ख्रीष्ट येशूको सिद्ध बलिदान
10
किनकि जुन व्यवस्थासँग पछि आउने असल कुराहरूको खास रूपचाहिँ होइन, तर तिनको छाया मात्र थियो, त्यस व्यवस्थाले ती एकै प्रकारका बलिदानहरूद्वारा, जुन बलिदानहरू तिनीहरूले वर्ष-वर्ष निरन्तर चढ़ाइरहेका थिए, नजिक आउनेहरूलाई कहिल्यै सिद्ध पार्न सक्दैन। 2 नत्र ता के ती बलिदानहरू चढ़ाइन बन्द हुनेथिएनन् र? किनभने एकपल्ट शुद्ध पारिएपछि विवेकले सेवा गर्नेहरूलाई फेरि कहिल्यै पापी नठहराउनुपर्थ्यो। 3 तर ती बलिदानहरूद्वारा हरेक वर्ष फेरि पापहरूको सम्झना हुन्छ। 4 किनकि बहर र बोकाहरूको रगतले पापहरू हरण गर्नु असम्भव छ। 5 यसैकारण संसारमा आउनुहुँदा उहाँ भन्नुहुन्छ:‘ बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार पार्नुभएको छ। 6 होमबलि र पापबलिहरूमा तपाईं प्रशन्न हुनुभएन। 7 तब मैले भनें: “हेर्नुहोस्, म आएको छु, पवित्र पुस्तकमा मेरो विषयमा लेखिएको छ, तपाईंको इच्छा पूरा गर्नलाई, हे परमेश्वर!” ’क
8 उहाँले माथि भन्नुभयो: ‘बलिदान र भेटी, अनि होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन, न ता तिनमा प्रशन्न हुनुभयो,’ जुनचाहिँ व्यवस्थाअनुसार चढ़ाइन्छन्; 9 त्यसपछि उहाँले भन्नुभयो: ‘हेर्नुहोस्, म तपाईंको इच्छा पूरा गर्न आएको छु, हे परमेश्वर!’ उहाँले पहिलोलाई हटाउनुहुन्छ, दोस्रोलाई स्थापित गर्नलाई। 10 त्यही इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एकैचोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौं।
11 अनि दिनहुँ हरेक पूजाहारी सेवा गर्दै र घरीघरी एकै प्रकारका बलिदानहरू चढ़ाउँदै खड़ा रहन्छन्, जुन बलिदानहरूले पापहरू कहिल्यै हरण गर्न सक्दैनन्; 12 तर यी व्यक्ति त पापहरूका निम्ति एउटै बलिदान चढ़ाएर सदाका निम्ति परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो; 13 त्यस समयदेखि तबसम्म उहाँ पर्खिरहनुहुन्छ, जबसम्म उहाँका शत्रुहरू उहाँको पाउदान बनाइँदैनन्। 14 किनकि एउटै बलिदानद्वारा उहाँले पवित्र पारिएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ। 15 अनि पवित्र आत्माले पनि हामीलाई यही गवाही दिनुहुन्छ; किनकि उहाँले पहिले यसो भन्नुभयो: 16 ‘जुन वाचा म ती दिनहरूपछि तिनीहरूसित बाँध्नेछु, त्यो वाचा यही हो, परमप्रभु* भन्नुहुन्छ, म मेरा व्यवस्थाहरू तिनीहरूका हृदयहरूभित्र हालिदिनेछु र तिनलाई तिनीहरूका मनहरूमा लेखिदिनेछु;’ त्यसपछि उहाँले फेरि भन्नुभयो: 17 ‘तिनीहरूका पापहरू र तिनीहरूका अपराधहरू म कहिल्यै सम्झना गर्नेछैनँ।’ 18 अब जहाँ यी कुराहरूको पाप क्षमाख हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदान बाँकी रहँदैन।
विश्वासमा स्थिर रह!
