प्रेरित पावलको प्रार्थनाको अनुरोध
3
अन्तमा भाइहरूहो, हाम्रा निम्ति प्रार्थना गरिदेओ, ताकि प्रभुको वचन अघि बढ़ोस् र महिमित भएको होस्, जस्तो तिमीहरूको बीचमा भइरहेको छ; 2 र हामी भ्रष्ट र दुष्ट मानिसहरूको हातबाट उम्कन सकौं; किनकि सबै मानिसहरूसँग विश्वास हुँदैन। 3 तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थिर पार्नुहुनेछ र दुष्टबाट जोगाउनुहुनेछ। 4 अनि हामीले तिमीहरूलाई आज्ञा गरेका कुराहरू तिमीहरूले गर्दछौ र गर्नेछौ भनी तिमीहरूको विषयमा हामीलाई प्रभुमा भरोसा छ। 5 अनि प्रभुले तिमीहरूका हृदयहरूलाई परमेश्वरको प्रेमभित्रक र ख्रीष्टको धीरजभित्रक डोर्याएका होऊन्।अल्छेपनाको विरोधमा प्रेरितको चेताउनी
6 अब हे भाइहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दछौं: बेठीक चाल चल्ने र हामीबाट पाएको शिक्षाअनुसार नचल्ने हरेक भाइबाट अलग रहो! 7 किनकि कसरी तिमीहरू हाम्रो चालअनुसार चल्नुपर्छ, सो तिमीहरू आफैलाई थाहा छ; किनकि तिमीहरूको बीचमा हामी बेठीक चाल चलेनौं, 8 र हामीले कसैको रोटी सित्तैंमा खाएनौं, तर तिमीहरूमध्ये कसैका निम्ति भार नबनौं भनेर रातदिन मेहनत र कठोर परिश्रम गर्दै काम गर्यौं। 9 हामीसँग अधिकार नभएकोले होइन, तर हाम्रो देखासिकी गर भन्ने उद्देश्यले तिमीहरूका निम्ति हामीले आफूलाई एउटा नमुना बनाएका हौं। 10 किनकि तिमीहरूसँग रहँदाखेरि पनि हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं: ‘यदि कोही काम गर्न चाहँदैन भने त्यसले नखाओस् पनि।
11 किनकि हामी सुन्छौं, तिमीहरूको बीचमा कतिपय बेठीक चाल चल्नेहरू छन् रे, जसले बिलकुलै काम गर्दैनन्, तर अर्काको काममा हात हाल्छन्। 12 अब यस्ताहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी आज्ञा र अर्ती दिन्छौं: चुपचापसित तिनीहरूले काम गरून् र आफ्नै रोटी खाऊन्!
13 तर भाइहरूहो, तिमीहरू भलाइ गर्न नथाक! 14 अनि कुनै मानिसले यस पत्रद्वारा भनिएको हाम्रो वचन पालन गर्दैन भने त्यस मानिसलाई चिनिराख, र त्यो शर्ममा परोस् भनेर त्यससँग सङ्गत नगर! 15 तरै पनि उसलाई शत्रुजस्तो नठान, तर भाइलाई जस्तो गरी उसलाई चेताउनी देओ!
16 अब शान्तिका प्रभु आफैले सधैं तिमीहरूलाई हर प्रकारले शान्ति दिऊन्! प्रभु तिमीहरू सबैसँग रहून्!