यूहन्‍नाको पहिलो पत्र
1
यस जीवनको वचनको विषयमा, जो शुरुदेखि नै हुनुहुन्थ्यो, जसको हामीले सुनेका छौं, जसलाई हामीले आफ्नै आँखाले देखेका छौं, जसलाई हामीले नियालेर हेरेका छौं र आफ्‍नै हातहरूले समातेका छन्; 2 अनि यो जीवन प्रकट हुनुभयो, र हामीले देखेका छौं, र गवाही दिन्छौं, अनि तिमीहरूलाई अनन्त जीवनको समाचार सुनाउँछौं, जो पितासँग हुनुहुन्थ्यो र जो हामीकहाँ प्रकट हुनुभयो; 3 तिमीहरूले पनि हामीसँग सङ्गति पाओ भनेर हामीले जे देखेका र सुनेका छौं, सो कुरा तिमीहरूलाई सुनाउँछौं। अनि हाम्रो सङ्गति साँच्‍चै पितासँग र उहाँको पुत्र येशू ख्रीष्‍टसँग छ। 4 अनि तिमीहरूको आनन्द पूर्ण होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौं।
परमेश्‍वर ज्योति हुनुहुन्छ
5 अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौं र तिमीहरूलाई सुनाउँछौं, त्यो समाचार यही हो: परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा अन्धकार छँदैछैन। 6 उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं, तर अन्धकारमा हिँड़्छौं भने हामी झूट बोल्छौं र सत्य काम गर्दैनौं; 7 तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै हामी ज्योतिमा हिँड़्छौं भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ।
8 हामीसँग पाप छैन भनी हामी भन्छौं भने हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्यता हुँदैन। 9 हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ। 10 हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूट तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।