तिमोथीलाई पावल प्रेरितको दोस्रो पत्र
1
ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको प्रेरित पावलबाट 2 मेरो प्यारो छोरो तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति!
विश्‍वासयोग्य हुनलाई प्रेरित पावलको प्रोत्साहन
3 रातदिन मेरा प्रार्थनाहरूमा निरन्‍तर तिमीलाई सम्झना गर्दै म परमेश्‍वरलाई धन्यवाद चढ़ाउँछु, जसको सेवा म आफ्ना पितापुर्खाहरूदेखि नै शुद्ध विवेकले गर्दछु; 4 आनन्दले भरिन पाऊँ भनेर तिम्रा आँसुको सम्झना गर्दै तिमीलाई भेट्ने खूबै इच्छा गरिरहेको छु, 5 जब म तिमीमा भएको त्यस निष्कपट विश्‍वासको सम्झना गर्दछु, जुन विश्‍वासचाहिँ पहिले तिम्री बज्यू लोइसमा र तिम्री आमा युनिसमा थियो, अनि मलाई निश्‍चय छ, त्यो तिमीमा पनि छ। 6 यसकारण मेरा हातहरू राख्‍नाले तिमीले पाएको परमेश्‍वरको त्यो दान बल्दो पार भनी म तिमीलाई सम्झना गराउँछु। 7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर सामर्थ्यको, प्रेमको र आत्मसंयमको आत्मा दिनुभएको छ।
8 यसकारण हाम्रा प्रभुको साक्षीको विषयमा नलजाऊ, न ता उहाँको कैदी, मेरो विषयमा नै, तर परमेश्‍वरको सामर्थ्यअनुसार सुसमाचारका कष्‍टहरूमा मसित सहभागी होऊ! 9 उहाँले हाम्रा कामहरूअनुसार होइन, तर आफ्नो मनसाय र संसार शुरु हुनुभन्दा पहिल्यै हामीलाई ख्रीष्‍ट येशूमा दिइएको अनुग्रहअनुसार हामीलाई बचाउनुभएको र पवित्र बोलावटले हामीलाई बोलाउनुभएको हो; 10 तर यो अनुग्रह अहिले हाम्रो मुक्तिदाता येशू ख्रीष्‍टको आगमनद्वारा प्रकट भएको छ, जसले मृत्युलाई हटाइदिनुभएको छ र सुसमाचारद्वारा जीवन र अमरतालाई ज्योतिमा ल्याउनुभएको छ; 11 जसका निम्ति म प्रचारक, प्रेरित र अन्यजातिहरूको शिक्षकको रूपमा नियुक्त गरिएको छु। 12 यही कारणले म पनि यी दु:खहरू भोग्छु, तरै पनि म लजाएको छैनँ; किनकि मैले कसलाई विश्‍वास गरेको छु, सो म जान्दछु, र त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु, त्यस कुराको रखवाली गर्नलाई उहाँ सामर्थी हुनुहुन्छ भनी मलाई निश्‍चयता छ।
13 तिमीले मबाट सुनेका खाँटी वचनहरूको नमुना ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेममा बलियो गरी पक्रिराख! 14 तिमीलाई सुम्पिएको त्यो असल कुरा हामीभित्र वास गर्नुहुने पवित्र आत्माद्वारा रखवाली गर!
15 यो तिमीलाई थाहा छ, एशियामा भएकाहरू सबैजना मबाट फर्केका छन्; फुगेल्‍लस र हेर्मोगेनस तिनीहरूमध्येका हुन्। 16 ओनेसिफोरसको परिवारलाई प्रभुले दया गरून्; किनभने तिनले मलाई बारम्बार शीतल पारे, र मेरो साङ्लासँग लजाएनन्; 17 तर जब तिनी रोममा थिए, तब तिनले खूबै यत्‍न गरेर मलाई खोजे, र मलाई भेट्टाए। 18 त्यस दिन प्रभुबाट कृपा पाउनलाई प्रभुले तिनलाई दया गरून्! अनि एफेससमा तिनले कति धेरै कुराहरूमा मेरो सेवा गरेका थिए, त्यो त तिमीलाई राम्ररी थाहा छ।