संसारसँगको मित्रता परमेश्वरसितको शत्रुता हो
4
तिमीहरूको बीचमा लड़ाइँ र झगड़ाहरू कहाँबाट आउँछन्? के तिमीहरूका अङ्ग-अङ्गमा लड़ाइँ गरिरहने तिमीहरूका सुखविलासहरूबाट होइन र? 2 तिमीहरू लालसा गर्दछौ, तर पाउँदैनौ; तिमीहरू हत्या गर्दछौ र डाहा गर्दछौ, तर प्राप्त गर्न सक्दैनौ; तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्दछौ, तरै पनि तिमीहरू पाउँदैनौ; किनभने तिमीहरू माग्दैनौ। 3 तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनभने आफ्ना सुखविलासहरूमा उड़ाउनका निम्ति तिमीहरू बेठीक विचारले माग्दछौ।4 हे व्यभिचारी र व्यभिचारिणीहरूहो, संसारसँगको मित्रताचाहिँ परमेश्वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जसले संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ। 5 अथवा तिमीहरू के सोच्छौ? ‘जुन आत्माले हामीभित्र वास गर्नुभएको छ, उहाँ ईर्ष्यालु भएर चाहना गर्नुहुन्छ’ भनेर के पवित्र शास्त्रले व्यर्थै भन्दछ? 6 तर उहाँ बढ़ी अनुग्रह दिनुहुन्छ। यसकारण उहाँ भन्नुहुन्छ:
‘परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।’क
7 यसकारण आफूलाई परमेश्वरको अधीनतामा सुम्प! शैतानको सामना गर, र त्यो तिमीहरूबाट भाग्नेछ। 8 परमेश्वरको नजिकमा जाओ, र उहाँ पनि तिमीहरूको नजिकमा आउनुहुनेछ। हे पापीहरूहो, आफ्ना हातहरू शुद्ध पार! हे दुईचित्तेहरूहो, आफ्ना हृदयहरू पवित्र पार! 9 दुःखी होओ, शोक गर, र रोओ! तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द सुर्तामा बदली भएको होस्! 10 प्रभुको सामु आफूलाई नम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ।
11 हे भाइहरूहो, एकले अर्काको बदनामी नगर! जसले आफ्नो भाइको बदनामी गर्दछ र आफ्नो भाइको न्याय गर्दछ, त्यसले व्यवस्थाको बदनामी गर्दछ र व्यवस्थाको न्याय गर्दछ; तर यदि तिमीले व्यवस्थाको न्याय गर्दछौ भने तिमी व्यवस्था पालन गर्ने होइनौ, तर न्याय गर्ने पो भयौ। 12 व्यवस्था दिनेहुने एकैजना हुनुहुन्छ, जसले बचाउन र नाश गर्न सक्नुहुन्छ; अर्काको न्याय गर्ने तिमी को हौ?
भोलिको विषयमा घमण्ड नगर!
13 अब आओ, तिमीहरू जसले यसो भन्दछौ: ‘आज कि भोलि हामी फलाना शहरमा जानेछौं, र त्यहाँ एक वर्ष रहनेछौं, र व्यापार गर्नेछौं, अनि नाफा कमाउनेछौं।’ 14 तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। किनकि तिमीहरूको जीवन के हो र? यो त बाफ हो, जुनचाहिँ थोरै समयका लागि देखा पर्छ र त्यसपछि हराइहाल्छ। 15 यसको सट्टामा तिमीहरूले भन्नुपर्नेथियो: “प्रभुले इच्छा गर्नुभयो भने हामी बाँच्नेछौं, र हामी यो कि त्यो गर्नेछौं।” 16 तर अब तिमीहरू आफ्ना सेखीमा घमण्ड गर्दछौ; यस्तो सबै घमण्ड खराब हो। 17 यसकारण जसले भलाइ गर्न जान्दछ, तर गर्दैन, त्यसका निम्ति यो पाप हो।