ख्रीष्ट येशू हाम्रा महापूजाहारी हुनुहुन्छ
5
किनकि मानिसहरूको बीचबाट लिइएका हरेक महापूजाहारी, उनले पापहरूका निम्ति दुवै दानहरू र बलिदानहरू चढ़ाऊन् भनेर परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा मानिसहरूका लागि नियुक्त गरिन्छन्। 2 उनले अज्ञानीहरू र बाटो बिराउनेहरूमाथि दयामाया राख्न सक्छन्; किनकि उनी आफै पनि दुर्बलताले घेरिएका हुन्छन्। 3 यही कारणले गर्दा उनले मानिसहरूका लागि जस्तै आफ्ना लागि पनि पापहरूका निम्ति बलिदान चढ़ाउनुपर्छ। 4 अनि कुनै मानिसले पनि आफ्ना निम्ति यो आदर लिँदैन; तर उनले मात्र यो लिन्छन्, जो हारूनजस्तो परमेश्वरद्वारा बोलाइएका छन्। 5 सोही प्रकारले महापूजाहारी हुनलाई ख्रीष्टले पनि आफैलाई महिमा दिनुभएन, तर उहाँले दिनुभयो, जसले यहाँलाई भन्नुभयो:‘तिमी मेरा पुत्र हौ; आज मैले तिमीलाई जन्माएको छु।’क
6 जस्तो उहाँले अर्को ठाउँमा पनि भन्नुहुन्छ:
‘मेल्किसेदेकको रीतिमुताबिक तिमी सधैंका निम्ति पूजाहारी हौ।’ख
7 उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा बेसरी कराई-कराई र आँसु बहाई-बहाई आफूलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई प्रार्थना र विन्तीहरू चढ़ाउनुभयो; अनि उहाँको भक्तिभयको कारणले गर्दा उहाँको सुनाइ भयो; 8 उहाँ पुत्र हुनुहुन्थ्यो, र पनि आफूले दुःख भोग्नुभएका कुराहरूबाट उहाँले आज्ञापालन गर्न सिक्नुभयो; 9 अनि सिद्ध बनीकन उहाँ आफ्नो आज्ञापालन गर्नेहरू सबैका निम्ति अनन्त मुक्तिका कर्ता बन्नुभयो, 10 र उहाँले परमेश्वरबाट ‘मेल्किसेदेकको रीतिमुताबिकको महापूजाहारी’ भन्ने नाम पाउनुभयो।
11 उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्, अनि अर्थ खोल्नु कठिन छ; किनकि तिमीहरू सुन्नमा बोधा भएका छौ। 12 किनकि समयअनुसार त तिमीहरू शिक्षकहरूग भइसक्नुपर्नेथियो, तर परमेश्वरका वचनहरूको शुरुका शिक्षाहरू पो फेरि तिमीहरूलाई सिकाउन तिमीहरूलाई खाँचो छ; अनि तिमीहरू यस्ता भएका छौ, जसलाई खँदिलो खानेकुरा होइन, तर दूधै चाहिन्छ। 13 किनकि दूध पिउने हरेक मानिस धार्मिकताको वचनमा सिपालु हुँदैन; किनकि ऊ बालकै हुन्छ। 14 तर खँदिलो खानेकुरा पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जसका ज्ञानेन्द्रियहरू काममा परी-परीकन दुवै असल र खराब खुट्ट्याउनका निम्ति अभ्यस्त भएका हुन्छन्।