विश्‍वासका साक्षीहरू
11
अब विश्‍वासचाहिँ आशा गरिएका वस्तुहरूको निश्‍चयता र नदेखिएका कुराहरूको प्रमाण हो। 2 किनकि यही विश्‍वासद्वारा प्राचीनहरूले असल गवाही प्राप्‍त गरे।
3 विश्‍वासैद्वारा हामी बुझ्छौं: परमेश्‍वरको वचनद्वारा संसारहरू बनिए; यसो भए देखिएका कुराहरूचाहिँ देखा पर्ने कुराहरूद्वारा बनिएका होइनन्।
4 विश्‍वासैद्वारा हाबिलले परमेश्‍वरलाई कयिनको भन्दा उत्तम बलिदान चढ़ाए, जसद्वारा तिनले आफू धर्मी रहेछन् भन्‍ने गवाही प्राप्‍त गरे। परमेश्‍वरले नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो; र यसैद्वारा तिनी मरे तापनि अझै कुरा गर्दछन्।
5 विश्‍वासैद्वारा हनोक मृत्यु देख्‍नु नपरोस् भनेर उठाइए, अनि तिनी पाइएनन्; किनभने परमेश्‍वरले तिनलाई उठाउनुभएको थियो; किनकि तिनी उठाइनुभन्दा पहिले तिनले परमेश्‍वरलाई खुशी पारेको गवाही पाएका थिए। 6 तर विनाविश्‍वास उहाँलाई खुशी पार्नु असम्भव छ; किनकि परमेश्‍वरकहाँ आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्‍नसित खोज्‍नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ।
7 विश्‍वासैद्वारा नूहले त्यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा परमेश्‍वरद्वारा चेताउनी पाए र डराएर आफ्नो परिवारको उद्धारका निम्ति एउटा जहाज तयार पारे, जुन जहाजद्वारा उनले संसारलाई दोषी ठहराए, र उनी विश्‍वासैद्वारा हुने धार्मिकताका हकवाला बने।
8 जब अब्राहामले त्यस ठाउँमा निस्केर जानलाई बोलावट पाए, जुन ठाउँ उनले पछिबाट हकको सम्पत्तिको रूपमा पाउनेथिए, तब उनले विश्‍वासैद्वारा आज्ञापालन गरे, अनि उनी कहाँ गइरहेका थिए, सो थाहा नपाए तापनि उनी निस्के। 9 विश्‍वासैद्वारा उनी एउटा पराई देशमा झैं प्रतिज्ञाको देशमा एकै प्रतिज्ञाका साझा हकवाला इसहाक र याकूबको साथमा तम्बूहरूमा वास गर्दै परदेशी रहे; 10 किनकि उनले जगहरू भएको त्यस शहरको बाटो हेर्दथिए, जसको रचना गर्नुहुने र बनाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ।
11 विश्‍वासैद्वारा सारा आफैले पनि सन्तान गर्भधारण गर्ने बल पाइन्, र उमेर ढल्किसकेको अवस्थामा तिनले बालक जन्माइन्; किनकि तिनले प्रतिज्ञा गर्नुहुनेलाई विश्‍वासयोग्य मानिन्। 12 यसैकारण एकैजनाबाट र मुर्दासरह भइसकेका व्यक्तिबाट आकाशका ताराहरूझैं ठूलो भीड़ र समुद्रको किनारको बालुवाजति अनगन्ती सन्तान उत्‍पन्‍न भए।
13 यी सबैजन प्रतिज्ञा गरिएका कुराहरू नपाईकन विश्‍वासमा मरे, तर ती कुराहरू टाढ़ामा देखेर यिनीहरू तिनको सम्बन्धमा निश्‍चित भए, र तिनलाई अँगाले; अनि ‘पृथ्वीमा त हामी परदेशी र यात्री रहेछौं’ भनी उनीहरूले मानिलिए। 14 किनकि जसले यस्ता कुराहरू भन्दछन्, उनीहरूले स्पष्‍टसँग यो जाहेर गर्दछन्, कि उनीहरू स्वदेशको खोजमा छन्। 15 अनि साँच्‍चै जुन देशबाट उनीहरू निस्केर आए, त्यसको देशको सम्झना उनीहरूले गरेका भए, उनीहरूले फर्केर जाने मौका पाउनेथिए। 16 तर अब उनीहरूले अझै उत्तम देश अर्थात्‌ स्वर्गीय देशको चाहना गर्दछन्; यसकारण परमेश्‍वर उनीहरूका परमेश्‍वर भनिनुदेखि शर्माउनुहुन्‍न; किनकि उहाँले उनीहरूका निम्ति एउटा शहर तयार पार्नुभएको छ।
