आफ्नो हृदय कठोर नपार!
3
यसकारण हे पवित्र भाइहरूहो, स्वर्गीय बोलावटका भागीदारहरूहो, हामीले स्वीकार गरेका प्रेरित र महापूजाहारीलाई अर्थात्‌ ख्रीष्‍ट येशूलाई ध्यान देओ! 2 जसरी मोशा उहाँको सम्पूर्ण घरमा विश्‍वासयोग्य थिए, त्यसरी नै उहाँ पनि आफूलाई नियुक्त गर्नुहुनेप्रति विश्‍वासयोग्य हुनुहुन्थ्यो। 3 किनकि जसरी घरको भन्दा घरको निर्माताको बढ़ी आदर हुन्छ, त्यसरी नै उहाँ पनि मोशाभन्दा बढ़ी महिमाको योग्य ठहरिनुभयो। 4 किनकि हरेक घर कुनै मानिसद्वारा बनाइन्छ; तर जसले सबै थोकहरू बनाउनुभयो, उहाँ परमेश्‍वर हुनुहुन्छ। 5 अनि पछिबाट भनिने कुराहरूको गवाही हुनका निम्ति मोशा उहाँको सम्पूर्ण घरमा साँच्‍ची नै एक सेवकको रूपमा विश्‍वासयोग्य थिए; 6 तर ख्रीष्‍ट त आफ्नो घरमाथि पुत्रको रूपमा अधिकारी हुनुहुन्थ्यो; उहाँको घर हामी हौं, यदि हामीले यो भरोसा र आशाको आनन्द अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने। 7 यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्‍छ:
‘आज तिमीहरूले उहाँको वाणी सुन्यौ भने 8 उजाड़स्थानमा परीक्षाको दिनमा, रिस उठाइएको बेलामा गरेझैं आफ्ना हृदयहरू कठोर नपार! 9 जहाँ तिमीहरूका पितापुर्खाहरूले मलाई परीक्षा गरे, मलाई जाँचे र चालीस वर्षसम्म मेरा कामहरू देखे। 10 यसकारण म त्यस पुस्तासँग दुःखित भएँ, र मैले भनें: “तिनीहरू आफ्नो हृदयमा सधैं भड़्किजान्छन्; अनि तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्;” 11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएँ: “तिनीहरूले मेरो विश्राममा प्रवेश गर्नेछैनन् नै।” ’
12 हे भाइहरूहो, होसियार बस; नत्र ता तिमीहरूमध्ये कसैमा जीवित परमेश्‍वरदेखि टाढ़ो लैजाने अविश्‍वासको खराब हृदय हुन आउला। 13 तर जबसम्म ‘आज’ भनिन्छ, तबसम्म दिनहुँ एक-अर्कालाई अर्ती देओ, ताकि पापको छलद्वारा तिमीहरूमध्ये कोही कठोर नबनोस्। 14 किनकि हामी ख्रीष्‍टका भागीदारहरू भएका छौं, यदि हामीले हाम्रो भरोसाको शुरु अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने, 15 जबसम्म यस्तो भनिन्छ: ‘आज तिमीहरूले उहाँको वाणी सुन्यौ भने रिस उठाइएको बेलामा गरेझैं आफ्ना हृदयहरू कठोर नपार!’
16 किनभने कतिजनाले सुनेपछि रिस उठाइदिए, तर मोशाद्वारा मिस्रबाट निस्केर आउनेहरूमध्ये सबैले त होइन। 17 तर कोसँग उहाँ चालीस वर्षसम्म दुःखित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन र, जसका लाशहरू उजाड़स्थानमा पड़िरहे? 18 अनि ती विश्‍वास नगर्नेहरूसँग बाहेक अरू कससँग ‘यिनीहरूले मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ भनी उहाँले शपथ खानुभयो त? 19 यसकारण हामी देख्दछौं, अविश्‍वासको कारणले तिनीहरूले प्रवेश गर्न सकेनन्।