19 यसकारण भाइहरूहो, येशूको रगतद्वारा महापवित्रस्थानभित्र प्रवेश गर्ने हिम्मत प्राप्त भएको हुनाले, 20 एउटा नयाँ र जिउँदो बाटोद्वारा, जुन बाटो उहाँले त्यस पर्दाद्वारा हाम्रा निम्ति खोल्नुभयो, ग जुनचाहिँ उहाँको शरीर हो, 21 र परमेश्वरको घरमाथि एकजना महापूजाहारी हुनुभएको हुनाले, 22 आओ, साँचो मनले, विश्वासको पूरा निश्चयतामा, दुष्ट विवेकबाट शुद्ध हुनलाईघ आफ्ना हृदयहरूमा छिट्काउ लिएर र आफ्ना शरीरहरू शुद्ध जलले धोएर हामी नजिकमा जाऔं! 23 आओ, हाम्रो विश्वासकोङ अङ्गीकारलाई हामी स्थिर भएर बलियो गरी पक्रौं; किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ; 24 अनि आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई हामी एक-अर्काको चिन्ता गरौं, 25 र कसै-कसैको आदत भएझैं हामी एक ठाउँमा भेला हुन नछोड़ौं, तर एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, त्यति नै बढ़ी हामी यसो गर्ने गरौं!
26 किनकि सत्यताको ज्ञान प्राप्त गरेपछि यदि हामी इच्छापूर्वक पाप गर्दछौं भने पापहरूका निम्ति कुनै बलिदान बाँकी रहँदैन, 27 तर न्यायको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने आगोको ज्वाला मात्र बाँकी रहन्छन्। 28 जसले मोशाको व्यवस्था तुच्छ ठान्थ्यो, त्योचाहिँ दुईजना वा तीनजना साक्षीका वचनको आधारमा विनादया मर्थ्यो भने, 29 तिमीहरूले विचार गर, त्यो मानिस झन् कति कड़ा दण्डको योग्य ठहरिनेछ, जसले परमेश्वरको पुत्रलाई पाउमुनि कुल्चेको छ, वाचाको त्यस रगतलाई, जसद्वारा ऊ पवित्र पारिएको थियो, अपवित्र ठानेको छ र अनुग्रहको आत्मालाई अपमान गरेको छ? 30 किनकि हामी उहाँलाई चिन्छौं, जसले भन्नुभएको छ:
‘बदला लिने काम मेरो हो; म नै बदला दिनेछु, परमप्रभु भन्नुहुन्छ।’च
अनि फेरि,
‘परमप्रभुले आफ्ना जनहरूको न्याय गर्नुहुनेछ।’छ
31 जीवित परमेश्वरका हातमा पर्नु डरलाग्दो कुरा हो।
32 तर ती पहिलेका दिनहरू सम्झ, जुन दिनहरूमा तिमीहरूले ज्योति पाएपछि दुःखहरूको ठूलो संघर्ष सह्यौ; 33 कहिले चाहिँ जब तिमीहरू निन्दा र कष्टहरूको कारणले तमाशा बन्यौ, र कहिले चाहिँ जब तिमीहरू यस्तो अवस्थामा परेकाहरूसँग सहभागी बन्यौ। 34 किनकि मेरो बन्धनमाज तिमीहरू मसँगै दुःखी भयौ, र स्वर्गमा तिमीहरूका निम्ति उत्तम र रहिरहने सम्पत्ति छ भन्ने जानेर तिमीहरूले आनन्दसाथ आफ्ना धनसम्पत्ति लुट्न दियौ।
35 यसकारण आफ्नो हिम्मत नफाल, जसको ठूलो इनाम छ। 36 किनकि परमेश्वरको इच्छा पूरा गरेर तिमीहरूलाई प्रतिज्ञा गरिएको कुरा पाउनलाई धीरजको खाँचो छ।
37 ‘किनभने थोरै समयपछि उहाँ, जो आउनुहुन्छ, आउनुहुनेछ, र ढिलो गर्नुहुनेछैन। 38 अनि धर्मी जन विश्वासद्वारा जिउनेछ; तर कोही पछि हट्छ भने मेरो प्राण त्योसँग प्रशन्न हुनेछैन।’झ
39 तर हामी तिनीहरूमध्येका होइनौं, जो नाश हुनलाई पछि हट्छन्, तर हामी उनीहरूमध्येका हौं, जसले प्राण बचाउनलाई विश्वास गर्छन्।