2
यसकारण हामीले जे सुनेका छौं, ती कुराहरूमा हामीले अति नै बढ़ी ध्यान दिनुपर्छ, नत्र ता कहीं कुनै समयमा हामी तीदेखि सरेर जानेछौं। 2 किनकि स्वर्गदूतहरूद्वारा बोलिएको वचन त स्थिर रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताले ठीक-ठीक बदला पायो भने, 3 यदि हामीले यति ठूलो मुक्ति वास्ता गरेनौं भने हामी कसरी उम्कन्छौं त? जुन मुक्तिको प्रचार पहिले प्रभुबाट शुरु भएको हो र उहाँको सुन्नेहरूद्वारा हाम्रा निम्ति पुष्टि गरियो; 4 साथै परमेश्वरले पनि आफ्नै इच्छाअनुसार दुवै चिन्हहरू र अचम्मका कामहरूद्वारा, अनि अनेकौं सामर्थ्यका कामहरू र पवित्र आत्माका दानहरूद्वारा उनीहरूको साथमा गवाही दिनुभयो। 5 किनकि उहाँले पछि आउने संसारलाई, जसको विषयमा हामी बोल्दछौं, स्वर्गदूतहरूको अधीनतामा राख्नुभएन। 6 तर कसैले कुनै ठाउँमा यसो भन्दै गवाही दिए:‘मानिस के हो, कि तपाईं उनीप्रति ध्यान राख्नुहुन्छ? अथवा मानिसको पुत्र, कि तपाईं उनीमाथि दृष्टि लाउनुहुन्छ? 7 तपाईंले उनलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले उनलाई महिमा र आदरको मुकुट पहिराउनुभयो, र उनलाई आफ्ना हातका कामहरूमाथि नियुक्त गर्नुभयो। 8 तपाईंले सबै कुराहरू उनका पाउमुनि अधीनमा
राख्नुभएको छ।’क
किनकि उहाँले सबै कुराहरू यहाँको अधीनतामा राख्नुहुँदा उहाँले कुनै पनि कुरा छोड़्नुभएन, जुनचाहिँ यहाँको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुराहरू यहाँको अधीनतामा राखिएको देख्दैनौं, 9 तर हामी येशूलाई, जो स्वर्गदूतहरूभन्दा केही कम बनाइनुभएको थियो, मृत्युको दुःखले गर्दा महिमा र आदरको मुकुट पहिरनुभएको देख्छौं; यसरी उहाँले परमेश्वरको अनुग्रहद्वारा प्रत्येक मानिसका निम्ति मृत्युको स्वाद चाख्नुभयो। 10 किनकि उहाँ जसका निम्ति सबै थोकहरू हुन् र जसद्वारा सबै थोकहरू हुन आए, उहाँलाई, धेरै छोराहरूलाई महिमामा ल्याउँदाखेरि उनीहरूको मुक्तिको कर्तालाई चाहिँ दुःखहरूद्वारा सिद्ध बनाउनु नै असल लाग्यो। 11 किनकि पवित्र पार्नुहुने र पवित्र पारिएकाहरू दुवै एकैजनाबाटकाख हुन्; यही कारणले उनीहरूलाई भाइहरू भन्नुदेखि उहाँ शर्माउनुहुन्न, 12 र भन्नुहुन्छ:
‘मेरा भाइहरूलाई म तपाईंको नाम सुनाउनेछु; मण्डलीको बीचमा म तपाईंको प्रशंसा गाउनेछु।’ग
13 अनि फेरि,
‘उहाँमाथि म भरोसा राख्नेछु।’घ
अनि फेरि,
‘मलाई र ती छोराछोरीहरूलाई हेर, जो परमेश्वरले मलाई दिनुभएको छ।’ङ
14 यसकारण ती छोराछोरीहरू मासु र रगतका भागीदार भएका हुनाले उहाँ आफै पनि त्यसरी नै ती कुराहरूकै भागी हुनुभयो, यस हेतुले कि उहाँले मृत्युद्वारा मृत्युको सामर्थ्य भएकोलाई अर्थात् शैतानलाई नष्ट पारून्, 15 साथै मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेकाहरू सबैलाई छुटकारा दिऊन्। 16 किनकि साँच्ची नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको रूप लिनुभयो। 17 यसकारण मानिसहरूका पापहरूको प्रायश्चित गर्नलाई परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा दयालु र विश्वासयोग्य महापूजाहारी हुनका निम्ति उहाँ सबै कुराहरूमा आफ्ना भाइहरूसमान हुनुपरेको थियो। 18 किनकि परीक्षित भई उहाँ आफैले दुःख भोग्नुभएको कारणले गर्दा उहाँ परीक्षामा परेकाहरूलाई सहायता गर्न योग्य हुनुहुन्छ।