असल आचरणको सम्बन्धमा प्रेरित पावलको शिक्षा
2
तर तिमीचाहिँ खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल, 2 अर्थात वृद्ध मानिसहरू सचेत, गम्भीर, आत्मसंयमी होऊन्; विश्‍वासमा, प्रेममा, धीरजमा पक्‍का होऊन् । 3 यही प्रकारले वृद्धा स्त्रीहरूको चालचलन पवित्रतालाई सुहाउँदो भएको होस्। तिनीहरू न झूटा दोष लगाउने, न पियक्‍कड़ होऊन्, तर असल-असल कुराहरू सिकाउने होऊन्। 4 तिनीहरूले तरुणी स्त्रीहरूलाई सचेत हुन, आ-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीहरूलाई माया गर्न सिकाऊन्, 5 यिनीहरूलाई आत्मसंयमी, पतिव्रता, घर सम्हाल्ने, भला, आ-आफ्ना पतिप्रति आज्ञाकारी हुन सिकाऊन्, कि परमेश्‍वरको वचनको निन्दा नहोस्।
6 यही प्रकारले जवान पुरुषहरूलाई आत्मसंयमी हुने अर्ती देऊ! 7 सबै कुराहरूमा आफूलाई असल कामहरूको नमुना बनाऊ; शिक्षामा चाहिँ चोखोपना, गम्भीरता, सच्‍चाइ, शुद्ध वचन लगाऊ, 8 जसमा कुनै दोष भेट्टाउन सकिँदैन, यसैले कि तिमीहरूको विषयमा केही खराब कुरा भन्‍न नपाएर विरोधी मानिस लाजमा परोस्।
9 दासहरूलाई आ-आफ्ना मालिकप्रति आज्ञाकारी हुनू, सबै कुराहरूमा उनीहरूलाई प्रशन्‍न गराउनू, मुख नलाग्‍नू, 10 लामो हात नगर्नू, तर सबै प्रकारको असल इमानदारीपना देखाउनू भनी अर्ती देऊ; यसरी नै सबै कुराहरूमा तिनीहरूले परमेश्‍वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्।
11 किनकि मुक्ति ल्याउने परमेश्‍वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, 12 र यसले हामीलाई यो सिकाउँछ: अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामी आत्मसंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ, 13 र त्यस धन्य आशाको, अनि हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। 14 हामीलाई सबै अधर्मबाट छुटकारा दिन र असल कामहरूमा जोशिलो भएको एउटा विशेष जातिलाई आफ्नै निम्ति शुद्ध पार्न उहाँले आफैलाई हाम्रा निम्ति दिइहाल्नुभयो।
15 सम्पूर्ण अधिकारसित यी कुराहरू भन, अर्ती देऊ र हप्काऊ! कुनै मानिसले तिमीलाई तुच्छ ठान्‍न नपाओस्।