पक्षपातको पाप नगर!
2
हे मेरा भाइहरूहो, महिमाको प्रभु अर्थात् हाम्रा प्रभु येशू ख्रीष्टमाथि तिमीहरूको विश्वास विनापक्षपातको होस्। 2 किनकि तिमीहरूको सभामा कुनै मानिस सुनको औंठी लगाएर भड्किलो वस्त्र पहिरेर आयो भने, साथै एकजना गरिब मानिस पनि झुत्रे लुगा लाएर आयो भने; 3 अनि तिमीहरूले त्यस भड्किलो वस्त्र लगाउनेलाई आदर गरेर ‘तपाईं यस असल ठाउँमा बस्नुहोस्’ भनी भन्यौ, तर त्यस गरिबलाई चाहिँ ‘तिमी त्यहाँ उभ, कि ता मेरो पाउदानमुनि बस’ भनी भन्यौ भने, 4 के तिमीहरू आपसमा पक्षपात गर्नेहरू होइनौ र, अनि खराब विचारले न्याय गर्नेहरू भएनौ र?5 मेरा प्रिय भाइहरूहो सुन! के परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी र राज्यका हकदारहरू हुनलाई चुन्नुभएको छैन र? जुन राज्यको प्रतिज्ञाचाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूका निम्ति गर्नुभएको छ। 6 तर तिमीहरूले त्यस गरिबलाई तुच्छ ठानेका छौ। के धनी मानिसहरूले तिमीहरूलाई थिचोमिचो गर्दैनन् र? अनि तिमीहरूलाई न्यायआसनहरूको सामु घिसारेर लैजाँदैनन् र? 7 के तिनीहरूले त्यस उत्तम नामको निन्दा गर्दैनन् र, जुन नामले तिमीहरू बोलाइँदछौ?क
8 यदि तिमीहरूले साँच्चै पवित्र शास्त्रअनुसार, ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर’ख भन्ने राजकीय व्यवस्था पूरा गर्यौ भने तिमीहरू असल गर्दछौ। 9 तर तिमीहरूले पक्षपात गर्यौ भने तिमीहरू पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ। 10 किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको हुन्छ। 11 किनकि जसले ‘व्यभिचार नगर’ग भन्नुभयो, उहाँले ‘हत्या नगर’घ पनि भन्नुभयो। अनि तिमीले व्यभिचार नगरे तापनि हत्याचाहिँ गर्यौ भने तिमी व्यवस्था भङ्ग गर्ने भएका छौ। 12 तिमीहरू उनीहरूले जस्तै बोल र काम गर, जसको न्याय स्वतन्त्रताको व्यवस्थाद्वारा हुनेछ। 13 किनकि जसले दया देखाएको छैन, त्यसको न्याय विनादया नै हुनेछ; अनि दयाले न्यायको विरोधमा गर्व गर्नेछ।
कामविनाको विश्वास मुर्दा हो
14 हे मेरा भाइहरूहो, कुनै मानिसले ‘मसँग विश्वास छ’ भनी भन्ला, तर ऊसँग कामहरूचाहिँ छैनन् भने के फाइदा भयो र? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र? 15 कोही भाइ वा बहिनी नाङ्गो छ, र उनीहरूलाई दिनहुँ चाहिने खानेकुराको खाँचो छ; 16 अनि तिमीहरूमध्ये कसैले उनीहरूलाई ‘शान्तिसित जाओ, न्यानो भएर बस र पेटभरि खाओ’ भन्छ, तरै पनि तिमीहरूले उनीहरूलाई शरीरका लागि चाहिने कुराहरूचाहिँ दिएनौ भने के फाइदा भयो र? 17 यही प्रकारले विश्वास पनि, यदि त्यसका कामहरू छैनन् भने एकलो भई त्यो मरेकोङ हुन्छ।
18 तर कसैले भन्ला: ‘तिमीसँग विश्वास छ, तर मसँग कामहरू छन्; तिम्रो विश्वास तिम्रा कामहरूविना मलाई देखाऊ, र म तिमीलाई मेरो विश्वास मेरा कामहरूद्वारा देखाउनेछु।’ 19 एक परमेश्वर हुनुहुन्छ भनी तिमी विश्वास गर्दछौ; तिमीले असल गर्दछौ। दुष्ट आत्माहरूले पनि विश्वास गर्छन्, र तिनीहरू थरथर काम्छन्। 20 तर हे बेकम्मा मानिस, कामहरूविनाको विश्वासचाहिँ मरेको हुन्छङ भन्ने के तिमी जान्न चाहन्छौ? 21 हाम्रा पिता अब्राहामले जब आफ्ना छोरा इसहाकलाई वेदीमाथि चढ़ाए, तब के उनी कामहरूद्वारा धर्मी ठहरिएका थिएनन् र? 22 उनका कामहरूसँग विश्वासले कार्य गरिरहेको थियो, र कामहरूद्वारा त्यो विश्वास सिद्ध पारियो, के तिमीले देख्यौ? 23 अनि पवित्र शास्त्रको वचन पूरा भयो, जसले भन्दछ:
‘अब्राहामले परमेश्वरलाई विश्वास गरे, अनि योचाहिँ उनका निम्ति धार्मिकता गनियो;’च
अनि उनी परमेश्वरको साथी भनिए। 24 यसर्थ मानिस विश्वासद्वारा मात्र होइन, तर कामहरूद्वारा धर्मी ठहरिन्छ भन्ने कुरा तिमीहरूले देख्यौ।