फिलेमोनलाई पावल प्रेरितको पत्र
1
येशू ख्रीष्‍टको कैदी पावल र हाम्रो भाइ तिमोथीको तर्फबाट हाम्रा प्रिय र सहकर्मी फिलेमोनलाई, 2 साथै हाम्री प्रिया अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस, अनि तिम्रो घरमा भएको मण्डलीलाई: 3 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
4-5 प्रभु येशूप्रति र सबै पवित्र जनहरूप्रति भएका तिम्रा प्रेम र विश्‍वासको विषयमा सुनेर म आफ्ना प्रार्थनाहरूमा सधैंभरि तिमीलाई सम्झना गर्दै मेरा परमेश्‍वरलाई धन्यवाद चढ़ाउँछु, 6 कि ख्रीष्‍ट येशूमा तिमीहरूमा भएको हरेक असल कुराको ज्ञानद्वारा तिम्रो विश्‍वासको सङ्गतिचाहिँ प्रभावकारी होस्। 7 किनकि हे भाइ, तिम्रो प्रेममा हामी ठूलो आनन्द र सान्‍त्‍वना पाउँछौं; किनभने तिमीद्वारा पवित्र जनहरूका हृदयहरू शीतल पारिएका छन्।
8 यसकारण जुन कुरा उचित छ, त्यस कुराको विषयमा तिमीलाई आज्ञा दिन ख्रीष्‍टमा मलाई बड़ो हिम्मत हुन्छ; 9 तरै पनि एक वृद्ध भएर र अहिलेचाहिँ येशू ख्रीष्‍टको कैदी पनि भईकन म पावल, प्रेमको कारणले बरु तिमीलाई विन्‍ती गर्दछु। 10 म तिमीलाई मेरो छोरा ओनेसिमसका लागि विन्‍ती गर्दछु, जसलाई मैले मेरो बन्धनमा जन्माएको हुँ; 11 जोचाहिँ एक समय तिम्रा निम्ति काम नलाग्‍ने थियो, तर अब त तिम्रा निम्ति, साथै मेरा निम्ति कामलाग्दो भएको छ; 12 उसलाई मैले फर्काइपठाएको छु; यसकारण उसलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, ग्रहण गर!
13 सुसमाचारको यस बन्धनमा तिम्रो सट्टामा उसले मेरो सेवा गरोस् भनेर उसलाई मैले आफूसित राख्‍ने इच्छा गरेको थिएँ; 14 तर तिम्रो मन्जुरीविना मैले केही पनि नगर्ने इच्छा गरे, यसैले कि तिम्रो भलाइको काम करले होइन, तर इच्छासहितको भएको होस्।
15 किनभने सायद तिमीले उसलाई सधैंभरिका निम्ति प्राप्‍त गर्न सक भनेर नै ऊ केही समयका निम्ति तिमीबाट अलग भयो होला; 16 अब दासको रूपमा होइन, तर दासभन्दा बढ़ी, एक प्यारो भाइको रूपमा; विशेष गरी मेरा लागि, तर तिम्रा लागि झन् कति बढ़्‍ता गरी – दुवै, शरीरमा पनि, प्रभुमा पनि?!
17 यसकारण यदि तिमी मलाई साझेदार सम्झन्छौ भने उसलाई मलाई जस्तै गरी ग्रहण गर! 18 उसले तिमीलाई केही खराबी गरेको छ भने, अथवा उसलाई तिम्रो केही ऋण लागेको छ भने, सो मेरो हिसाबमा लेखिदेऊ! 19 म पावलले आफ्नै हातले यो लेखेको हुँ: म यो तिरिदिनेछु; तरै पनि तिमीलाई मेरो ऋण लागेको छ, त्यो तिमी आफै हौ भनी म तिमीलाई भन्दिनँ।
20 हो, भाइ, तिमीबाट म प्रभुमा आनन्द पाऊँ; मेरो हृदय प्रभुमा शीतल पारिदेऊ! 21 तिम्रो आज्ञाकारितामा भरोसा राखेर मैले भनेको भन्दा बढ़ी तिमीले गर्नेछौ भन्‍ने जानेर मैले तिमीलाई लेखें। 22 अनि साथै मेरा लागि एउटा बस्‍ने ठाउँ पनि तयार पारिदेऊ; किनकि तिमीहरूका प्रार्थनाहरूको कारणले म तिमीहरूलाई दिइनेछु भन्‍ने मलाई आशा छ।
23 ख्रीष्‍ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले, 24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्टार्खस, डेमास र लूकाले तिमीलाई सलाम पठाउँदैछन्। 25 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्माको साथमा रहोस्! आमेन।