरकहाँ पुर्‍याउने उद्देश्‍यले ख्रीष्‍टले पनि – यी धर्मी जनले पापहरूको सम्‍बन्‍धमा अधर्मीहरूका निम्ति एकपल्ट दुःख भोग्‍नुभयो, र शरीरमा उहाँ मारिनुभयो, तर आत्माद्वारा उहाँ जीवित पारिनुभयो। 19 उही आत्माद्वारा उहाँ जानुभयो, र उहाँले कैदमा भएका ती आत्माहरूलाई प्रचार गर्नुभयो, 20 जसले बितेको समयमा आज्ञापालन गरेनन्, जब एकपल्ट परमेश्‍वरको सहनशीलताले पर्खिरहेको थियो – नूहका दिनहरूमा, जब त्यो जहाज बनिरहेको थियो, जसमा थोरै अर्थात्‌ आठ प्राणीहरू पानीद्वारा बचाइए। 21 यसैको प्रतिरूप अर्थात्‌ बप्‍तिस्‍माले पनि, जुनचाहिँ शरीरको मैला हटाउनु होइन, तर परमेश्‍वरप्रति असल विवेकको माग पूर्ति गर्नु हो, अहिले हामीलाई येशू ख्रीष्‍टको बौरिउठाइद्वारा बचाउँछ; 22 उहाँ स्वर्ग जानुभएको छ, र उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ; स्वर्गदूतहरू, अधिकारीहरू र सामर्थ्यहरू उहाँकै अधीनतामा राखिएका छन्।