तिमोथीलाई पावल प्रेरितको पहिलो पत्र
1
हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा हुनुहुने प्रभु येशू ख्रीष्‍टको आज्ञाद्वारा येशू ख्रीष्‍टको प्रेरित पावलको तर्फबाट 2 विश्‍वासमा मेरो आफ्नै छोरो तिमोथीलाई: परमेश्‍वर हाम्रा पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति!
झूटा शिक्षाको विरोधमा चेताउनी
3 जब म म्यासिडोनिया जाँदैथिएँ, तब मैले तिमीलाई एफेससमा रहन र कसै-कसैलाई ‘अर्कै शिक्षा नसिकाओ, 4 अनि दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूमा ध्यान नलगाओ’ भन्‍ने आज्ञा गरिदिन विन्‍ती गरेको थिएँ, सोही अब पनि गर्दछु; ती कुराहरूद्वारा विश्‍वासमा हुने ईश्‍वरीय उन्‍नति होइन, बरु वाद-विवादहरू पैदा हुन्छन्। 5 अब चोखो हृदय, असल विवेक र निष्कपट विश्‍वासबाटको प्रेम नै यस आज्ञाको उद्देश्य हो, 6 जसबाट कोही-कोही भड़्किएर व्यर्थको बकबकपट्टि लागेका छन्। 7 तिनीहरू व्यवस्थाका गुरु हुन चाहन्‍छन्, तर तिनीहरू न आफूले भनेका कुराहरू, न ता आफूले ठोकुवा गरेका कुराहरू बुझ्दछन्।
8 तर हामी जान्दछौं, व्यवस्था असल छ, यदि कसैले यसलाई नियमअनुसार प्रयोग गर्‍यो भने; 9 यो कुरा थाहा गर्दै कि व्यवस्थाचाहिँ धर्मी मानिसका निम्ति ठहराइएको होइन, तर अधर्मी र अटेरी हुनेहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र अशुद्ध हुनेहरूका निम्ति, बुबाका हत्‍या गर्नेहरू र आमाका हत्या गर्नेहरूका निम्ति, ज्‍यानमाराहरूका निम्‍ति, 10 व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटा शपथ खानेहरूका निम्ति र खाँटी शिक्षाको विरोधमा अरू कुनै कुरा छ भने त्यसका निम्ति ठहराइएको हो, 11 परमधन्य परमेश्‍वरको महिमित त्यस सुसमाचारअनुसार, जुनचाहिँ मेरो जिम्मामा सुम्पिएको छ।
प्रेरित पावलप्रति प्रभुको ठूलो अनुग्रह
12 अनि म ख्रीष्‍ट येशू हाम्रा प्रभुलाई, जसले मलाई सामर्थी तुल्याउनुभयो, धन्यवाद चढ़ाउँछु; किनभने उहाँले मलाई विश्‍वासयोग्य सम्झेर मलाई सेवामा नियुक्त गर्नुभयो। 13 हुन त म पहिले निन्दा गर्ने, सताउने र अत्याचारी थिएँ, तर मैले कृपा पाएँ; किनकि मैले यो अविश्‍वासमा नजानीकन गरें। 14 अनि हाम्रा प्रभुको अनुग्रहचाहिँ विश्‍वास र प्रेमसित, जो ख्रीष्‍ट येशूमा छ, अति नै प्रशस्त भयो। 15 यो विश्‍वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो: ख्रीष्‍ट येशू पापीहरूलाई मुक्ति दिन यस संसारमा आउनुभयो, जसमध्ये मुख्य म नै हुँ। 16 तरै पनि मैले यस हेतुले कृपा पाएँ, कि येशू ख्रीष्‍टले पहिले ममा सारा सहनशीलता उनीहरूका निम्‍ति एउटा नमुनाको रुपमा देखाइदेऊन्, जसले अनन्त जीवन पाउनलाई पछिबाट उहाँमाथि विश्‍वास गर्नेछन्। 17 अब अनन्त राजालाई, अविनाशी, अदृश्य, एकमात्र बुद्धिमान् परमेश्‍वरलाई आदर र महिमा सदा-सर्वदा भइरहोस्! आमेन।
18 हे छोरा तिमोथी, तिम्रो विषयमा पहिले गरिएका भविष्यवाणीहरूअनुसार ‘तीद्वारा असल लड़ाइँ लड़’ भनेर म तिमीलाई यो आज्ञा सुम्पन्छु; 19 विश्‍वास र असल विवेक थामिराख, जुनचाहिँ कतिले आफूबाट पर सारेकाले विश्‍वासको जहाज डुबाइहाले; 20 हुमेनियस र अलेकजान्डर यस्ताहरूमध्येका हुन्; तिनीहरूले निन्दा नगर्न सिकून् भनेर मैले तिनीहरूलाई शैतानकहाँ सुम्पें।