विश्‍वास गर्नेहरूले उहाँको विश्राममा प्रवेश गर्न पाउँनेछन्।
4
यसकारण उहाँको विश्राममा प्रवेश गर्ने पाउने प्रतिज्ञा अझै जारी रहेको हुनाले हामी डराऔं, नत्र तिमीहरूमध्ये कोही यस कुरादेखि रहित देखा पर्नेछ। 2 किनकि हामीलाई पनि तिनीहरूलाई झैं सुसमाचार प्रचार गरियो; तर प्रचार गरिएको यस वचनले तिनीहरूलाई केही फाइदा दिएन; किनकि सुन्‍नेहरूभित्र वचन विश्‍वाससित मिसिएन। 3 किनकि हामी जसले विश्‍वास गरेका छौं, हामी त्यस विश्राममा प्रवेश गर्छौं, जस्तो उहाँले भन्‍नुभएको छ: ‘मैले मेरो क्रोधमा शपथ खाएँ: “तिनीहरूले मेरो विश्राममा प्रवेश गर्नेछैनन् नै;” ’ यद्यपि संसारको उत्पत्तिदेखि नै कामहरू समाप्‍त भइसकेका थिए। 4 किनकि उहाँले कुनै ठाउँमा सातौं दिनको विषयमा यस प्रकारले भन्‍नुभएको छ: ‘अनि परमेश्‍वरले सातौं दिनमा आफ्ना सबै कामहरूदेखि विश्राम लिनुभयो।’ 5 अनि यस ठाउँमा फेरि: ‘तिनीहरूले मेरो विश्राममा प्रवेश गर्नेछैनन् नै।’ 6 यसकारण अझै कतिजनाले त्यसभित्र प्रवेश गर्नु बाँकी रहेको हुनाले, र जसलाई पहिले सुसमाचार प्रचार गरियो, तिनीहरूले चाहिँ अविश्‍वासको कारणले प्रवेश नगरेका हुनाले, 7 उहाँले फेरि यति धेरै समयपछि दाऊदद्वारा ‘आज’ भन्दै कुनै एक दिन ठहराउनुहुन्छ, जस्तो भनिएको छ: ‘आज तिमीहरूले उहाँको वाणी सुन्यौ भने आफ्ना हृदयहरू कठोर नपार!’ 8 किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए उहाँले पछिबाट अर्को दिनको विषयमा कुरा गर्नुहुनेथिएन। 9 यसकारण परमेश्‍वरका जनहरूका निम्ति विश्रामदिनरूपी विश्राम बाँकी नै छ। 10 किनकि जसले उहाँको विश्राममा प्रवेश गरेको छ, परमेश्‍वरले आफ्ना कामहरूबाट विश्राम लिनुभएझैं उसले पनि आफ्ना कामहरूबाट विश्राम लिएको छ। 11 यसकारण त्यस विश्राममा प्रवेश गर्नलाई हामी प्रयत्‍न गरौं, नत्र त्यही अविश्‍वासको नमुनाअनुसार कुनै मानिस लड़्ला।
12 किनकि परमेश्‍वरको वचन जिउँदो, प्रभावशाली र जुनसुकै दुईधारे तरवारभन्दा पनि लाग्‍ने हुन्छ, जसले प्राण र आत्मालाई, जोर्नी-जोर्नी र मासीलाई पनि अलग-अलग पार्ने गरी छेंड़्छ, र जुनचाहिँ हृदयका विचार र मनसायहरू खुट्‍ट्याउने हुन्छ। 13 अनि सृष्‍टिको कुनै वस्तु उहाँको नजरबाट छिपेको छैन; तर जसलाई हामीले हिसाब बुझाउनु छ, उहाँका आँखाको सामु सबै थोकहरू नाङ्गा र खुला हुन्छन्।
14 यसकारण स्वर्गहरू भएर जानुहुने एक महान् महापूजाहारी अर्थात्‌ परमेश्‍वरको पुत्र येशू हामीसँग हुनुभएको हुनाले हामी आफ्नो अङ्गीकार बलियो गरी पक्रिराखौं! 15 किनकि हाम्रा महापूजाहारी हाम्रा दुर्बलताहरूमा दुःखित हुन नसक्ने हुनुहुन्‍न; तर हामीजस्तो उहाँ सबै कुराहरूमा परीक्षित हुनुभयो, तरै पनि पापरहित हुनुहुन्छ। 16 यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आऔं, कि हामी दया पाऔं र खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्‍त गरौं।