ख्रीष्ट येशू मेल्किसेदेकको रीतिबमोजिम महापूजाहारी हुनुहुन्छ
7
किनकि यही मेल्किसेदेक, शालेमको राजा, सर्वोच्च परमेश्वरको पूजाहारी, जसले राजाहरूलाई मारेर फर्किरहेका अब्राहामलाई भेटे र तिनलाई आशिष् दिए, 2 जसलाई अब्राहामले सबै थोकहरूको दसौं अंश पनि दिए, उनी नामको अर्थअनुसार पहिले ‘धार्मिकताको राजा’, र त्यसपछि ‘शालेमको राजा’ अर्थात् शान्तिको राजा पनि हुन्; 3 उनी विनापिता, विनामाता, विनावंशका हुन्; उनका न दिनहरूको शुरु छ, न जीवनको अन्त; तर उनी परमेश्वरको पुत्रजस्तै थिए; उनी निरन्तर पूजाहारी भएर रहन्छन्। 4 अब उनी कति महान् रहेछन्, सो कुरा ध्यान देओ, जसलाई कुलपति अब्राहामले समेत लुटका मालको दसौं अंश दिए! 5 अनि साँच्चै लेवीका छोराहरूमध्ये जसले पूजाहारीको पद पाउँछन्, तिनीहरूले मानिसहरूबाट अर्थात् आफ्नै दाजुभाइहरूबाट, चाहे ती अब्राहामकै शरीरबाट जन्मेका किन नहोऊन्, व्यवस्थाअनुसार दसौं अंश लिने आज्ञा पाएका छन्; 6 तर उनी जो तिनीहरूको वंशका थिएनन्, उनैले अब्राहामबाट दसौं अंश लिए र तिनलाई आशिष् दिए, जसले प्रतिज्ञाहरू पाएका थिए। 7 अनि ठूलोबाटक सानोले आशिष् पाउँछ, यसमा कुनै प्रतिवाद छैन। 8 अनि यहाँ मरणशील मानिसहरूले दसौं अंशहरू लिन्छन्, तर त्यहाँ उनले लिन्छन्, जसको विषयमा ‘उनी जिउँछन्’ भन्ने गवाही दिइएको छ। 9 अनि यसो भन्न सकिन्छ: दसौं अंशहरू लिने लेवीले पनि अब्राहाममा भई दसौं अंश दिए। 10 किनकि मेल्किसेदेकले तिनको पितालाई भेट्दाखेरी तिनी अझै पिताको शरीरमाख थिए।11 यसकारण लेवीय पूजाहारीगिरीद्वारा सिद्धता हुँदो हो ता – किनकि यसैको आधारमा मानिसहरूले व्यवस्था पाए – मेल्किसेदेकको रीतिमुताबिकको अर्को पूजाहारीलाई उठ्नु र हारूनको रीतिमुताबिकको नभनिनु के अझै खाँचो पर्थ्यो र? 12 किनकि पूजाहारीगिरी बदली भएको खण्डमा व्यवस्था पनि बदली हुनु खाँचो छ। 13 किनकि जसको विषयमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलको हुनुहुन्थ्यो, जुन कुलको कुनै मानिसले पनि वेदीको सेवा गरेन। 14 किनकि कुरा स्पष्ट छ: हाम्रा प्रभु यहूदाबाट निस्कनुभयो, जुन कुलको विषयमा मोशाले पूजाहारीगिरीको सम्बन्धमा केही कुरा भनेनन्।
15 अनि यो अझै बढ़ी स्पष्ट छ: मेल्किसेदेकको समानतामा अर्कै पूजाहारी उठ्नुहुन्छ, 16 जोचाहिँ शारीरिक आज्ञाको व्यवस्थाअनुसार होइन, तर अविनाशी जीवनको शक्तिअनुसार बनिनुभयो। 17 किनकि उहाँले गवाही दिनुहुन्छ: ‘मेल्किसेदेकको रीतिबमोजिम तिमी सधैंका निम्ति पूजाहारी हौ।’ 18 किनकि पहिलेको आज्ञाचाहिँ साँच्चै त्यसका कमजोरी र लाभहीनताको कारणले खारिज भएको हो; 19 किनकि व्यवस्थाले कुनै कुरा पनि सिद्ध पारेन, तर उत्तम आशा भित्र्याइएकोले पार्यो, जुन आशाद्वारा हामी परमेश्वरको नजिक जान्छौं।
20 अनि विनाशपथ उहाँ पूजाहारी बनाइनुभएन; 21 किनकि तिनीहरूचाहिँ शपथ नलिईकन पूजाहारी भएका थिए, तर यहाँचाहिँ उहाँद्वारा शपथ लिईकन हुनुभयो, जसले यहाँलाई भन्नुभयो:
‘परमप्रभुले शपथ खानुभयो र मन बदल्नुहुनेछैनग: “मेल्किसेदेकको रीतिबमोजिम तिमी सधैंका निम्ति पूजाहारी हौ।” ’घ
22 यसैकारण येशू एउटा उत्तम वाचाको जमानी हुनुभएको छ। 23 अनि साँच्चै तिनीहरू धेरै पूजाहारीहरू थिए, किनकि मृत्युको कारणले तिनीहरूलाई रहिरहन दिइएन; 24 तर यहाँचाहिँ सदा-सर्वदा रहिरहनुहुन्छ; यसकारण यहाँको अदलबदल नहुने पूजाहारीपद छ। 25 यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, उनीहरूलाई पूर्ण रूपले बचाउन उहाँ सामर्थी हुनुहुन्छ; किनकि उनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैं जीवित रहनुहुन्छ। 26 किनकि हाम्रा निम्ति यस्तै महापूजाहारी उचित थियो, जो पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरूबाट अलग हुनुभएको र स्वर्गहरूभन्दा पनि उच्च पारिनुभएको हुनुहुन्छ, 27 जसलाई ती महापूजाहारीहरूलाई झैं पहिले आफ्नै पापहरूका निम्ति, त्यसपछि मानिसहरूका पापहरूका निम्ति दिनहुँ बलिदान चढ़ाउने आवश्यकता छैन; किनकि यो त उहाँले आफैलाई बलिदान चढ़ाईकन एकैपल्टमा गरिसिद्ध्याउनुभयो। 28 किनकि व्यवस्थाले दुर्बलता भएका मानिसहरूलाई महापूजाहारीहरू नियुक्त गर्छ, तर व्यवस्थाभन्दा पछि आएको शपथको वचनले चाहिँ पुत्रलाई नियुक्त गर्छ, जो सदा-सर्वदाका निम्ति सिद्ध पारिनुभएको छ।