वशमा नआउने जिब्रो
3
हे मेरा भाइहरूहो, धेरैजना शिक्षक नहोओ, यो जानेर कि हामीले झन् बढ़ी दण्ड पाउनेछौंक। 2 किनकि हामी सबैजना धेरै कुरामा चुक्छौं। यदि कोही मानिस वचनमा चुक्दैन भने उही सिद्ध मानिस हो, जसले सारा शरीरमा लगाम लगाउन पनि सक्छ। 3 हेर, हामी घोड़ाहरूका मुखमा तिनीहरूले हाम्रो इच्छा पालन गरून् भनेर लगाम लगाउँछौं र तिनीहरूको सम्पूर्ण शरीर घुमाउँछौं। 4 पानीजहाजहरूलाई पनि हेर! ती साह्रै ठूला हुन्छन् र प्रचण्ड बतासद्वारा चलाइन्छन्, र पनि एउटा साह्रै सानो पतवारद्वारा कर्णधारले जता चाहन्छ, उतै ती घुमाइन्छन्।5 यही प्रकारले जिब्रो पनि एउटा सानो अङ्ग हो, र ठूला-ठूला कुराहरूको घमण्ड गर्छ। हेर, एउटा सानो आगोले कति ठूलो वनमा आगो लगाइदिन्छ! 6 अनि जिब्रो एउटा आगो हो, अधर्मको एउटा संसार हो। जिब्रो हाम्रा अङ्गहरूको बीचमा यसरी राखिएको छ, यसले सारा शरीरलाई अशुद्ध पार्छ र प्रकृतिको चक्रमा आगो लगाइदिन्छ; अनि यसमा नरकद्वारा आगो लागेको छ। 7 किनकि हरेक प्रकारको जङ्गली पशु-पक्षी, घस्रने जन्तु र समुद्रको जन्तु सधिन्छ, र मानिस जातिद्वारा सधाइएको पनि छ; 8 तर जिब्रोलाई चाहिँ कुनै मानिसले सधाउन सक्दैन; यो प्राणनाशक विषले भरिएको, वशमा नआउने दुष्टता हो। 9 यसैले हामी परमेश्वर र पिताको स्तुति गर्छौं, र यसैले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई श्राप दिन्छौं। 10 एउटै मुखबाट आशिर्वाद र श्राप निस्कन्छन्। हे मेरा भाइहरूहो, यी कुराहरू यस्तो हुनुहुँदैन। 11 के धाराले एउटा मुहानबाट मीठो र तीतो पानी निकाल्छ र? 12 हे मेरा भाइहरूहो, के नेभाराको रुखले जैतुन, वा दाखको बोटले नेभारा फलाउन सक्छ र? यसरी नै कुनै पनि धाराले दुवै नुनिलो र ताजा पानी दिन सक्दैन।
स्वर्गीय बुद्धि र सांसारिक बुद्धि
13 तिमीहरूको बीचमा को बुद्धिमान् र समझदार छ? उसैले असल चालचलनद्वारा आफ्ना कामहरू बुद्धिको नम्रतासित देखाओस्। 14 तर तिमीहरूको हृदयमा तीतो डाहा र विरोध छ भने गर्व नगर, र सत्यताको विरोधमा झूट नबोल! 15 योचाहिँ माथिबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, शारीरिकख, शैतानिक हो। 16 किनकि जहाँ डाहा र विरोध हुन्छन्, त्यहाँ गड़बड़ी र हर प्रकारको दुष्ट काम हुन्छ। 17 तर जुन बुद्धि माथिबाट आउँछ, त्यो बुद्धि पहिले पवित्र हुन्छ, त्यसपछि मिलनसार, कोमल, मनाउँदा मानिहाल्ने, दया र असल-असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ। 18 अनि मेलमिलाप गराउनेहरूका निम्तिग धार्मिकताको फल मेलमिलापमा छरिन्छ।