ख्रीष्ट येशूलाई हेर!
12
यसकारण हामी पनि यति ठूलो साक्षीहरूको बादलले घेरिएका हुनाले आओ, हरेक भार र त्यो पाप पन्साऔं, जसले हामीलाई सजिलै जेल्दछ, र धीरजसँग हाम्रो सामु राखिएको त्यो दौड़ दगुरौं, 2 हाम्रो विश्वासको कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै, जसले आफ्नो अघिल्तिर राखिएको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रूसको शासना सहनुभयो, र परमेश्वरको सिंहासनको दाहिने हातपट्टि बस्नुभयो। 3 उहाँ जसले आफ्नो विरुद्धमा पापीहरूको यस्तो विरोध सहनुभयो, उहाँलाई यस हेतुले विचार गर, कि तिमीहरू थकित नहोओ र आफ्ना मनहरूमा हताश नहोओ। 4 अहिलेसम्म तिमीहरूले पापको विरोधमा लड़ाइँ गर्दै रगत बगुन्जेल सामना गरेका छैनौ।5 अनि तिमीहरूले त्यो अर्ती बिर्सेका छौ, जसले तिमीहरूसँग छोराहरूसँग झैं कुरा गर्दछ:
‘हे मेरा छोरा, परमप्रभुको ताड़नालाई तुच्छ नठान, न ता उहाँद्वारा तिमीले हप्की पाउँदा हताश होऊ; 6 किनकि जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, उसलाई ताड़ना पनि दिनुहुन्छ, अनि आफूले अपनाएको हरेक छोरालाई कोर्रा पनि लाउनुहुन्छ।’क
7 यदि तिमीहरूले ताड़ना सह्यौ भने परमेश्वरले तिमीहरूसित छोराहरूसित झैं व्यवहार गर्नुहुन्छ; किनकि कुनचाहिँ छोरा होला, जसलाई बुबाले ताड़ना दिँदैनन्? 8 तर तिमीहरूले ताड़ना पाएनौ भने, जुन ताड़नाका भागी सबैजना हुन्छन्, तब तिमीहरू व्यभिचारद्वारा जन्मेका सन्तान हौ, छोराहरू होइनौ। 9 फेरि, हाम्रा शारीरिक बुबाहरू थिए, जसले हामीलाई ताड़ना दिन्थे, र हामीले उनीहरूलाई आदर गर्यौं; त के आत्माहरूको पिताको अधीनतामा हामी झन् बढ़ी नबसौं? र नबाँचौं? 10 किनकि साँच्चै उनीहरूले त जुन कुरा उनीहरूलाई असल लाग्दथ्यो, त्यही कुराअनुसार थोरै दिनका निम्ति हामीलाई ताड़ना दिए; तर उहाँले त, हामी उहाँको पवित्रताका भागी होऔं भनेर हाम्रो फाइदाका निम्ति ताड़ना दिनुहुन्छ। 11 अनि कुनै पनि ताड़ना अहिलेलाई आनन्दमय होइन, तर दुःखदायी नै देखा पर्छ; तरै पनि यस तालिमद्वारा अभ्यस्त भइसकेकाहरूका निम्ति यसले पछिबाट धार्मिकताको शान्तिमय फल दिनेछ।
स्वर्गीय यरूशलेमलाई हेर!
12 यसकारण लत्रिएका हातहरू र कमजोर घुँड़ाहरू सीधा पार! 13 अनि लङ्गड़ो बाटोबाट नभड़्कोस्, तर बरु त्यो निको होस् भनेर आफ्ना पाउका निम्ति सीधा बाटाहरू बनाओ! 14 सबैजनासँग मेलमिलापमा बस्ने प्रयत्न गर, र पवित्रताको पछि लाग, जुन पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन। 15 कहीं कुनै मानिस परमेश्वरको अनुग्रहबाट घटी हुन जान्छ कि, कहीं कुनै तीतो जरा उम्रेर तिमीहरूलाई कष्ट दिन्छ कि, र त्यसद्वारा धेरैजना अशुद्ध हुन्छन् कि; 16 कहीं कोही मानिस व्यभिचारी अथवा एसावजस्तो अधर्मी हुन्छ कि भनी यत्नपूर्वक हेरिरहो; जुन एसावले एक छाक खानेकुराका निम्ति आफ्नो जन्म-अधिकार बेचिदियो। 17 किनकि तिमीहरूलाई थाहै छ, पछिबाट त्यसले आशिषको हकदार हुन चाहँदा त्यो रद्द गरियो; किनकि त्यसले आँसु बहाई-बहाई यत्नपूर्वक त्यो कुरा खोजे तापनि पश्चात्तापको कुनै ठाउँ पाएन।
18 किनकि तिमीहरू त्यस पर्वतमा आएका छैनौ, जसलाई छुन सकिन्थ्यो, र जुनचाहिँ आगोले बल्थ्यो; न ता तिमीहरू कालो बादल, अन्धकार, आँधी, 19 तुरहीको ध्वनि र वचनहरू बोल्ने त्यस वाणीकहाँ नै आएका छौ, जुन वाणी जस -जसले सुने, तिनीहरूले त्यो वचन फेरि तिनीहरूलाई नभनियोस् भनी विन्ती गरे; 20 किनकि तिनीहरूले त्यो आज्ञा सहन सकेनन्, जुन आज्ञा यसरी दिइएको थियो: ‘अनि यदि कुनै पशुले पनि पहाड़ छोयो भने त्यो ढुङ्गाले हानियोस्, अथवा काँड़ले छेंड़ियोस्।’ख 21 अनि दृश्य यति भयानक थियो, कि मोशाले भने: ‘म साह्रै डराउँदैछु, र काम्दैछु।’
22 तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको शहर स्वर्गीय यरूशलेममा र स्वर्गदूतहरूको असंख्य जमातमा, 23 सर्वसाधारण सभामा, जेठा छोराहरूको मण्डलीमा, जसका नाम स्वर्गमा लेखिएका छन्, र सबैका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धर्मी जनहरूका आत्माहरूकहाँ, 24 नयाँ वाचाको मध्यस्थ येशूकहाँ र त्यस रगतको छिट्काउमा आएका छौ, जुन रगतले हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ।
25 होसियार होओ! त्यस बोल्नुहुनेलाई इन्कार नगर; किनकि पृथ्वीमाथि बोल्नेलाई जसले इन्कार गरे, तिनीहरू उम्केनन् भने स्वर्गदेखि बोल्नुहुनेबाट हामीले मुख फर्कायौं भने हामी झन् बढ़्ता गरी उम्कनेछैनौं; 26 उहाँको शब्दले त्यस घड़ी पृथ्वीलाई हल्लाइदियो। तर अब त उहाँले यसो भन्दै प्रतिज्ञा गर्नुभएको छ:
‘अझै एकपल्ट म पृथ्वीलाई मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउँछु।’ग
27 अनि ‘अझै एकपल्ट’ भन्ने वचनले के सङ्केत गर्छ भने हल्लन सकिने चीजहरू यस हेतुले बनाइएका चीजहरूजस्तै हटिजान्छन्, कि हल्लाउँन नसकिने चीजहरू रहिरहून्।