नयाँ वाचा
8
अब हामीले गरिरहेका कुराहरूको सार यही हो: हामीसँग यस्ता महापूजाहारी हुनुहुन्छ, जो स्वर्गहरूमा महामहिमको सिंहासनको दाहिने हातपट्टि बस्नुभएको छ; 2 उहाँ पवित्रस्थानको र त्यस साँचो निवासस्थानको सेवक हुनुहुन्छ, जुनचाहिँ मानिसले होइन, तर प्रभुलेक खड़ा गर्नुभयो। 3 किनकि प्रत्येक महापूजाहारीलाई दानहरू र बलिदानहरू चढ़ाउनका निम्ति नियुक्त गरिन्छ; यसकारण यहाँसँग पनि चढ़ाउनका निम्ति केही थोक हुनु खाँचो छ। 4 किनकि उहाँ पृथ्वीमा हुनुभएको भए उहाँ पूजाहारी नै हुनुहुनेथिएन, किनकि व्यवस्थाअनुसार दानहरू चढ़ाउने पूजाहारीहरू त छँदैछन्। 5 तिनीहरूले स्वर्गका चीजहरूका नमुना र छायाको सेवा गर्दछन्, जसरी मोशाले निवासस्थान बनाउन लागेको बेलामा परमेश्वरबाट निर्देश पाएका थिए; किनकि उहाँ भन्नुहुन्छ:‘हेर, तिमीलाई पहाड़मा देखाइएको नमुनाअनुसार तिमीले सबै कुराहरू बनाउनू!’ख
6 तर अब उहाँले त्यति नै उत्तम सेवा प्राप्त गर्नुभएको छ, जति उहाँ एउटा उत्तम वाचाको मध्यस्थ पनि हुनुहुन्छ, जुन वाचाचाहिँ उत्तम प्रतिज्ञाहरूमाथि बसालिएको छ।
7 किनकि यदि त्यो पहिलो वाचाचाहिँ दोषरहित भएको भए दोस्राका निम्ति ठाउँ खोजिनेथिएन। 8 किनभने तिनीहरूमा दोष भेट्टाउँदै उहाँ भन्नुहुन्छ:
‘हेर, दिनहरू आइरहेका छन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएलको घराना र यहूदाको घरानासँग एउटा नयाँ वाचा बाँध्नेछु; 9 त्यस वाचाअनुसार होइन, जुन वाचाचाहिँ मैले तिनीहरूका पितापुर्खाहरूसँग त्यस दिनमा बाँधेको थिएँ, जब मैले उनीहरूलाई मिस्र देशबाट डोर्याएर निकाल्ने उद्देश्यले मैले उनीहरूलाई हातमा समातेको थिएँ; किनभने उनीहरू मेरो वाचामा लागिरहेनन्, र मैले उनीहरूको वास्ता गरिनँ, परमप्रभु भन्नुहुन्छ। 10 किनकि यही नै त्यो वाचा हो, जुनचाहिँ ती दिनहरूपछि म इस्राएलको घरानासँग बाँध्नेछु, परमप्रभु भन्नुहुन्छ, म मेरा व्यवस्थाहरू तिनीहरूको मनमा हालिदिनेछु र तिनलाई तिनीहरूका हृदयहरूमा लेखिदिनेछु; अनि म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरो प्रजा हुनेछन्। 11 अनि तिनीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई ‘परमप्रभुलाई चिन!’ भन्दै सिकाउनेछैनन्; किनकि तिनीहरूमा सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्। 12 किनकि तिनीहरूका अधर्महरूप्रति म कृपालु हुनेछु, र तिनीहरूका पापहरू र तिनीहरूका अपराधहरू म फेरि कहिल्यै सम्झना गर्नेछैनँ।’ग
13 ‘एउटा नयाँ वाचा’ भनीकन उहाँले पहिलोलाई पुरानो पार्नुभएको छ। अनि जुनचाहिँ पुरानो पारिन्छ र बूढ़ो हुन्छ, त्यो लुप्त हुन लागेको छ।