हिब्रूहरूका निम्ति लेखिएको पत्र
परमेश्‍वरको पुत्र स्वर्गदूतहरूभन्दा सर्वोतम र सर्वश्रेष्‍ठ हुनुहुन्छ
1
जुन परमेश्‍वर प्राचीनकालमा हाम्रा पितापुर्खाहरूसँग विभिन्‍न समयमा र विभिन्‍न प्रकारले भविष्यवक्ताहरूद्वारा बोल्नुभयो, 2 उही परमेश्‍वर यी अन्तिम दिनहरूमा चाहिँ हामीसँग आफ्नो पुत्रद्वारा बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराहरूको हकवाला नियुक्त गर्नुभएको हो, जसद्वारा उहाँले संसारहरू पनि बनाउनुभयो; 3 यहाँचाहिँ उहाँको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्‍का प्रतिरूप हुनुहुन्छ, र यहाँले आफ्नो सामर्थ्यको वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ; आफैद्वारा हाम्रा पापहरू शुद्ध पार्नुभएपछि उहाँ उच्‍च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्‍नुभयो; 4 उहाँ स्वर्गदूतहरूभन्दा त्‍यति नै उत्तम ठहरिनुभएको छ, जति उहाँले हकद्वारा तिनीहरूले भन्‍दा बढ़ी श्रेष्‍ठ नाम पाउनुभयो। 5 किनकि स्वर्गदूतहरूमध्ये कसलाई उहाँले कुनै समयमा यसो भन्‍नुभयो?
‘तिमी मेरा पुत्र हौ; आज मैले तिमीलाई जन्माएको छु।’
अनि फेरि,
‘म उनको पिता हुनेछु, र उनीचाहिँ मेरा पुत्र हुनेछन्।’
6 अनि फेरि, जेठालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्‍छ:
‘परमेश्‍वरका सारा दूतहरूले उनलाई दण्डवत् गरून्।’
7 अनि स्वर्गदूतहरूको विषयमा उहाँ भन्‍नुहुन्‍छ:
‘उहाँ आफ्ना दूतहरूलाई आत्माहरू र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।’
8 तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्‍छ:
‘हे परमेश्‍वर, तपाईंको सिंहासन युगानुयुग रहिरहन्छ; धार्मिकताको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो। 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको र अधर्मलाई घृणा गर्नुभएको छ; यसकारण परमेश्‍वरले, तपाईंको परमेश्‍वरले तपाईंलाई तपाईंका साथीहरूलाई भन्दा बढ़ी हर्षको तेलले अभिषेक गर्नुभएको छ।’
10 अनि,
‘प्रभु, शुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; अनि आकाशहरू तपाईंका हातका कामहरू हुन्। 11 ती नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ; अनि ती सबै लुगाझैं पुराना हुनेछन्; 12 अनि ओढ़्नेलाई झैं तपाईंले तिनलाई लपेट्नुहुनेछ, र ती बदली हुनेछन्; तर तपाईं एकनास रहिरहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त हुनेछैन।’
13 तर स्वर्गदूतहरूमध्ये कसलाई उहाँले कुनै समयमा भन्‍नुभयो?
‘जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस!’
14 के उनीहरू सबैचाहिँ सेवा गर्ने आत्माहरू होइनन्, जो मुक्तिका हकवाला हुनेहरूका निम्ति सेवा गर्न पठाइएका छन्?