17 विश्‍वासैद्वारा अब्राहामले, उनको जाँच हुँदा इसहाकलाई चढ़ाए। अनि जसले प्रतिज्ञाहरू पाएका थिए, उनले आफ्नो एकमात्र जन्माइएको छोरालाई चढ़ाए, 18 जसको विषयमा यस्तो भनिएको थियो: ‘इसहाकमै तिम्रो वंशको नाम लिइनेछ,’ 19 र तिनलाई मरेकाहरूबाट पनि बौराएर उठाउन परमेश्‍वर सामर्थी हुनुहुन्छ भन्‍ने ठाने; जहाँबाट नै उनले तिनलाई दृष्‍टान्तको रूपमा पाए पनि।
20 विश्‍वासैद्वारा इसहाकले पछि आउने कुराहरूको विषयमा याकूब र एसावलाई आशीर्वाद दिए।
21 विश्‍वासैद्वारा याकूबले आफू मर्न लाग्दा यूसुफका दुवै छोराहरूलाई आशीर्वाद दिए; अनि आफ्नो लौरोको टुप्पामा अड़ेसिएर दण्डवत् गरे।
22 विश्‍वासैद्वारा यूसुफले आफू मर्न लाग्दा इस्राएलका सन्तानहरूको निस्केर जाने विषयमा चर्चा गरे र आफ्ना हड्डीहरूको विषयमा आज्ञा दिए।
23 विश्‍वासैद्वारा मोशा जन्मिएपछि तिनका बुबाआमाद्वारा तीन महिनासम्म लुकाइए; किनभने तिनीहरूले देखे, ती बालक सुन्दर रहेछन्; अनि तिनीहरू राजाको आज्ञादेखि डराएनन्।
24 विश्‍वासैद्वारा मोशाले, उमेरदार भएपछि फाराओकी छोरीका पुत्र कहलाइन इन्कार गरे; 25 थोरै समयसम्म पापको मोजमज्जा भोग्नुभन्दा बरु परमेश्‍वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे; 26 तिनले ख्रीष्‍टको निन्दालाई चाहिँ मिस्रको धनसम्पत्तिभन्दा ठूलो धन सम्झे; किनकि तिनको आँखा इनाममाथि लागेको थियो।
27 विश्‍वासैद्वारा तिनले राजाको क्रोधसँग नडराईकन मिस्र देशलाई छोड़े; किनकि उहाँ जो देखिनुहुन्‍न, उहाँलाई देखेजस्तै गरी तिनी स्थिर रहे। 28 जेठाहरूलाई नाश गर्नुहुनेले कहीं उनीहरूलाई पनि छोलान् कि भनेर तिनले विश्‍वासैद्वारा निस्तार र रगत-छिट्काइ पालन गरे।
29 विश्‍वासैद्वारा उनीहरू लाल समुद्रबाट सुक्खा जमिनबाट भएझैं गरी पार भए; मिस्रीहरूले पनि त्यसै गर्न खोज्दा तिनीहरू डुबिहाले।
30 विश्‍वासैद्वारा सात दिनसम्म फन्को लगाइएपछि येरिहोका पर्खालहरू ढले। 31 विश्‍वासैद्वारा वेश्या राहाब, जब उसले ती जासूसहरूलाई मेलको भावले ग्रहण गरी, तब ऊ विश्‍वास नगर्नेहरूसँग नष्‍ट भइन।
32 अनि अरू बढ़्‍ता म के भनूँ? गिदोनको विषयमा, बाराक, शिमसोन, यिप्‍तह, दाऊद, शमूएल र भविष्यवक्ताहरूको विषयमा बताइदिने समय मसँग रहनेछैन, 33 जसले विश्‍वासैद्वारा राज्यहरू वशमा राखे, धार्मिकताको काम गरे, प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गरे, सिंहहरूका मुख बन्द गरे, 34 आगोको प्रचण्डतालाई निभाए, तरवारका धारबाट उम्के, कमजोर अवस्थाबाट बलवान् बने, लड़ाइँमा वीर बने, विदेशीहरूका फौजहरू भगाइदिए। 35 स्त्रीहरूले आफ्ना मरेकाहरूलाई जिउँदो पारिएको अवस्थामा प्राप्‍त गरे; अनि अरूले चाहिँ उत्तम बौरिउठाइ प्राप्‍त गरौं भनेर छुटकारा ग्रहण गरेनन्, तर कुटाइ खाई-खाई उनीहरू मरे। 36 अनि अरूचाहिँ गिल्‍ला गरिएर, कोर्रा खाएर, त्यसमाथि बन्धन र कैदमा परेर जाँचिए; 37 तिनीहरू ढुङ्गाले हानिए, आराले चिरिए, परीक्षामा परे, तरवारले मारिए; तिनीहरू कङ्गाल भएर, सतावट सहँदै, पीड़ा भोग्दै भेड़ाका छालाहरू र बाख्राका छालाहरू पहिरी चारैतिर घुमिहिँड़े; 38 संसार तिनीहरूको योग्य थिएन। तिनीहरू मरुभूमि, पहाड़ अनि पृथ्वीका गुफा र ओड़ारहरूहुँदो घुमिहिँड़े।
39 अनि यिनीहरू सबैले विश्‍वासको कारणले असल गवाही प्राप्‍त गरे तापनि प्रतिज्ञा गरिएका कुराहरूचाहिँ प्राप्‍त गरेनन्; 40 किनकि हामीविना तिनीहरू सिद्ध नहोऊन् भनेर परमेश्‍वरले हाम्रा निम्ति पहिलेबाट केही उत्तम कुराको प्रबन्ध गर्नुभएको थियो।