13
भाइ-भाइको प्रेम रहिरहोस्। 2 परदेशीहरूलाई अतिथिसत्कार गर्न नबिर्स; किनकि यसो गरेर कतिले थाहा नपाईकन स्वर्गदूतहरूलाई सत्कार गरेका छन्। 3 कैदमा भएकाहरूलाई आफू पनि तिनीहरूसितै कैदमा भएझैं गरी र अत्याचारमा परेकाहरूलाई तिमीहरू आफू पनि शरीरमा भएझैं गरी सम्झना गर! 4 विवाह सबैको बीचमा आदरको योग्य मानियोस्, र ओछ्यान निष्कलङ्क रहोस्; तर व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ। 5 तिमीहरूको चालचलन पैसाको लोभरहित भएको होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तुष्‍ट होओ; किनकि उहाँ आफैले भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै रीतिले छोड़्‍नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्‍नेछु।’ 6 यसकारण हामी हिम्मतसँग भन्‍न सक्छौ: ‘परमप्रभु’ मेरो सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ; मानिसले मलाई के गर्न सक्छ र?’
7 आफ्ना अगुवाहरूलाई सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सुनाएका छन्; उनीहरूको चालचलनको परिणाम विचार गरेर उनीहरूको विश्‍वासको देखासिकी गर! 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैंभरि एकसमान हुनुहुन्छ। 9 नाना प्रकारका र अनौठा शिक्षाहरूद्वारा यता र उता नलगिओ; किनकि अनुग्रहद्वारा हृदय स्थिर हुनु असल कुरा हो, खानेकुराहरूद्वारा होइन, जसद्वारा तिनमा भागी हुनेहरूलाई कुनै फाइदा भएन।
10 हामीसँग एउटा वेदी छ, जसबाट निवासस्थानको सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 किनकि ती पशुहरूका शरीर, जसको रगतचाहिँ महापूजाहारीद्वारा पापका निम्ति पवित्रस्थानभित्र लगिन्छ, छाउनीबाहिर जलाइन्छन्। 12 यसैकारण येशूले पनि आफ्नो रगतद्वारा मानिसहरूलाई पवित्र पार्न मूलढोकाबाहिर दुःख भोग्नुभयो। 13 यसैकारण आओ, उहाँको निन्दा बोकेर हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं; 14 किनभने यहाँ हाम्रो कुनै रहिरहने शहर छैन, तर हामी त पछि आउने शहरको खोजी गर्दछौं। 15 यसकारण आओ, हामी उहाँद्वारा परमेश्‍वरलाई निरन्तर स्तुतिरूपी बलिदान चढ़ाऔं, जुनचाहिँ उहाँको नामलाई धन्यवाद चढ़ाउने हाम्रा ओठको फल हो। 16 तर भलाइ गर्न र बाँड़चुँड़ गर्न नबिर्स; किनकि यस किसिमका बलिदानहरूसँग परमेश्‍वर खूबै प्रशन्‍न हुनुहुन्छ।
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर र आफूलाई उनीहरूको अधीनतामा सुम्प; किनकि हिसाब दिनुपर्नेहरू जस्तो गरी उनीहरू तिमीहरूका प्राणहरूका निम्ति जागा रहन्छन्; र यो काम उनीहरूले दुःख मान्दै होइन, तर आनन्दसाथ गरून्; किनकि यो तिमीहरूका निम्ति लाभदायक हुँदैन।
18 हाम्रा निम्ति प्रार्थना गर; किनकि हामीसित असल विवेक छ भन्‍ने कुरामा हामी निश्‍चित छौं; सबै कुराहरूमा हामी इमानदारीसँग जिउन इच्छुक छौं। 19 र यही गरिदेओ भनी म तिमीहरूलाई झन् बढ़ी विन्ती गर्दछु, फलस्वरूप म तिमीहरूकहाँ झन् चाँड़ै फर्काइएको होऊँ।
20 अब शान्तिका परमेश्‍वर जसले भेड़ाहरूको महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त वाचाको रगतद्वारा मरेकाहरूबाट बौराएर उठाउनुभयो, 21 उहाँले तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्ने गरी सिद्ध पारेका होऊन्, र उहाँको दृष्‍टिमा जे अति मनपर्दो छ, सो तिमीहरूमा येशू ख्रीष्‍टद्वारा पूरा गरेका होऊन्; उहाँलाई सदा-सर्वदा महिमा भइरहोस्! आमेन।
22 अनि भाइहरूहो, म तिमीहरूलाई मेरो अर्तीपूर्ण वचन सहिदिन विन्ती गर्दछु; किनकि मैले तिमीहरूलाई थोरै शब्दहरूमा पत्र लेखेको छु। 23 तिमीहरूलाई थाहा होस्: हाम्रा भाइ तिमोथीले छुटकारा पाएका छन्; उनी चाँड़ै आउँछन् भने उनीसित म तिमीहरूलाई भेट्नेछु। 24 तिमीहरूका सबै अगुवाहरूलाई र सबै पवित्र जनहरूलाई सलाम भनिदेओ! इटालीकाहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। 25 तिमीहरू सबैसँग अनुग्रह रहोस्! आमेन।