झूटा शिक्षकहरूको विषयमा चेताउनी
यहूदा १:३-१९
2
तर जसरी मानिसहरूको बीचमा झूटा भविष्यवक्ताहरू हुन्थे, त्यसरी नै तिमीहरूको बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्, जसले तिनीहरूलाई किन्‍नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्‍त तवरले नाश पार्ने झूटा शिक्षाहरू भित्र हुल्नेछन्, र आफूमाथि चाँड़ै आउने विनाश ल्याउनेछन्। 2 अनि धेरैजना तिनीहरूका विनाशकारी बाटाहरूको पछि-पछि लाग्‍नेछन्; उनीहरूको कारणले गर्दा सत्यताको बाटोको निन्दा गरिनेछ। 3 अनि लोभको कारणले बनावटी कुराहरूद्वारा तिनीहरूले तिमीहरूबाट फाइदा उठाउनेछन्; तिनीहरूको अघिबाटकै न्याय अब ढिलो गर्दैन, र तिनीहरूको विनाश निदाउँदैन।
4 किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड़्नुभएन, जसले पाप गरेका थिए, तर उहाँले तिनीहरूलाई अथाह कुण्डमा हाल्नुभयो र तिनीहरूलाई न्यायका लागि साँचिराख्‍नलाई अन्धकारका साङ्लाहरूमा सुम्पिदिनुभयो। 5 अनि उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनहरूको संसारमाथि जलप्रलय ल्याउँदा धार्मिकताको प्रचारक नूह, ती आठौं व्यक्तिलाई जोगाउनुभयो; 6 अनि उहाँले सदोम र गमोराका शहरहरूलाई खरानीमा परिवर्तन गरीकन तिनीहरूलाई विनाशको दण्ड दिनुभयो र तिनीहरूलाई पछिबाट भक्तिहीन जीवन जिउनेहरूका निम्ति एउटा नमुना बनाउनुभयो; 7 अनि उहाँले दुष्‍टहरूको घिनलाग्दो चालचलनको कारणले विरक्त भएका धर्मी लूतलाई छुटकारा दिनुभयो भने – 8 किनकि तिनीहरूको बीचमा बसोबास गर्ने ती धर्मी मानिसले तिनीहरूका कुकर्महरू देखेर र सुनेर आफ्नो धर्मी मनलाई दिनहुँ पीड़ित पार्थे – 9 प्रभुले भक्त जनहरूलाई परीक्षाहरूबाट कसरी छुटकारा दिनुपर्छ, सो जान्‍नुहुन्‍छ र अधर्मीहरूलाई दण्ड दिनका निम्ति न्यायको दिनसम्म साँचिराख्‍न पनि जान्‍नुहुन्‍छ; 10 तर विशेष गरी तिनीहरूलाई, जो अशुद्ध तुल्याउने अभिलाषामा शरीरको पछि हिँड़्छन् र जसले प्रभुत्‍वलाई तुच्छ ठान्छन्। तिनीहरू दुःसाहसी, हठी हुन्छन्; तिनीहरू उच्‍च पदाधिकारीहरूको निन्दा गर्न डराउँदैनन्, 11 जब कि बल र सामर्थ्यमा अझै ठूला भएका स्वर्गदूतहरूले उनीहरूको विरोधमा प्रभुको सामु निन्दापूर्ण दोष ल्याउँदैनन्। 12 तर यिनीहरूले त पक्रा पर्न र नाश हुनका निम्ति बनाइएका स्वाभाविक, विवेकहीन पशुहरूले जस्तो ती कुराहरूको निन्दा गर्छन्, जुन कुराहरूको विषयमा यिनीहरूले बुझेकै छैनन्; र यिनीहरू आफ्नै भ्रष्‍टतामा पूरा नष्‍ट हुनेछन्; 13 अनि यिनीहरूले अधर्मको फल पाउनेछन् – तिनीहरूले जस्तै, जसले दिउँसो मोज गर्नु नै सुख सम्झन्छन्। जब यिनीहरू तिमीहरूसित भोज गर्छन्, तब यिनीहरू आफ्नै धोकाहरूमा मोज गर्ने दाग र कलङ्कहरू हुन्, 14 जसका आँखाहरू व्यभिचारले भरिभराउ हुन्छन् र जो पाप नगरी रहन सक्दैनन्; यिनीहरूले अस्थिर प्राणहरूलाई फसाउँछन्; यिनीहरूको हृदय लोभी व्यवहारमा अभ्यस्त भएको हुन्छ; यिनीहरु श्रापित सन्तान हुन्। 15 यिनीहरू अधर्मको ज्यालालाई प्रेम गर्ने बोओरको छोरा बालामको बाटोमा लागेर सठीक बाटोलाई त्यागी भड्‍किएका छन्; 16 तर आफ्नो अपराधका निम्ति त्यसले हप्की पायो; त्यस नबोल्ने गधाले मान्छेको सोरमा बोलेर त्यस भविष्यवक्ताको पागलपनलाई रोकिदियो।
17 यिनीहरू पानीविनाका कुवाहरू हुन्, आँधीले उड़ाएर लगेका बादलहरू हुन्, जसका निम्ति घोर अन्धकार सधैंका निम्ति साँचिएको छ। 18 किनकि जब तिनीहरू व्यर्थका बढ़ाइ-चढ़ाइका कुराहरू गर्छन्, तब तिनीहरूले शरीरका अभिलाषाहरूद्वारा, कामुकताद्वारा उनीहरूलाई फसाउँछन्, जो भ्रममा परेकाहरूको बीचबाट साँच्‍चै उम्किसकेका थिए। 19 आफै भ्रष्‍टताका कमाराहरू भएर तिनीहरू उनीहरूलाई स्वतन्‍त्रता दिने प्रतिज्ञा गर्छन्; किनकि जससँग मानिसले हार्छ, उहीद्वारा ऊ कमारा बनाइन्छ। 20 किनकि प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको पहिचानद्वारा तिनीहरू संसारका अशुद्धताहरूबाट उम्केका छन्, तर फेरि ती कुराहरूमा फसे, र तिनैसित हारे भने तिनीहरूको पछिल्‍लो अवस्थाचाहिँ अघिल्‍लोभन्दा खराब हुन्छ। 21 किनकि धार्मिकताको बाटो जानेपछि तिनीहरूलाई सुम्पिएको पवित्र आज्ञाबाट फर्कनुभन्दा त यसलाई नजान्‍नु नै तिनीहरूका निम्ति असल हुनेथियो। 22 तर तिनीहरूलाई यस सत्य उखानअनुसार भएको हो: ‘कुकुर फेरि आफ्नै छादपट्टि फर्क्यो, र नुहाइएको भुनी फेरि आहाल खेल्न फर्क्यो।’